
मुम्बई । इदको एकदिन अघि रिलिज भएको सलमान खान अभिनित फिल्म ‘सिकन्दर’ले बक्सअफिसमा कमजोर ओपनिङ गरेको छ । बलिउड ब्यापार विश्लेषकका अनुसार आइतबार रिलिज भएको फिल्मले पहिलो दिन ३०.०६ करोड भारु खूद आम्दानी गर्यो ।
यो फिल्म यसअघि धेरै ओपनिङ गर्ने सलमानका शीर्ष ५ को सूचीमा पनि अटाएन । अहिलेसम्म सलमानको धेरै ओपनिङ गर्ने फिल्ममा सन् २०२३ को ‘टाइगर ३’ छ, जसको ओपनिङ ४३ करोड भारु रह्यो । ‘सिकन्दर’ले पहिलो दिन विश्वब्यापी ५४ करोड कमाइ गरेको जनाइएको छ ।
भारत, प्रेम रतन धन पायो, सुल्तान र टाइगर जिन्दा हे शीर्ष ५ ओपनिङ गर्ने फिल्मको सूचीमा छन् । सोमबार इदको बिदामा कमाइ राम्रो हुने प्रक्षेपण छ । ‘त्यसपछि फिल्मको वास्तविक परिक्षण सुरु हुन्छ’ ब्यापार विश्लेषक तरण आदर्शले भने ।
सलमानको ‘सिकन्दर’ले यसअघि रिलिज भएको विक्की कौशल अभिनित ‘छावा’को कलेक्सनलाई पनि उछिन्न सकेन । ‘छावा’ले भारतमा ३१ करोड भारु नेट कलेक्सन गरेको थियो । मिश्रित समीक्षा र अनलाइनमा पाइरेसी हुँदा पनि ‘सिकन्दर’ले यत्तिको ओपनिङ गर्न सकेको हो ।
बिहीबारदेखि प्रदर्शनमा आएको मोहनलाल स्टार मलायमल फिल्म ‘एल २ : एम्पुरान’ले पनि ‘सिकन्दर’को कमाइलाई प्रभावित तुल्याएको जनाइएको छ ।
सलमानको लागि इद रिलिज विशेष हुने गर्छ । इदमा रिलिज भएका उनका अघिल्ला फिल्मले राम्रो ओपनिङ गरे । ‘सिकन्दर’ले रिलिजअघि राम्रो हाइप प्राप्त गरेको थियो । जसअनुसार यसको ओपनिङ ३५ करोड नेटभन्दा धेरै ओपनिङ हुने अनुमान थियो । तर, समीक्षा उत्कृष्ट नआएपछि कलेक्सन अपेक्षित हुन सकेन ।
फिल्ममा सलमानले सिकन्दर नामक पात्रको शीर्ष भूमिकामा अभिनय गरेका छन् । प्रसिद्ध दक्षिण भारतीय निर्देशक एआर मुरुगादोस निर्देशित फिल्ममा रश्मिका मन्दाना, सत्यराज, प्रतीक बब्बर लगायतका सहायक कलाकार पनि छन् ।
प्रतिक्रिया 4