
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई उपेक्षा गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको बागडोर सुम्पेसँगै गणतन्त्रविरोधी आन्दोलनले विध्वंसात्मक रुप लियो । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त संघर्ष समितिका उच्च अधिकारीहरु निर्मल निवाससँग सिधा सम्पर्कमा रहेको बताउने गरे पनि ज्ञानेन्द्रले गणतन्त्र घोषणायताका डेढ दशक राजसंस्थाको मुद्दा निरन्तर उठाइरहेको राप्रपासँग छलफल नगरेको प्रसंगबीच १५ चैत शुक्रबार काठमाडौंको तीनकुनेमा विध्वंस मच्चियो ।
त्यो विध्वंसमा राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा सहभागी देखिए पनि राप्रपाको मूल नेतृत्वसहित ठूलो पंक्ति भने बाहिरै थियो । यसै सन्दर्भमा अनलाइनखबर ले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई आफ्नो अनुपस्थिति, दलबाहिरका राजावादीहरुको गन्तव्य अनि आगामी २६ चैत र ७ वैशाखको कार्यक्रम तयारीबारे प्रश्न सोध्यो ।
लिङ्देनसँग अनलाइनखबरका बसन्त बस्नेतले सोमबार अपराह्न गरेको कुराकानी :
१५ चैतमा तीनकुनेमा भएको विध्वंशमा नेतृत्वको ठूलो अभाव खड्किन्थ्यो । तपाईं त्यो दिन कता हुनुहुन्थ्यो ?
त्यो अरु नै साथीहरुको आयोजनामा भएको थियो । हाम्रा साथीहरु पनि त्यहाँ हुनुहुन्थ्यो । देशमा हिन्दूराष्ट्र, संवैधानिक राजसंस्था, संघीयता खारेजी जस्ता माग राखेर जो–कसैले आन्दोलन गर्दा पनि राप्रपाको समर्थन हुन्छ भनेर हामीले पहिल्यै भनेका थियौं । त्यो दिनको कार्यक्रमबारे हाम्रो पार्टीभित्र पनि विभिन्न किसिमका मत र तर्क चलिरहेका थिए । तर राप्रपा औपचारिक सहभागी हुनेभन्दा पनि अरु नै आयोजक रहेकाले नैतिक समर्थन र सहयोगको निर्णयमात्रै भएको थियो । त्यसैले म उपस्थित हुने कार्यक्रम थिएन । आयोजकले निम्तो गर्नुभएको अवस्था पनि थिएन ।
आयोजकले निमन्त्रणा गर्नु नै भएन ?
अँ, निमन्त्रणा भएन । निमन्त्रणा भएको भए छलफल हुन्थ्यो होला । कार्यक्रमको मोडलबारे कुरा हुन्थ्यो होला ।
तपाईंकै दल राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र राजावादी आन्दोलन समितिका सदस्यसचिव हुनुहुन्थ्यो । राप्रपा महामन्त्री धवलशमशेर राणा समितिका सदस्य हुनुुहुन्थ्यो । पार्टी अध्यक्ष तपाईंलाई चाहिँ निमन्त्रणा नै नआउने भन्ने पनि हुन्छ ?
त्यस्तो भयो । सायद तत्काललाई हाम्रो आवश्यकता नदेखिएको हुनसक्छ । अहिले अध्यक्ष नै आउनु जरुरी छैन भन्ने भयो होला । उहाँहरुले रणनीतिक ढंगले सोचेको पनि हुनसक्छ ।
तीनकुने क्षेत्रमा भएको बितण्डा र १५ चैतको समग्र घटनाक्रमलाई तपाईंले कसरी हेर्नुभयो ?
जे भयो, जसका तर्फबाट भए पनि दुःखद हो । म, हाम्रो पार्टी दुःख व्यक्त गर्छौं । जे प्रयोजनका लागि जसले गरे पनि हिंसा स्वीकार्य छैन । राप्रपाले कुनै पनि अराजकतामा आफ्नो भविष्य खोज्दैन । त्यसैले हामी दुःख प्रकट गर्छौं । तर घटनापछि एकपछि अर्को रहस्य बाहिर आइराखेको छ । राज्यपक्षले आयोजकलाई बढ्ता दोषी देखाउने गरी प्रचार गरिरहेको छ । तर हिंसा भड्काउन राज्य पक्ष नै उद्दत थियो ।
देशभित्र भएका घटनामा राज्यले आफ्नो जिम्मेवारी त लिनैपर्छ, तर पूर्वराजा ज्ञानेन्द्रले तोकेका कमान्डर दुर्गा प्रसाईं आफैं प्रहरीहरु नै हताहत हुन सक्नेगरी पेलेर गाडी कुदाउँदै हिँडे नि ? त्यसले स्थिति थप भड्काएन ?
पहिलो त, निर्मल निवासबाट कमान्डर तोकियो भन्ने कुराको पुष्टि अहिलेसम्म भएको छैन । दुर्गाले पनि म त्यसरी तोकिएको होइन, भेटेर चाहिँ आएको हुँ भनेका छन् । संस्थालाई विवादमा ल्याउनु हुँदैन । कमान्डर भनिने मान्छेबाटै अराजक गतिविधि भयो भन्ने प्रश्नमा चाहिँ, नेतृत्व गर्ने व्यक्ति जहिले पनि संयमित हुनुपर्छ । तर म के देख्छु भने जुन अपाच्य क्रियाकलाप भयो, प्रहरीले किन दुर्गा प्रसाईंलाई नियन्त्रण गरेन होला ? गाडीभित्र बसेकालाई त गोली हान्न मिलेन होला, तर दुर्गा चढेको गाडीको टायरमा गोली हान्न किन मिलेन होला ? अनि दुर्गाले गाडी कुदाउँदै आए पनि ऊ त फन्दामा परिसकेको थियो, कतै गइरहेको थिएन । तर आजसम्म किन नियन्त्रणमा नलिएको होला भन्ने जिज्ञासा सर्वत्र छ । दुवै पक्षले जिम्मेवारी लिनुपर्छ, तर दुर्गा आउनुअघि नै टियरग्यास किन ? शान्तिपूर्ण मञ्चमा प्रहरीले किन छतबाट टियरग्यास हान्यो, त्यो पनि ५–१० वर्ष म्याद सकिएका टियरग्यास हान्ने कामको जवाफ समाजले खोजिरहेको छ ।
दुर्गा प्रसाईं भागेकोबारे तपाईंलाई के लाग्छ ? पहिलेदेखि नै विवादित व्यक्ति हो उनी । यतिका सुरक्षाकर्मीले पिछा गर्दा पनि राज्यले किन समातेन होला उनलाई ?
त्यो मलाई पनि लाग्छ । त्यसैले म पनि आम मानिसकै पंक्तिमा रहेर सोध्छु । यसो हेर्दा पक्रिन चाहेको भए सक्थ्यो । उसलाई दोषमात्रै लगाउने, उसको टाउकोमा दोष थोपर्ने, तर पक्राउ नगर्ने काम किन भएको होला ? अरु मान्छेहरुलाईझंै मलाई पनि यस्तै लागिरहेको छ ।
अनौपचारिक रुपमा त मैले पनि (सिमाना काटिसकेको) सुनेको हो । सिमाना काटेको लगायत सबै थाहा पाउने एजेन्सीले किन नपक्रेको होला ? यसको पनि रहस्य पछि खुल्दै जाला । प्रधानमन्त्रीले अघिल्लो दिनदेखि वक्तव्य दिइरहनुभएको थियो । बाघेझाप्पु दिने भन्नुभएको थियो । आफ्ना कार्यकर्तालाई प्रतिवादका लागि हौस्याइरहनुभएको थियो ।
१०/१५ हजार मानिस आउँछन् भन्ने कुरा चाहिँ उहाँ आफैंले आकलन गर्नुभएको थियो । उहाँलाई सायद कुनै एजेन्सीले भनेको थियो होला । त्यति मानिस केही पनि होइन भनेर भनिरहनुभएको थियो । १५ हजार आकलन गरेको ठाँउमा पछि सरकारले ४ हजार मानिस मात्रै थिए भन्यो ।
१५ हजार मानिस आउँछन् भन्ने थाहा पाएको सुरक्षा निकायले त्यतिको संख्यालाई नियन्त्रणमा लिने वा व्यवस्थापन गर्ने योजना किन बनाएन ? आखिर ४ हजार भनेको थियो, त्यति संख्यालाई पनि किन व्यवस्थापन गर्न सकेन ? जसले गर्दा यति ठूलो क्षति भयो । २ जनाले ज्यान गुमाउनुपर्ने अवस्था आयो ।
आज प्रधानमन्त्रीले संसदमा बोल्दै उक्त घटनामा पूर्वराजा ज्ञानेन्द्रलाई जिम्मेवार ठहर्याउनुभयो, तपाईंले कसरी लिनुभएको छ ?
उहाँजस्तो व्यक्तिबाट यस प्रकारका तुच्छ वचन नआएको भए राम्रो हुन्थ्यो । पहिलेको जस्तो समय छैन, त्यहाँ कसले के गरेको भन्ने त सबै भिडियो क्लिप छन् । आयोजकहरुलाई बोलाएर राजाले यस प्रकारको काम गर्न लगाएको हो कि होइन भनी सोधे भइहाल्यो । आयोजकभन्दा पनि म त प्रधानमन्त्रीलाई नै सोध्छु, किन त्यति मानिसलाई प्रशासनले व्यवस्थापन गर्न सकेन । किन प्रहरीले सादा पोशाकमा छतमा बसेर गोली र अश्रु ग्यास हान्नुपर्ने अवस्था आयो ?
सामान्यतया प्रदर्शनहरुमा अगाडि छेक्ने र मुठभेड भएमा प्रदर्शनकारीहरुलाई भाग्ने बाटो बनाइएको हुन्छ । तर युद्धमा जस्तो प्रदर्शनकारीलाई अगाडि बेरियरले रोकिएको छ । कार्यक्रमस्थल यहाँ गर भनेर आफैंले ठाउँ दिएर माथिमाथि हतियारसहित मानिसहरु किन राखियो होला । उम्किनै नपाउने गरी किन राखियो ? यो प्रश्न सधैं उठिरहन्छ ।
संविधानसभाताका पूर्वराजालाई व्यवस्थापन गर्ने एक सम्झौता थियो, त्यो उहाँबाट उल्लंघन भयो भन्ने सरकारको कुरा देखिन्छ । त्यसलाई तपाईं कसरी बुझ्नुहुन्छ ?
त्यो सम्झौताको एकतर्फी व्याख्या भइरहेको छ । सम्झौताबमोजिम दलहरु इमान्दार भए कि भएनन् ? के सम्झौता भएको थियो भनेर छलफल हुन जरुरी छ । आज उहाँले यो विषय उठाउनुभयो ।
सर्वपक्षीय सम्मेलन होस्, त्यतिबेलाका दल, एजेन्सी र वैदेशिक शक्ति लागेर जुन सेटलमेन्ट भएको थियो, त्यसमा छलफल होस् ।
त्यसमा क–कसले उल्लंघन गरे ? कसले बेइमानी गरे ? किन ६३ साल जेठ ४ गते राजदरबार उत्तराधिकारी ऐन संशोधन गरे ? दलहरुले राजसंस्थालाई निरन्तरता दिने तर राजाको अधिकार कटौती गर्ने भन्ने कुरालाई मानेका थिए भन्ने त त्यहीं स्पष्ट देखिन्छ ।
पुनःस्थापित संसदले सबैभन्दा पहिले देशलाई धर्मनिरपेक्ष राज्य घोषणा गर्यो । संविधानसभा नबन्दै राजसंस्थालाई एक हिसाबले निलम्बन गर्यो । त्यसरी अगाडि उसले उल्लंघन गर्दै आएको थियो । त्यसको जगमा अन्तरिम संविधान र संविधानसभाको निर्माण भएको हो ।
संविधानसभा स्वयंले आफूलाई मत दिने मतदातालाई संविधानमा के–के राख्न उचित हुन्छ भनेर सोधौं भन्ने निर्णय गरेको थियो । र, आफ्ना मतदातालाई घरदैलोमा गएर यो कुरा सोध्यो । तर जनताले दिएको त्यो सुझावलाई किन अध्ययन भएन ? किन त्यसलाई खोलिएन ? जनताको मत त त्यहाँ आएको थियो नि ।
हामीलाई तपाईंहरुले संविधान बनाउन मत दिए पनि सार्वभौम त तपाईं जनता हो । यसमा सुझाव दिनूस् भनेर मागेर ल्याएको सुझाव कार्यान्वयन गरिएन । त्यस कारणले यो जनताको अभिमतमा आधारितभन्दा पनि केही दलहरुको सहमतिमा आधारित छ ।
र, दल र राजाबीचमा भएको समझदारीको उल्लंघन दलहरुबाट पनि भएको छ । हामीले त लामो समयदेखि भनिरहेका छौं, हिजो राजसंस्थाबाट पनि गल्ती भयो होला, दलहरुबाट पनि भयो । हामीलाई निरन्तर गल्ती गरिरहने छुट छैन । अब राजाले पनि गल्ती गर्न नपाउने गरी र दलहरुले पनि आफ्नो गल्ती सच्याउने गरी नयाँ सम्झौता गरेर देशलाई जोगाएर जानु अहिलेको आवश्यकता हो ।
तपाईंहरुले २६ चैतमा र २०८२ को वैशाख ७ मा आफ्नो आन्दोलन पनि घोषणा गर्नुभएको छ । २६ चैत भनेको जनआन्दोलन टुंगिएको दिन अर्थात् सक्रिय राजतन्त्रविरुद्ध जनआन्दोलन दिवसको दिन हो, जसलाई तपाईंहरुले राजसंस्था पुनःस्थापनाको घोषणा गर्ने र बागमती केन्द्रित आन्दोलन गर्ने दिन भनेर चुन्नुभएको छ । ७ वैशाखबाट आन्दोलन निरन्तर लैजाने भन्ने घोषणा छ । १५ चैतको लफडापछि अब राप्रपाले यो आन्दोलन कसरी अघि बढाउँछ ?
यो शान्तिपूर्ण र अहिंसात्मक हुन्छ । अघि पनि भनेँ, हामी कुनै पनि प्रकारको हिंसामा विश्वास गर्दैनौं, त्यसमा आफ्नो भविष्य पनि देख्दैनौं । देशले अब थप द्वन्द्व थेग्न सक्दैन । त्यसैले शान्तिपूर्ण दबाब सिर्जना गर्ने हिसाबले नै हामी अघि जान्छौं । जनचेतना बढाउने, अहिलेको विकृति–विसंगतिबारे जानकारी दिने मात्रै होइन, राजसंस्थाबारे बुझाउने काम पनि गर्नेछौं ।
हामीले परिकल्पना गरेको राजसंस्था संविधानको परिधिभित्र रहने राजसंस्था हो । राजसंस्था स्थापना हुनु भनेको लोकतन्त्रको अन्त्य हुनु होइन । प्रजातन्त्र र राजसंस्था एकअर्काका विकल्प होइनन्, परिपूरक हुन् । सँगै मिलेर जान सक्छन् । दुनियाँमा यस्ता उदाहरण प्रशस्त छन् । जहाँ राजसंस्था छ, त्यहाँको प्रजातन्त्र उन्नत पनि छ भन्ने कुरा जनतालाई बुझाउँदै राजसंस्थाका विषयमा जनमत निर्माण गर्ने हाम्रो उद्देश्य हो । सँगसँगै राजसंस्था र हिन्दू राष्ट्र ल्याउने र संघीयता खारेज गर्ने मात्रै होइन, आगामी नेपाल कसरी सुखी र समृद्ध बन्न सक्छ, हाम्रो जीवनकालमै नेपाल बनेको तस्वीरसमेत हामी देखाउँनेछौं ।
राजतन्त्रको पुनस्र्थापना मात्रै होइन, राज्यसंरचना र निर्वाचन प्रणालीमा आमुल परिर्वतन गर्नु जरुरी छ । नियुक्ति प्रणालीमा आमुल परिवर्तन गर्नु जरुरी छ । हामीले परिकल्पना गरेको समाज कस्तो हो भन्ने विषयमा पनि जनतालाई बुझाउनुपर्नेछ ।
राजसंस्था आएर मात्रै सबै कुरा पूर्ण हुँदैन । राजसंस्था र हिन्दूराष्ट्रको प्रस्ताव त एउटा जग हो । स्थायित्वको आधार हो । एकताको प्रतीक हो । त्यो सँगसँगै सुशासन र विकास चाहिएको छ । हाम्रो जीवनकालमै यो देश बनेको हेरेर मर्नु छ । दुनियाँ बन्ने हाम्रो देशमात्रै नबन्ने के कारण हो ? हाम्रो देश पनि बन्न सक्छ । यी सबै कुरा लिएर अघि बढ्छौं ।
इतिहासले नै सिकायो, नेपालमा राजतन्त्र र प्रजातन्त्र सँगै जान सक्दैन । २००७ सालमा ल्याएको प्रजातन्त्रलाई १७ सालमा निमोठियो । २०४६ सालमा आएको प्रजातन्त्रलाई २०६१ सालसम्म आउँदा फेरि निमोठियो । सधैं सक्रिय राजतन्त्र नै लागू गर्ने काम भयो । त्यसैले जतिसुकै संवैधानिक सीमाभित्र राजालाई बाँध्न खोजे उहाँ यसो फड्किहाल्ने गरेकाले अब पहिल्यै परीक्षण भइसकेको चिजलाई पुनः परीक्षण नगरौं, अघि बढौं भन्छन् नि मानिसहरु ?
हामीले इतिहासबाट सिक्नुपर्छ । हिजो हामीले त्यस्ता ठाउँ राखेका थियौं । अब त्यस्तो ठाउँ नै राख्नुहुन्न । बेलायतमा पनि चाल्र्स प्रथमलाई मारिएको थियो । पछि १२ वर्ष नपुग्दै त्यसलाई पुनःस्थापित गरिएको थियो । त्यहाँ राजसंस्था पुनःस्थापना सँगसँगै राजाले फेरि निरंकुश हुन र चलखेल गर्न नपाउने व्यवस्था पनि गरियो । संविधानको परिधिभित्र रहेर बस्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।
राजाले चलखेल गरे भने काटिन पनि सक्छ, मारिन पनि सक्छ । यो संस्थाको अन्त्य हुन पनि सक्छ भन्ने कुराको पाठ इतिहासले पढायो । तर पछि राजा आफ्नो परिधिभन्दा बाहिर गयो भने फेरिन पनि सक्छ भन्ने विधि निर्माण गरियो । त्यसरी विधिले राजालाई बाँधेर ल्याउँदा सय वर्षपछि पनि बेलायतमा राजसंस्था जीवित छ र लोकप्रिय छ । त्यहाँको प्रजातन्त्र दुनियाँको उन्नत प्रजातन्त्र मानिन्छ, जसको अवलम्बन हामीले पनि गरिरहेका छौैं ।
हिजोका कमी–कमजोरी हामीले पनि सुधार गर्नुपर्छ, राजसंस्थाले पनि त्यसलाई सच्याएर जानुपर्छ ।
शाहवंशको जेठो छोरो राजा बन्ने प्रणाली नेपालमा थियो । जन्मिँदै कोही कसरी राजा हुनसक्छ, त्यो त प्रतिभा, क्षमता र जनताको अनुमोदनले पो हुनुपर्यो त भन्ने धेरैको मत छ । रामवरण यादव, विद्या भण्डारी र रामचन्द्र पौडेल चुनिए जसरी निर्वाचित भएर आएको पो राष्ट्रप्रमुख हुन्छ नि !
त्यो गणतन्त्रवादीहरुको तर्क हो । जन्मँदै श्रेष्ठ हुने प्रणाली अब मान्न सकिँदैन भन्ने गणतन्त्रवादी विचार हो । तर संसारका सबैभन्दा शिक्षित, उन्नत र खुसी मानिसले राजसंस्थालाई मानेका छन् । यस्तो प्रणाली मान्ने देश अहिले पनि ४३ वटा छन् ।
तर, हामीले परिकल्पना गरेको राजसंस्थामा जेठो छोरो हुने कि छेठी छोरी हुने कि को हुने भन्ने विषयमा पुनस्र्थापित संसदको पहिलो बैठकले नै निर्णय गरेको छ । हामी त्यो बाटोमा जान सक्छौं । राजाले संविधान उल्लंघन गरे भने उनको ठाउँमा उनका छोरा वा छोरीलाई कसलाई स्थापना गरेर जाने विषयमा निर्णय गरेर जान सकिन्छ ।
तपाईं आन्दोलनको तयारीमा हुनुहुन्छ । तपाईंको पार्टीका दुई महत्वपूर्ण नेता अहिले हिरासतमा हुनुहुन्छ । उहाँहरुमाथि कठोर चार्ज छ, हिरासतको बसाइ लम्बिएको छ । अब आन्दोलनको तयारी कसरी गर्नहुन्छ ?
हामीले सरकारसँग पनि भनेका छौं, र फेरि पनि भन्न चाहन्छौं– हिजो बोल्न पाइँदैनथ्यो, लेख्न पाइँदैनग्यो, प्रदर्शन गर्न पाइँदैनथ्यो भन्ने अनि आज विचार राखेकै, प्रदर्शनमा सहभागी भएकै कारणले जुन प्रकारको राज्यविरुद्धको अपराध जस्तो गम्भीर मुद्दा लगाइएको छ, त्यसको जति निन्दा गरे पनि कम हुन्छ । राप्रपाले यसलाई इखका रुपमा लिएर अघि जाने छ । र, यसलाई हामीले विरोध गरिरहेका छौं, देशभर प्रदर्शन भइरहेका छन् । कानुनी लडाईं पनि लड्छौं । सबै प्रकारको मोर्चामा हामी लड्नेछौं ।
२६ गतेको आन्दोलनमा जो मान्छेलाई लिएर जानुपर्ने हो, ती मान्छे अघिल्लो नवराज सुवेदी नेतृत्वको, अनि दुर्गा प्रसाईं कमान्डर रहेको आन्दोलन समितिमा बसेर सहभागी भइरहनुभएको छ । र, नेपाललाई सिरिया, बंगलादेश र श्रीलंका बनाइदिने चर्को नारा लगाइरहनुभएको छ । यसलाई कसरी बुझ्ने ?
यसलाई धेरै अन्यथाका रुपमा लिनुपर्दैन । मैले आज संसदमा सत्तापक्षीय साथीहरुलाई पनि भनेको थिएँ– तपाईंहरु मादल बजाउँदै र भजन–कीर्तन गर्दै यो ठाउँमा आइपुग्नुभएको होइन । आफ्नो पृष्ठभूमि पनि हेर्नूस् । आन्दोलन र विरोध तपाईंका लागि प्रिय नै हुन्छ भन्ने पनि हुँदैन र तपाईंले चाहेजस्तो मात्रै बोलेर पनि आन्दोलन हुँदैन ।
जनता जागिराख्ने, जनताले विरोध गरिराख्ने, जनता सडकमा आइराख्ने र सत्तामा बस्नेहरुले जनताको आवाजलाई सम्बोधन नगर्ने, छलफल नगर्ने हो भने एक दिन त्यो परिस्थिति त आउन सक्छ नि ।
बंगलादेशमा १० महिनाअगाडि प्राप्त गरेको जनमत त रहेन अहिले । त्यो जानिराख्नुपर्ने कुरा हो । उहाँले अलि चर्किएर भन्नुभयो होला, मैले बिस्तारै ।
राप्रपाको नेतृत्व त तुलनात्मक रूपमा युवा पंक्तितिरै सरेको देखिन्छ । तर राजावादी आन्दोलन चलाउँ भन्ने अर्को पक्ष त ८६ वर्षको वृद्ध नवराज सुवेदी चाहिने रु उनी अघोषित नजरबन्दमा परेपछि अर्को बुढोरपाको मान्छे जगमान गुरुङ चाहिने रु यस्तो किन भएको रहेछ ?
नेपालमा राजसंस्था पुनर्स्थापनाको मुद्दा लिएर हिँड्ने धेरै व्यक्ति र समूह छन् । तीमध्ये हामी एक मुख्य राजनीतिक शक्ति हौं । अरूले त्यस प्रकारका मोर्चा, समूह र संगठन बनाउँदा के कुरालाई प्राथमिकतामा राखेर बनाउनुभयो, त्यसमा मेरो धेरै टिप्पणी छैन । कहिलेकाहीँ उमेर लगायतका कुराले परिपक्व नेतृत्वलाई बनायो भने राम्रो र शान्तिपूर्ण हुनसक्छ भन्ने लागेको होला । अथवा, यसले पार लाउँछ भन्ने लागेर गरेको हुनसक्छ । यसमा मेरो धेरै टिप्पणी छैन ।
लिङ्देनले भएन भने त अझ युवा खोज्नुपर्ने होइन ?
यो त राप्रपाले बनाएको समिति होइन । त्यसैले मैले यो भयो, त्यो भएन भन्ने कुरा भएन । राप्रपाको त मैले नै नेतृत्व गरिरहेको छु । समिति बनेको कुरामा मेरो कुनै टिप्पणी छैन ।
राजाका लागि बोल्दै आएको शक्ति त हलो चिह्न भएको राप्रपा नै हो । अहिले किन यो वैधानिक शक्तिलाई निर्मल निवासले उपेक्षा गरेको होला रु समाजमा भड्काव नै ल्याउन सक्ने मान्छेलाई विकल्पको रूपमा किन रोज्या होला ?
निर्मल निवास वा अरु यसरी लागे भन्ने पुष्टि हुन बाँकी छ । त्यसैले पुष्टि नभएको विषयमा म टिप्पणी गर्दिनँ । तर अरु आफैंले ज-जसले गरे, उनीहरूले यो बाटो छिटो र छरितो हुन्छ, पार्टीभन्दा स्वतन्त्र ढंगले गरेको राम्रो हुन्छ भनेर अभ्यास गरेको हुनसक्छ । तर त्यही कारणले हामीलाई उपेक्षा गर्यो, पाखा पार्यो भन्ने मेरो ठम्माइ छैन ।
मैले भन्दै आएको छु( राप्रपा राजाको पार्टी होइन । राजा चाहिन्छ भन्नेहरूको पार्टी हो । म स्पष्ट छु, राजसंस्था ल्याउनका लागि पनि राप्रपा जस्तो राजनीतिक पार्टी चाहिन्छ । र, राजसंस्था पुनर्स्थापना भइसकेपछि पनि त्यसलाई स्थायित्व दिनको लागि पार्टी चाहिन्छ । त्यस कारण हामी सोची/विचारी काम गरिरहेका छौं । हामी विधि(प्रक्रिया टेकेर यो मान्यतालाई अगाडि बढाउन चाहन्छौं । त्यहीअनुसार काम गरिरहेका छौं ।
अराजकतामा विश्वास छैन भनेपछि तपाईंहरू राजनीतिक ट्र्याकबाटै हिँड्ने हो ?
हो, हामी शान्तिपूर्ण प्रदर्शन, दबाबबाटै अगाडि जाने हो । अहिले पनि एक प्रकारको आन्दोलनमै छौं । हाम्रो आन्दोलनबाट ५० हजार, लाख मान्छेले प्रधानमन्त्री निवास ७ दिन घेरेर राखेको देख्छौं, जहाँ एउटा गोली नचलोस् । हाम्रो तर्फबाट एउटा रेलिङ भत्काउन नपरोस् । हामी त्यो चाहन्छौं ।
सरकारले नै अस्तिको जस्तो घुसपैठ गर्यो, भड्कायो, परिस्थिति बिगार्यो भने त्यो अलग कुरा हो । तर हाम्रो योजनामा हिंसात्मक क्रियाकलाप भएको छैन र हुँदैन ।
तपाईंहरूको कमल थापासँग तत्काल एकता त हुँदैन होला । तर यो २६ चैत र वैशाख ७ को आन्दोलनमा मिलेर लैजाने बारेमा कुनै छलफल र गृहकार्य भएका छन् रु
अहिले समाचारको रूपमा ल्याइराख्नुपर्ने गरी केही कुरा भएको छैन । हामी संवादमा भने छौं ।
त्यो संवाद अहिले आन्दोलनलाई नै केन्द्रमा राखेर भइरहेको छ कि पार्टी संगठनलाई एक ठाउँमा ल्याउने गरी ?
समग्र पक्षमा ।
पूर्वराजा ज्ञानेन्द्रसँग केही सल्लाह, परामर्श गर्नुभएको छ पछिल्ला दिनमा ?
छैन ।
उहाँले बोलाउने कुरा गरौं भन्ने अवस्था छ ?
हुनसक्छ । किनभने, म बारम्बार भेटिरहेकै छु । तर अहिले, यो बीचमा भेट भएको छैन ।
थुप्रै भयो ?
दुईरचार महिना नै भयो । तर भेटघाट र कुराकानी कुनै पनि बेला हुनसक्छ । हामीलाई ल तिमीहरूले पार्टी खोलिदेऊ, तिमीहरूले राजसंस्थाको मुद्दा बोकेर हिँडिदिनुपर्यो र हाम्रो कुरा राखिदिनुपर्यो भनेर राजाले भनेकोले हामीले पार्टी खोलेको होइन । हामीले नेपालजस्तो देशको लागि एउटा अभिभावकीय संस्थाको रूपमा राजसंस्था आवश्यक छ र यो बाटो नै देशलाई स्थायित्व दिने बाटो हो भनेर हामीले राजसंस्थाको पक्षमा आफूलाई उभ्याएको हो ।
हामी कुनै निर्देशन, कसैबाट परिचालित भएर यी काम गरिराखेका छैनौं भन्ने कुरा फेरि पनि म स्पष्ट पार्न चाहन्छु ।
राजसंस्था पुनर्स्थापना नै गर्ने भइसकेपछि त्यसको मुख्य व्यक्तित्व ज्ञानेन्द्रलाई किन सडकमा नबोलाउने, एकछिन आएर उभिदिनूस्, अभिभावक बनिदिनूस्, सहभागी भइदिनुस् भनेर ?
त्यस्तो चरण र दिन पनि आउला । तर हामीले खोजेको राप्रपाको राजा होइन । अहिले कुनै पनि राजनीतिक शक्ति राजसंस्थाको पक्षमा नहुँदा, राप्रपाले मात्र राजा(राजा भनिराख्दा यो राजा राप्रपाको रहेछ कि, राप्रपाकै लागि हो कि भन्ने मानिसहरूलाई परेको हुनसक्छ । हामीले खोजेको राजा राप्रपा, कांग्रेस, एमाले, माओवादी सबैको साझा शक्ति र अभिभावकको रूपमा स्थापना गर्न खोजेको हो ।
काठमाडौं महानगरका मेयर बालेन शाहले १५ चैतको अराजकता र तोडफोडमा जिम्मेवार ठहर्याउँदै ज्ञानेन्द्र शाहको नाममा क्षतिपूर्ति भराउने पत्र हुलाकबाट पठाए । यो विषयलाई कसरी हेर्नुभएको छ ?
म सकेसम्म अर्काको बारेमा टिप्पणी नगरौं भन्छु । लोकप्रियताको माथिलो शिखरमा रहेको अहिलेको नेपाली राजनीतिका मानिसमध्ये काठमाडौं महानगरका मेयर बालेन शाह हुन् । तर योपटक चाहिँ नराम्ररी चुक्नुभयो ।
अस्ति त्रिभुवन विमानस्थलबाट निर्मल निवाससम्म भएको रोड शोमा उहाँले राप्रपालाई चिठी लेख्नुभयो । त्यहाँ राप्रपा मात्रै थिएन तर पनि हामीहरूलाई एउटा राजनीतिक पार्टीको हिसाबले जिम्मेवार देखाउनुभयो, हामीले त्यसलाई स्वीकार गर्यौं । हाम्रा साथीहरूले गएर तिर्नुभयो । उहाँको सम्मान राख्ने काम भयो ।
तर, अहिले आयोजक स्पष्ट छ । जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर हामी कार्यक्रम गर्छौं भनेर, जानकारी दिएर कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालयले निकालेको विज्ञप्तिमा फलाना आयोजक भनिएको छ । आयोजकलाई चिठी नलेखेर निर्मल निवासतर्फ पत्र पठाउनु ठूलो त्रुटि हो र त्यो लोकप्रियताको लागि मात्रै गरिएको काम हो ।
कसैले राजा चाहियो, राजा ल्याउँछु भनेर आन्दोलन गर्यो, कार्यक्रम गर्यो र त्यसबाट कसैलाई हानि(नोक्सानी पुग्यो भने त्यसको क्षतिपूर्ति राजाले दिनुपर्ने हो भने त साम्यवाद स्थापना गर्न हिँडेका कम्युनिष्टहरूले गर्ने कार्यक्रमहरू मार्क्स, एंगेल्सलाई चिठी काट्नुपर्यो नि । अस्ति एमालेले गरेको, नामै एकीकृत मार्क्सवादी लेनिनवादीले गरेको कार्यक्रममा एमालेलाई दण्ड गराउनुभन्दा मार्क्स(एंगेल्सलाई चिठी लेख्नुपर्यो नि १ त्यसैले त्यो मिलेन । उहाँ चुक्नुभयो भन्ने लाग्छ ।
त्यो पैसा कसले तिर्छ ? कसैले त तिर्नुपर्ला ?
तिर्नु नै पर्ने हो भने आयोजक र सरकारलाई पत्र पठाए भइगयो नि, यो हिंसा भड्काउन मुख्य योगदान गर्ने सरकार र आयोजकलाई ।
नवराज सुवेदी नजरबन्दमा हुनुहन्छ । कतिपय नेता हिरासतमा हुनुहुन्छ । जगमान गुरुङ नयाँ संयोजक तोकिनुभएको छ । २६ चैतको तपाईंहरूको आन्दोलनमा उहाँलाई निम्ता गर्नुहुन्छ ?
हामी सबैलाई आमन्त्रण गर्छौं । समान विचार भएका सबैलाई सहभागी हुन भन्छौं भनेर अपिल गर्छौं ।
त्यही क्रममा उहाँ पनि पर्नुहुन्छ, छुट्टै बोलाउनुहुँदैन ?
छुट्टै पनि हुनसक्छ । भेटेर पनि म भन्न सक्छु । चिठीपत्र लेख्न सकिन्छ । केही आपत्ति छैन ।
प्रतिक्रिया 4