+
+
Shares

सभामुखले संसद्मा दिए धवलशमशेर पक्राउको जानकारी

राप्रपा महामन्त्रीसमेत रहेका जबरा यही १५ चैतमा पक्राउ परेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १८ गते १४:४५

१८ चैत, काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर जबरा पक्राउ परेको संसद्लाई जानकारी गराएका छन् ।

सोमबार सभामुख घिमिरेले जबरा पक्राउ परेको सूचना सभामा सुनाएका हुन् । जसमा दुर्गा प्रसाईं समेत भएको राज्यविरुद्धको अपराध सम्बन्धी कसूरमा जबरा पक्राउ परेको उल्लेख छ । राप्रपा महामन्त्रीसमेत रहेका जबरा यही १५ चैतमा पक्राउ परेका हुन् ।

राप्रपाको संलग्नता समेतमा १५ चैतमा तीनकुनेमा प्रदर्शन भएको र त्यसमा जबरा, रवीन्द्र मिश्र सहितका व्यक्तिहरू भेला भएको उल्लेख छ । त्यसक्रममा संसद् भवन लगायत महत्वपूर्ण प्रतिष्ठानहरू कब्जा गर्न जानुपर्छ भन्दै भिडलाई उत्तेजित बनाउने कार्य भएका थिए ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था उल्ट्याउने भनेर अपराधिक बलको प्रयोग गरेको, हुलहुज्जत गरेको, प्रहरीसँग मुडभेड गरेको र निषेधित क्षेत्र तोड्न उत्प्रेरित गरेको आरोपमा प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

विभिन्न मिडिया हाउस, प्रहरी कार्यालय, सरकारी कार्यालय, संस्थान, निजी तथा सरकारी सवारीसाधनमाथि तोडफोड, राजनीतिक दलका कार्यालय र नेताको निजी निवासमा आगजनी र आगजनी प्रयास गर्ने कार्यमा समेत जबराको भूमिका रहेको भनिएको छ ।

प्रहरीको ज्यान मार्ने प्रयास गरेको, घरभित्र मानिस छ भन्ने थाहा हुँदा हुँदै आगजनी गरेर ज्यान मार्ने कार्य हुँदा त्यसलाई बल पुग्ने गरी भूमिका खेलेको भनेर जबरामाथि राज्य विरुद्धको कसुर समेतका आधारमा पक्राउ गरिएको उल्लेख छ ।

संविधानको धारा १०३ को उपधारा ३ मा सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ । यसअनुसार प्रहरीले सांसदलाई पक्राउ गरेको सूचना सभामुख र संसद सचिवालयलाई दिएको हो ।

यस्तो सूचना प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली अनुसार सभामुखले संसदलाई जानकारी दिनुपर्छ । यसअनुसार सभामुखले सोमबार जबरा पक्राउ परेको सूचना सभालाई गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?