+
+
Shares

तीनकुने घटनामा पक्राउ परेका सबैलाई मंगलबारसम्म थुन्ने अनुमति

धवलशमशेर जबरा क्यान्सरको बिरामी भनी कागजात पेस भएको थियो भने रवीन्द्र मिश्रको हकमा प्रेसरको बिरामी भई इजलासमा फाइल पेस भएकाले अदालतले ५ दिनको अनुमति मात्रै भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते २०:२३

१७ चैत, काठमाडौं । जिल्ला अदालत काठमाडौंले तीनकुनेको हिंसात्मक घटनामा संलग्न भएको आरोप लागेका ४२ जनालाई आगामी मंगलबारसम्म थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ ।

न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनामा संलग्न भएको हुनसक्ने आरोपमा पक्राउ परेकाहरुलाई आगामी मंगलबारसम्म थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।

शुक्रबार पक्राउ परेकाहरूको हकमा ५ दिन र शनिवार पक्राउ परेकाहरुलाई ४ दिन हिरासतमा राख्न अनुमति भएको हो । अनुमतिको अवधि पक्राउ परेको दिनदेखि नै गणना हुनेछ ।

जिल्ला सरकारी वकिलको कार्यालयले १० दिन थुनमा राख्न अनुमति मागेकोमा धवलशमशेर जबरा क्यान्सरको बिरामी भनी कागजात पेस भएको थियो भने रवीन्द्र मिश्रको हकमा प्रेसरको बिरामी भई इजलासमा फाइल पेस भएकाले अदालतले ५ दिनको अनुमति मात्रै भएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले तीनकुने घटनामा संलग्न भएको आरोप लागेकाहरूलाई बेलुकी ५ बजेतिर जिल्ला अदालतमा पेस गरेको थियो । अदालतमा गोला छनौटका क्रममा आइतबार न्यायाधीश तारादेवी महर्जनलाई थुनाको अनुमतिसम्बन्धी निवेदन हेर्ने जिम्मेवारी तोकिएको थियो ।

सामान्यतयाः प्रहरीले थुनामा रहेका व्यक्तिलाई इजलासमा पेस गरेपछि फाइल हेरेर थुनाको अनुमति दिने अभ्यास छ । तर आइतबार जबरा र मिश्रलाई अदालतमा पेस गरेपछि उनीहरूका कानुन व्यवसायीहरूले झुटो र राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा चलाउन खोजिएको भन्दै थुनामा राख्न अनुमति दिन नहुने जिकिर गरेका थिए ।

जिल्ला अदालतले रविन्द्र र जबरालगायत ११ जनालाई राज्यविरुद्धको कसुर गरेको आरोपमा थुनामा राख्ने अनुमति दिएको हो । त्यसक्रममा प्रहरीले उनीहरूमाथि संगठित अपराध गरेको आरोपमा समेत अनुसन्धान गर्ने भनी फाइल पेस गरेको छ ।

ती बाहेक थप ३१ जनालाई संगठीत रुपमा आपराधिक उपद्रव गरेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीले उनीहरुलाई त्यसक्रममा संगठित अपराध गरेको आरोप समेत आकर्षित हुनेगरी अनुसन्धान भइरहेको भन्दै म्याद थप्न पेस गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरी शर्मा काफ्लेका अनुसार, उनीहरूमाथि प्रारम्भिक अनुसन्धानपछि राज्यविरुद्धको कसुर आकर्षित हुने देखिएकाले म्याद थप गरिएको हो ।

साम्प्रदायिक दंगा र घृणा फैलाउने काम गरेको आरोप आकर्षित हुने भएकाले पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्नेछ ।

सरकारी वकिलले उनीहरूलाई पक्राउ गरेपनि बयान लिने काम नभएको, अनुसन्धानका अरु काम बाँकी रहेको लगायतका कारण देखाउँदै थुनामा राखिदिने म्याद थप्न आग्रह गरेको थियो ।

जिल्ला अदालतले उनीहरूलाई थुनामा राख्दा संगठित अपराध ऐनको दफा १४ उल्लेख गरेको छ । उक्त दफामा संगठित अपराधको आरोपमा अनुसन्धान गर्दा थुनुवालाई ६० दिनसम्म हिरासतमा राख्न पाउने व्यवस्था छ ।

उनले सार्वजनिक रुपमा नै जाहेरी, प्रमाण र अरु विवरणहरू माग भइरहेको भन्दै ती व्यक्तिहरू अरु कसुरमा संलग्न भएको भेटिए अरु कसुरमा पनि म्याद थपेर मुद्दा चलाइने बताए ।

‘व्यक्तिको ज्यान जानेदेखि आगजनीका घटना छन्, प्रहरीको घेरामाथि गाडी दौडाउन खोजिएको छ,’ उनले भने, ‘अनुसन्धान गर्दै जाँदा संलग्न भेटिएकाहरूमाथि ती कसुरमा पनि अनुसन्धान गरेर अभियोजन हुन्छ ।’

प्रहरीले करिब एक सय जनाको हाराहारीमा पक्राउ गरेपछि अहिलेका लागि ४२ जनालाई मात्रै अदालतमा पेस गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । पक्राउ परेका स्वागत नेपाल लगायतहरूलाई भने प्रहरीले हाजिरी जमानीमा छाडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?