
१९ चैत, काठमाडौं । नोक्सानीमा रहेको दोर्दीखोला हाइड्रोपावरले शत प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ ।
आजदेखि वैशाख ८ गतेसम्म यस कम्पनीका सेयरधनीले अनलाइन प्रणाली मेरोसेयरमार्फत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । फागुन १४ गतेसम्म कायम सेयरधनीले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ छ । हकप्रद निष्कासनबाट त्यति नै पैसा संकलन गर्दैछ । सो पैसा दीर्घकालीन ऋण तिर्न प्रयोग गर्ने कम्पनीले जनाएको छ ।
विभिन्न बैंकमा १ अर्ब ७४ करोड रुपैयाँ ऋण रहेको कम्पनीले जनाएको छ । हकप्रद निष्कासनको रकमबाट पनि पूरै ऋण चुक्ता हुँदैन ।
पुस मसान्तसम्म यो कम्पनी ८० लाख ७० हजार रुपैयाँ खुद नोक्सानीमा छ । हाल प्रतिसेयर नेटवर्थ १ सयभन्दा पनि कम अर्थात् जम्मा ८५ रुपैयाँ ५३ पैसा छ भने वार्षिक प्रतिसेयर आम्दानी १ रुपैयाँ ५३ पैसा ऋणात्मक छ ।
यस्तो कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृति पाएर शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
प्रतिक्रिया 4