
१७ चैत, काठमाडौं । सिनामंगलस्थित केएमसी अस्पताल, प्लास्टिक सर्जरी वार्डको २५९ नम्बर बेडमा उपचाररत छन् २४ वर्षीय आशिष बोहोरा । गत शुक्रबार अस्पताल भर्ना भएका आशिषको आजै मात्र अपरेसन गरी हिपबाट गोली निकालिएको छ ।
अनलाइनखबरकर्मी आइतबार दिउँसो अस्पताल पुग्दा आशिषका भाइ अमृत, बाबु, आमा र आफन्तको बाक्लो उपस्थिति थियो । ‘के होला भन्ने चिन्ता थियो । अपरेसन सफल भएपछि केही हलुको भएको छ,’ भाइ अमृतले भने ।
आशिष १५ चैतमा भएको राजावादी आन्दोलनमा घाइते भएका हुन् । उनी गोली नै खानेगरी किन आन्दोलनमा सहभागी भए ? यो प्रश्न आशिषको परिवार ठाडै अस्वीकार गर्छ । ‘मेरो छोरा आन्दोलनमा गएर घाइते भएको होइन । अफिस हिँडेको छोरा घाइते भएर अस्पताल पुग्नुपर्ने अवस्था आयो,’ बाबु हर्कुस बोहोराले भने ।
आन्दोलनमै सहभागी नभएका आशिषको शरीरमा गोली लागेको परिवारको दाबी छ । काठमाडौं बानेश्वर घर भएका आशिष फार्मेसीमा मार्केटिङको काम गर्दै आएका छन् । भाइ अमृतका अनुसार उनी आन्दोलनको दिन पनि ड्युटीमै थिए । बाफल अफिस भए पनि फिल्डमा घुमिरहनुपर्ने भएकाले उनी फिल्डमै थिए ।
भक्तपुरतर्फबाट मार्केटिङको काम सकेर उनी साढे ३ बजेतिर घर फर्कने तयारीमा थिए । यो रुट बन्द भएकाले इमाडोल टीकाथलीको रुट हुँदै उनी मोटरसाइकलमा घर फर्किदै थिए । ‘जडिबुटी – मनोहरा पुल नजिक टायर बालिरहेका आन्दोलनकारी देखेपछि आशिष पनि मोटरसाइकल साइड लगाउँदै आन्दोलन हेर्न थाले । त्यही बेला दाइको हिपमा गोली लागेछ,’ अमृतले सुनाए ।
घटनापछि आशिषले अफिसमा जानकारी गराए । यतिन्जेलमा उनका भाइ पनि घटनास्थल पुगिसेकका थिए । सुरुमा स्कोर्पियोमा हालेर नजिकैको एक अस्पतालमा लगे ।
त्यहाँबाट एम्बुलेन्समार्फत केएमसी अस्पताल पुर्याउँदा साढे ५ भइसकेको थियो ।
‘गोली लागेर छोरो रक्ताम्य भएको छ । बा-आमालाई पिर पर्छ भनेर भाइले पाइन्टसमेत लुकाएछ,’ आशिषकी आमाले भनिन्, ‘धन्न भाग्य बलियो रहेछ ।’ आशिषको अवस्था अहिले सुधारोन्मुख रहेको उपचारमा संलग्न डाक्टरको भनाइ छ ।
०००
आइतबार मध्याह्न राजावादी आन्दोलनमै घाइते भएका विकाशकुमार गौतमको अपरेसन सफल भएको छ ।
केएमसी अस्पतालको २५५ नम्बर बेडमा रहेका गौतमको देब्रे गोडामा दुई वटा खोपिल्टा परेका छन् । उक्त खोपिल्टाबाट गोलीको छर्रा निकालिएको छ ।
हेटौंडा घर भएका उनी तीनकुने नजिकै बस्दै आएका थिए । केही समयअघिसम्म गाडी चलाउँदै आएका उनी पछिल्लो समय भने खाली नै थिए ।
दुई छोरी र श्रीमतीसहित बस्दै आएका उनी १५ गतेको घटनामा तीनकुने क्षेत्रमा पुगेमा थिए ।

गौतमकी श्रीमती कृष्णामायाका अनुसार सामाजिक सञ्जालदेखि मिडियामा समेत तीनकुने क्षेत्रमा ठूलो तोडफोड र आगजनी भएको सामाचार बाहिरिएपछि बल्ल उनी घरबाट निस्केका थिए ।
‘घर नजिकै तोडफोड र आगजनी भएपछि एकछिन हेरेर आउँछु भनेर निस्कनु भएको थियो । पछि त घाइते भएको खबर आयो,’ कृष्णमायाले अनलाइनखबरसँग भनिन् ।
परिवारका अनुसार विकास सालो रोजन पहरीसँगै आन्दोलनको ‘रमिता’ हेर्न भनेर घरबाट निस्केका थिए । रोजनको औंलामा छर्रा लागेको थियो । अवस्था सामान्य रहेका उनी तत्कालै उपचार गराएर घर फर्किसकेका छन् । रोजनले नै परिवारलाई घटनाबारे जानकारी गराएका थिए ।

करिब साढे ४ बजेतिर छर्रा लागेर घाइते भएका विकासलाई सालो रोजनले नै साढे ५ बजेतिर अस्पतालमा भर्ना गराएका थिए ।
त्यसपछि बल्ल उनले भिनाजु घाइते भएको परिवारलाई खबर गरेका थिए । रमिता हेर्न भनेर जाँदा खुट्टामा लागेको छर्रा निकालिएको छ । बट्टामा रहेको छर्रा देखाउँदै कृष्णकुमारी भन्छिन्, ‘यो चाहिँ राज्यले दिएको उपहार हो ।’
०००
सोलुको दूधकण्ड नगरपालिका-५ घर भएका २२ वर्षीय विशाल निरौलालाई कुर्न उनका बाबु अस्पतालमा खटिएका छन् । विशाल बाबु भगवतीप्रसादसहित चाबहिलमा बस्दै आएका थिए ।
पशुपति बहुमुखी क्याम्पसको स्नातक पहिलो वर्षमा अध्ययनरत विशाल त्यस दिन साथीकोमा जान भनेर निस्केको बाबु भगवतीको भनाइ छ ।
साथीको कोठाबाट फर्कने क्रममा उनी घाइते भएको बाबुको दाबी छ । कुनै आन्दोलन र राजनीतिमा नै सहभागी नभएको दाबी उनका बाबुको छ ।

हातमा छर्रा लागेको अवस्थामा उनी घाइते भएका थिए । राति ८ बजेतिर केएमसी अस्पतालबाट विशालकी आमा कमलालाई फोन आएपछि बल्ल परिवारले घटनाबारे जानकारी पाएको थियो ।
त्यसयता उनको परिवारको बास अस्पतालमै बितेको छ । काठमाडौंमा ब्रह्मकर्मको काम गर्दै आएका उनका बाबुका अनुसार अहिले छोराको अवस्था सुधारोन्मुख छ ।
हातमा छर्रा लागेकाले अपरेसन गरिएको छ ।
०००
काठमाडौं धुम्बाराही बस्दै आएका कुमारजंग राना (४७) परिवारसँग बस्दै आएका थिए । लामो समय मलेसिया बसेर आएका उनी सामान्य राजनीतिक चेत राख्थे ।
अहिलेका दल र सरकारका कामबाट भने उनी सन्तुष्ट थिएनन् ।
कुमारजंग राजावादी आन्दोलनमा सहभागी हुन गएको भनेर उनको परिवारले खुलस्त बताएको छैन ।
तर धुम्बराहीका कुमारजंग त्यहाँबाट १५ चैतमा राजावादी समर्थकको आन्दोलन स्थान तीनकुने पुगेका थिए । उनी सुरुवाती क्रममै घाइते भए ।
कुमारजंगकी श्रीमती मनिता राणाका अनुसार उनको तिघ्रा, पिँडुला र ढाडमा छर्रा लागेको छ । साथीहरुसँग धुम्बाराहीबाट तीनकुने पुगेका उनी घाइते भएर अस्पताल भर्ना भएपछि करिब ३ बजेतिर मात्रै परिवारले जानकारी पाएका थिए । सँगै गएका साथीहरुलाई केही भएन तर कुमारजंग भने शुक्रबारदेखि केएमसीको २६२ नम्बर बेडमा उपचाररत छन् ।
०००
प्रहरीले चलाएको गोली र छर्रा लागेर गौतम र बोहोरा घाइते भए पनि रुद्रबहादुर कार्कीको अवस्था भने फरक छ । सिन्धुलीको दुधौली घर भएका २४ वर्षीय कार्की भने जलेर घाइते भएका छन् ।
उनी कोटेश्वरमा कोठा लिएर बस्दै आएका थिए । कोटेश्वरकै बस टिकट काउन्टरमा काम गर्दै आएका आन्दोलनको दिन फुर्सदमा भए ।
त्यही मौकामा उनी नजिकैको राजावादी प्रदर्शन हेर्न भन्दै तीनकुने पुगेको दाबी गर्छन् । ‘कार्यक्रम नहुँदै तनाव सुरु भएपछि कोटेश्वरतिर जान सकेनछन् ।
भाग्दै सिनामंगलतर्फ आउँदा घाइते भएछन्,’ केएमसी अस्पतालमा भेटिएका कार्कीका भिनाजु शंकर थापा बताउँछन् ।
त्यस दिन उनी आफैं पनि तीनकुने पुगेका थिए । काठमाडौंमा चालकको काम गर्दै आएका उनी आफू पनि रमिता हेर्न गएको बताउँछन् । ‘म कुनै वादी त होइन । तर रमिता हेर्न जाउँ भनेर गएका थियौं ।त्यहीबेलामा दुर्घटना भयो,’ उनी भन्छन् ।

प्रहरीले चार्ज गर्न थालेपछि भाग्दै कार्कीसहितका व्यक्ति सिनामंगलतर्फ गएका थिए । ‘सिनामंगल पिपलबोट नजिक प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गर्दै थिए ।
आगोको तापले सडकको अलकत्रा समेत पग्लिएको थियो । त्यही अलकत्रमा टेक्दा चिप्लिएर लडेछन् । अनि अलकत्राले नै हात-खुटटा पोलेछ,’ थापा सुनाउँछन् ।
तातो अलकत्रमा परेर उनको दाहिने हातको हत्केला पूर्ण रुपमा जलेको छ । खुट्टाका केही भाग पनि जलेका छन् ।
सालो घाइते हुनुमा प्रहरीको भन्दा प्रदर्शनकारी र पनि आफ्नै कमजोरी जस्तो देखिएको उनको बुझाइ छ । भिनाजु एक्लै सालोको उपचारमा खटिएका छन् ।

शुक्रबारदेखि उनको बास केएमसी अस्पतालको २५१ नम्बर बेड वरपर छ । कार्कीकी श्रीमतीको काखमा बच्चा भएकाले श्रीमान् घाइते भएको खबर पाउँदासमेत उनी काठमाडौं आउन सकेकी छैनन् ।
नि:शुल्क उपचार र क्षतिपूर्तिको माग
उनीहरुसँगै केएमसी अस्पतालमा मात्रै राजावादी आन्दोलनमा घाइते भएका आठ जना केएमसीमा उपचाररत छन् ।
माथि उल्लेखित बाहेक सुरेश थापा, रामचन्द्र बुढाथोकी र सुमन गुरुङ उपचाररत छन् । त्यसैगरी राष्ट्रिय ट्रमा सेन्टरमा पनि भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका–९ घर भएका २७ वर्षीय डिल्लीप्रसाद लुइँटेल र भोजपुरकै रामप्रसाद राई गाउँपालिका–१ का ३० वर्षीय शम्भु दर्जी उपचाररत छन् ।
अधिकांश आफन्तहरु भने राजावादी आन्दोलनमा आफ्नो मान्छे सहभागीको भएको स्वीकार्दैनन् । विभिन्न काम विशेषले तथा रमिता हेर्न जाँदा घाइते हुनु परेको उनीहरुको भनाइ छ ।
तर बाहिर राजावादीका आन्दोलनकारी घाइते भनिएकोमा उनीहरु सन्तुष्ट छैनन् ।
‘राजावादी आन्दोलनमा सहभागीहरु घाइते भनेर प्रचार गरिएको छ । यो सत्य होइन ।
न एउटा राजावादी भेट्न आएको छ न कुनै राजावादीले हामीलाई फोन गरेको छ,’ घाइते आशिषका भाइ अमृत भन्छन् ।
अन्य घाइतेका आफन्तले पनि अहिलेसम्म एउटा पनि राजावादी नेता आएर आफूहरुलाई नभेटेको बताएका छन् ।
राज्य पक्षबाट पनि अहिलेसम्म कोही कसैले सम्पर्क नगरेको र उपचारका बारेमा समेत के हुने भन्ने अन्योल रहेको उनीहरु बताउँछन् । उपचारका लागि औषधिसमेत आफैंले किनिरहेको अमृतको भनाइ छ ।
अन्य घाइतेका परिवारले भने अहिलेसम्म आफूले कुनै रकम नतिरेको बताएका छन् । अहिलेसम्म हामीले रकम त तिरेका छैनौं । तर उपचार खर्च तिर्नु पर्ने/नपर्ने आफूहरुलाई केही नभनिएको उनीहरुले बताएका छन् ।
उपचाररत घाइतेका आफन्तहरुको एकै स्वर छ- नि:शुल्क उपचार हुनुपर्यो र क्षतिपूर्ति दिनुपर्यो ।
प्रतिक्रिया 4