+

एनएसएलमा श्रम स्वीकृतिबिनै विदेशी खेलाडीको गोल !

२०८१ चैत  १८ गते २३:१७ २०८१ चैत १८ गते २३:१७
एनएसएलमा श्रम स्वीकृतिबिनै विदेशी खेलाडीको गोल !

१८ चैत, काठमाडौं । नेपालको एक मात्र फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) २०२५ को तेस्रो दिनमै विवाद देखिएको छ ।

तेस्रो संस्करणको तेस्रो खेलमा एफसी चितवन र पोखरा थण्डर्सबीच साँझ ६ बजे खेल हुने तय थियो । तर खेल निर्धारित समय भन्दा १८ मिनेट ढिला सुरु भयो ।

खेलअघि नै चितवनले श्रम स्वीकृति नभएका पाँच विदेशी खेलाडीलाई पहिलो रोजाइमा खेलाउन खोजेपछि विवाद सुरु भएको थियो ।

प्राय फुटबलमा एक घण्टा अघि नै टिम लाइन अफ वितरण गरिन्छ । तर सोमबार एनएसएलमा साँझ ६ बजिसक्दा पनि न खेलाडीहरु टनलेबाट मैदानमा निस्केका थिए न त आयोजकले नै अफिसियल लाइन अप सार्वजनिक गरेको थियो ।

त्यसको कारण टिमले श्रम स्वीकृतिबिना नै विदेशी खेलाडी खेलाउन खोजेपछि खेल ढिला सुरु भयो ।

चितवनले श्रम स्वीकृति बिनै पाँच विदेशी खेलाडी नै पहिलो रोजाईमा मैदान उतार्‍यो । दोस्रो हाफमा पोखराले पनि श्रम स्वीकृति नभएको र वार्म अप नै नगरेका स्टेफेन विनोङ समिरलाई मैदान उतार्‍यो ।

उज्वेकिस्तानका नोदिरले गोल गर्दै चितवनलाई अग्रता दिलाए । निरज चौधरीले इन्जुरी टाइममा गोल थप्दै चितवनको जित पक्का गरे । चितवनले पोखरासँग यसअघि दुई संस्करणमा व्यहोरेको हारको बदला लिँदै ३ अंकका साथ लिग सुरु गर्‍यो ।

सरसर्ती हेर्दा सोमबारको खेलमा बाहिरबाट देखिएको कुरा यति नै हो । तर कुरा यतिमै सकिँदैन । जापानदेखि ब्राजिलसम्म फ्रान्सदेखि इंग्ल्याण्डसम्म, विभिन्न देशका राष्ट्रिय टिमदेखि युरोपको प्रतिष्ठित क्लब फुटबल र युरोपियन लिग खेलेका खेलाडीहरु समेत अनुबन्ध गरेर एनएसएललाई उत्कृष्ट बनाउन खोजेपनि ‘पहिलो गासमा ढुंगा’ भनेजस्तो देखिएको छ ।

चितवनका विदेशी खेलाडीको श्रम स्वीकृति नभएपछि पोखराले खेलअघि नै प्रोटेष्ट हाल्ने तयारी गरेको थियो । तर आयोजककै व्यवस्थापनबाट टिमकै ड्रेसिङ रुममा आएर दबाब दिएपछि आफूहरुले खेल खेलेको पोखराका प्रशिक्षक सुमन श्रेष्ठले बताए । उनले कसैको नाम खोल्न चाहेनन् । नियम बनाएपछि नियम अनुसार हुनुपर्ने बताए ।

‘यो फुटबलको लागि राम्रो होइन’ श्रेष्ठले भने । उनले प्रोटेष्ट हाल्ने व्यवस्था नै नभएको र प्रोटेष्ट पनि नलाग्ने कुरा आएको बताए । त्यसैले दोस्रो हाफमा आफूहरुले स्टेफेन विनोङलाई खेलाएको बताए ।

‘भिजा र श्रम स्वीकृति चाहिन्छ भन्ने सुनेको हो । चितवनले पाँच जना खेलाए । हामीले सबमा नन प्लेइङमा राखेका थियौँ । प्रोटेष्ट लगाउँदा हुदैन भनेपछि रुल नै लाग्दैन भनेपछि हामीले दोस्रो हाफमा खेलायौँ ।’

उता चितवनका प्रशिक्षक नविन न्यौपानेले कागजी प्रक्रिया सबै पुरा भएको टिम व्यवस्थापनले जनाएको बताए । ‘सबै प्रकृया पूरा भइसकेको भनेर भन्नुभयो । आज इदको बिदा भएकोले कागज आउन मात्र बाँकी भन्ने कुरा आयो । मैले त प्लान बी नै सोचिसकेको थिएँ’ न्यौपानेले भने ।

खेल ढिला सुरु हुँदा असर

कागजी प्रकृयाको विवादले खेल ढिला सुरु हुँदा टिमको प्रदर्शनमै असर परेको पोखराका प्रशिक्षक सुमन श्रेष्ठले भने । ‘जे नहुनुपर्ने थियो त्यो सुरुमै भयो । जसले गर्दा मानसिक रुपमा असर गर्‍यो । त्यसैको प्रभाव खेलमा पनि पर्‍यो’ श्रेष्ठले भने, ‘खेल्नुभन्दा अघि नै हामी मानसिक रुपमा कमजोर भइसकेका थियौं’ श्रेष्ठले भने ।

उनले यो पहिलो खेल भएको र आफूहरुको पनि कही कमजोरी भएकोले अब आउने खेलमा राम्रो प्रदर्शन गर्ने बताए । ‘दोस्रो हाफमा हामीले अवसर पनि पाएको थियौं । तर गोल भएन ।’

यस्तै चितवनका प्रशिक्षक नविन न्यौपानेले वार्म अपपछि मैदान जाने बेला खेलमा ढिलाई हुँदा असर पुगेको बताए ।

‘हामीले वार्म अप गरिसकेर खेल सुरु हुँदासम्म खेलाडीहरु ‘कुल डाउन’ भइसकेका थिए । जसले गर्दा सुरुमा हामीलाई मैदानमा गाह्रो भयो,’ प्रशिक्षक न्यौपानेले भने । ‘खेलअघिको तनावपूर्ण माहोलले मलाई ‘लोकल टूर्नामेन्ट’को खेल जस्तो महसुस भयो ।’

सन् २०२१ मा सुरु भएको एनएसएलको अहिले तेस्रो संस्करण चलिरहेको छ । पछिल्लो समय ए डिभिजन लिग हुन नसक्दा एनएसएल नै दोस्रो पटक आयोजना भइसकेको छ । एनएसएल हुनु फुटबल खेल र खेलाडीको लागि राम्रो हो । तर ‘ब्युटिफुल गेम’ मानिने फुटबल खेलको प्रतियोगिताको सुरुमै श्रम स्वीकृति जस्ता विषयमा प्रश्न उठ्नै पक्कै राम्रो होइन ।

मोफसलका गोल्डकपहरु श्रम स्वीकृति विनै विदेशी खेलाडी खेलाउनु सामान्य जस्तै बनेको छ । तर नेपाली फुटबलको विकास गर्ने उद्देश्यले आयोजना गरिएको एनएसएलमै यस्तो अवस्था आउनु दु:खद विषय हो ।

एनएसएल ३.० नेपाल सुपर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय