
१७ चैत, काठमाडौं । सम्पत्ति शुद्धीकरण सम्बन्धी शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन संख्या बढेर ७ हजार ३ सय ३८ पुगेको छ । आर्थिक वर्ष २०७९/८० मा यस्तो संख्या ५ हजार ९ सय ३५ रहेकोमा अहिले २४ प्रतिशतले बढेको हो ।
वित्तीय जानकारी इकाइले गत आव २०८०/८१ को वार्षिक प्रतिवेदन प्रकाशन गरी सार्वजनिक गरेको छ । प्रतिवेदनमा इकाइको वार्षिक काम कारबाही तथा नेपालको सम्पत्ति शुद्धीकरण निवारण प्रणाली सम्बन्धी विवरण तथा जानकारी दिइएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम गर्नुपर्ने रिपोर्टिङका लागि इकाइको एएएमएल प्रणालीमा आबद्ध सूचक संस्था, कानुन कार्यान्वयन गर्ने/अनुसन्धानकारी निकाय र नियामक निकायको कुल संख्या १ हजार ६ सय ३९ पुगेको छ ।
सूचक संस्थाहरूले इकाइमा पेस गरेको सीमा कारोबारको संख्या २०७९/८० मा १६ लाख ९८ हजार ३ सय ९८ रहेकोमा २०८०/८१ मा १६ लाख ९७ हजार ७ सय १२ रहेको छ ।
सूचक संस्थाहरूले इकाइमा सम्प्रेषण गरेका शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन संख्या २०७९/८० मा ५ हजार ९ सय ३५ रहेकोमा २०८०/८१ मा करिब २४ प्रतिशतले वृद्धि भई ७ हजार ३ सय ३८ पुगेको छ ।
यसरी प्राप्त गरिएका अधिकांश शंकास्पद कारोबार/गतिविधि प्रतिवेदन कर छलीसम्बन्धी, मौद्रिक/बैंकिङ/विदेशी विनिमय/बीमा/सहकारी सम्बन्धी, ठगीसम्बन्धी, चिठ्ठा/जुवा/सट्टेबाजी लगायत सम्बद्ध कसुरसँग सम्बन्धित देखिएको छ ।
प्राप्त शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनमध्ये गत वर्षभन्दा ३४ प्रतिशतले वृद्धि भई २०८०.८१ मा जम्मा विश्लेषण भएको संख्या १ हजार ६ सय ३२ पुगेकोमा तीमध्ये ८ सय ८९ प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने/अनुसन्धानकारी निकाय तथा नियामकीय कारबाहीका लागि नियमनकारी निकायमा प्रवाह गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
तीमध्ये ७ सय ४६ प्रतिवेदन इकाइले भविष्यमा थप जानकारी प्राप्त भए पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरेको छ ।
प्रतिक्रिया 4