+

पोस्टमार्टम : मृत शरीरको मौन कथा सुन्ने प्रयास

२०८१ चैत  १९ गते १३:३० २०८१ चैत १९ गते १३:३०
पोस्टमार्टम : मृत शरीरको मौन कथा सुन्ने प्रयास

आइतबारको दिन सरकारी अस्पतालमा सधैँ भीडभाड हुन्छ। ओपीडीमा बिरामीको लाम लागिरहेको थियो। त्यही बीचमा पोस्टमार्टम गर्नुपर्ने केस आएको छ भनेर फोन आयो। मैले सहकर्मी डाक्टरलाई ओपीडी सम्हाल्न भने र अस्पतालको हलचलदेखि टाढा एकान्तमा रहेको पोस्टमार्टम कोठातिर लागेँ। बाहिर मृतकका परिवारका सदस्यहरू रुँदै बसेका थिए। उनीहरूको रोदनले त्यो वातावरणनै अत्यन्त भावुक बनेको थियो।

पोस्टमार्टम कोठा भनेको एक यस्तो स्थान हो जहाँ जीवनको अन्त्य भएता पनि कथाहरू समाप्त हुँदैनन्। यहाँ जीवनको अन्तिम सत्यलाई पत्ता लगाउने प्रयास गरिन्छ पोस्टमार्टमको माध्यमबाट।

मृत शरीरले बोल्न सक्दैन तर ती शरीरका चोटपटक, घाउहरू र भित्री परिवर्तनहरू न्यायको खोजीमा चिच्याइरहेका हुन्छन्। ती मौन संकेतहरू बुझ्ने मेरो प्रयास हरेक पटक फरक-फरक हुन्छ।

कतिपय शरीरमा चोटपटको स्पष्ट संकेत देखिन्छ्न भने कतिपयमा बाहिरी घाउ केही देखिँदैन, तर शरीरको भित्री कथा अझै बाँकी नै हुन्छ। ती संकेतहरूको सही व्याख्या गर्न र बुझ्न धैर्‍य र संवेदनशीलता आवश्यक हुन्छ। पोस्टमार्टम भनेको केबल चिकित्सा विज्ञान मात्र हैन यो न्याय, संवेदना र सत्यको खोजी पनि हो।

विशेषज्ञको अभाव

नेपालका अधिकांश अस्पतालहरूमा फरेन्सिक विशेषज्ञको अभाव छ। एक त सरकारी दरबन्दी नै कम छ, अर्को यस विषयमा अध्ययन रुचि राख्ने डाक्टरहरूको संख्या पनि थोरै छ।

चिकित्सा शिक्षा आयोगले यो वर्ष प्रकाशित पिजी सिट बाँडफाँटमा यो विषयमा जम्मा ९ सिट छुट्याएको छ, ५ सरकारी र ४ निजीतर्फमा।

उत्पादन भएका विशेषज्ञ निकै सीमित भएकाले फरेन्सिक विशेषज्ञहरू सबै अस्पतालमा उपलब्ध छैनन् । यसका बाबजुद मेडिको-लिगल तालिम नियमित रूपमा सञ्चालन भइरहेको छ।

ती तालिमका आधारमा मेडिकल अफिसरहरूले नै पोस्टमार्टमको जिम्मेवारी लिइरहेका हुन्छन् । म स्वयंले तालिम प्राप्त पछि झन्डै १०० को हाराहारीमा पोस्टमार्टम गरिसकेको छु।

मैले हरेक पटक एउटा मृतशरीरसँग सवाद गर्छु र हरेक पटक नयाँ कथा भेट्छु, जस्ले मलाइ कानूनी प्रक्रिया अपनाउन र नैतिक मापदण्डलाई ध्यानमा राख्दै काम गर्न मद्दत गरेको छ।

पोस्टमार्टम गर्नु केबल प्राविधिक काम मात्र होइन, यो मृत शरीरप्रति संवेदनशीलता र मृतकका परिवारप्रति सहानुभूति राख्नु पनि हो। शव परीक्षण गर्दा हामीले मृत्युको कारण पत्ता लगाउनुका साथसाथै मृतकप्रति सम्मानजनक व्यवहार देखाउनु पनि पर्छ। यस समग्र दृष्टिकोणले मेरो जिम्मेवारीलाई अझ गहिरो र संवेदनशील बनाएको छ।

मेरो अनुभव

पोस्टमार्टम कोठामा पहिलो पटक छिर्दा म भित्र अनेकौं भावना उठेको थियो। शरीरले कोठाभित्र पाइला राखे पनि मन बाहिरै अड्किएको जस्तो लाग्थ्यो। त्यहाँ भएका शवहरू देख्दा अनौठो अनुभूति भएको थियो।

सुरु-सुरुमा त शव परीक्षण गरेपछि त्यो मृत व्यक्तिको अनुहार दिमागमा घुमिरहन्थ्यो। सपनामा पनि कहिलेकाँही ती शवहरू देखिन्थे । राति ढोका बज्दा मृतक नै आएजस्तो लाग्थ्यो। निन्द्रा त आउथ्यो तर डर सँगै । समयसँगै बानी पनि पर्दै गयो।

हाम्रो समाजमा एउटा धारणा छ कि, मृत शरीरलाई चिरफार नगरी दाहसंस्कार गर्नुपर्छ। मैले बारम्बार यस्ता अनुरोध सुन्छु, ‘डाक्टर साब हामीलाई कसैमा शंका छैन चिरफार नगरी रिपोर्ट तयार गरिदिनुहोस् न । चिर्नै परे पनि अलिकति मात्र चिर्नुहोस्।’

यस्ता आग्रह अस्वीकार गर्नुपर्दा कहिलेकाँही प्रभावशाली भनिने व्यक्तिहरूको फोन पनि आउछ तर जब म शवको सम्पूर्ण परीक्षण गर्नुपर्ने कुरा स्पष्ट पार्छु र कानुनी प्रक्रियाको महत्त्व, वैज्ञानिक दृष्टिकोण र न्याय प्रणालीको महत्त्व बुझाउँछु, अन्तत: सबै मान्न तयार हुन्छ्न्।

सबै शव परीक्षण सजिलो हुदैन, विशेष गरी किशोर, किशोरीहरूको आत्महत्याको शव परीक्षण गर्दा मन सधैँ भारी हुन्छ। कुनै चोटले आँखा रसाउँछन् । तर, हामी डाक्टरलाई जिम्मेवारीले आँसु रोक्न सिकाउँछ । यस्तो बेला मेरो मनलाई केही प्रश्नले गहिरोसँग घोच्ने गर्छन्-के भयो होला, किन आत्महत्याको बाटो रोजे होलान् ?

मैले शव परीक्षण गर्दा मृत्युको कारण आत्महत्या भनेर पत्ता लगाएँ तर यसका पछाडि जेलिएका कारणहरू के होलान् ? बाटो रोज्न बाध्य बनाउने ती कारण के हो भनेर कस्ले पत्ता लगाउने ?

अहिले आत्महत्या गर्ने घटनाहरू बढिरहेको छ जस्ले मानसिक स्वास्थ्य र सामाजिक संवेदनशीलता कमजोर बन्दै गएको संकेत दिन्छ।

त्यसैगरी अत्याधिक रक्सी सेवन गरेर मृत्यु भएका केसहरूले पनि मनमा गहिरो प्रभाव पार्छ। जब शव परीक्षणमा अत्याधिक रक्सी सेवनको कारण मृत्यु भएको देखिन्छ मनमा एउटै कुरा दोहोरिन्छ, ‘रक्सी नखानू, यसले जीवन लिन्छ। तर मेरो पेशागत दायित्व भनेको केबल तथ्यहरू उजागर गर्नु हो। सुझाव दिन सक्छु तर कसैलाई बाध्य पार्न भने सक्दिन।

पोस्टमार्टम प्रक्रिया : सत्यको खोजी

नेपालको मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २० अनुसार कुनै व्यक्तिको नेपालको भूभागभित्र दुर्घटना, आत्महत्या, शंकास्पद मृत्यु भएमा मृतकको पोस्टमार्टम गर्नुपर्ने व्यवस्था छ। आकस्मिक र अप्राकृतिक मृत्युको अनुसन्धानका लागि जिम्मेवार कानुनी अधिकारीहरूको अनुरोधमा पोस्टमार्टम गरिन्छ। पोस्टमार्टमको मुख्य उद्देश्य भनेकै मृत्युको कारण पत्ता लगाउने, मृतकको पहिचान गर्ने र अनुसन्धानका लागि प्रमाण जुटाउने हो।

पोस्टमार्टममा दुई चरण हुन्छ्न् ।

बाहिरी परीक्षण

-उचाइ, तौल, शारीरिक अवस्था, चोटपटक, कपाल, लुगाको वर्णन, हुलिया, अनुहार, नाक, मुख, आँखा, कान, गुप्तांगको अवस्था
– मृत्युपछि देखिने परिवर्तन (रिगोर मोर्टिस, लिभोर मोर्टिस, अल्गोर मोर्टिस, सिन अफ डिकम्पोजिसन)

भित्री परीक्षण

-टाउको, घाँटी, छाती, पेट खोल्ने र सबै अंगको जाँच गर्ने

कुनै पनि शंकास्पद मृत्यु वा विष सेवन भए/नभएको परीक्षण गर्न रगत र भिसेरा संकलन गरी परीक्षण गरिन्छ। भिसेराका लागि कलेजोको टुक्रा, दुवै मिर्गौलाको आधा-आधा भाग, पेट र पेटमा भएको वस्तु संकलन गरेर परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाउने गरिन्छ।

मृत्युको कारण निर्धारण गर्न बाहिरी चोट, भित्री चोट र प्रयोगशालाको रिपोर्ट हेरेर थाहा पाउन सकिन्छ। यी सबै जाँच सकिसकेपछि सम्पूर्ण अंगहरूलाई पुनः सही ढंगले शवमा मिलाएर बाहिरबाट सिलाएर प्याक गरेर परिवारलाई विधिपूर्वक बुझाइन्छ।

गोपनीयता र जिम्मेवारी

जब पोस्टमार्टम प्रक्रिया पूरा हुन्छ र प्रतिवेदन तयार हुन्छ यसले मृत्युको कारणलाई स्पष्ट पार्न कोसिस गर्छ। यद्यपि यस प्रक्रियामा रहेका तथ्यहरू अत्यन्त संवेदनशील हुन्छन्।

ती तथ्यहरूलाई संवेदनशीलता र गोपनीयताको सीमामा राखेर मात्र सम्बन्धित निकायहरूलाई बुझाउनुपर्छ। पोस्टमार्टम प्रतिवेदन मात्र मृत्युको कारणलाई उजागर गर्दैन, वरु यसले जीवनको अन्तिम संवादको रूपमा काम गर्छ। आत्महत्या, हत्या वा दुर्घटना जस्ता घटनाहरूका परिणाम स्वरूप तथ्यहरूले मृतकको अंतिम यात्रा को कथा सुनाउँछन्।

पोस्टमार्टम गर्दा नैतिक मापदण्डहरूको पालना अनिवार्य छ। मृत शरीरको मर्यादा र परिवारको भावनाप्रति सम्मान देखाउनुपर्छ र कानूनी प्रक्रियामा पनि पूर्ण इमान्दारी र पारदर्शिता राख्नुपर्छ।

तथापि तथ्यांकको गोपनीयता पनि महत्वपूर्ण हुन्छ । विशेष गरी यस्ता संवेदनशील मुद्दाका कारण समाजमा अनावश्यक आक्रोश फैलिन सक्छ। पोस्टमार्टम प्रतिवेदन तयार गर्दा तथ्यांकको यथार्थता कायम राख्नु, गोपनीयता र मानवीय संवेदनशीलताको सम्मान गर्नु अनिवार्य हुन्छ। मेरो अनुभवमा पोस्टमार्टम गर्ने क्रममा कानुनी प्रक्रिया, न्यायिक संवेदनशीलता र मानवीय भावनाको सन्तुलन महत्त्वपूर्ण हुन्छ।

अनुसन्धानका लागि प्रमाणहरू

पोस्टमार्टमका क्रममा विभिन्न प्रमाणहरू जुटाइन्छ जस्तै हिंसात्मक मृत्युमा चोटका प्रकार अनि आक्रमणको दिशा । बलात्कारको घटनामा भजाइनल स्वाबबाट डीएनए परीक्षण, गोली लागेको अवस्थामा गोलीको प्रवेश र निकासको विश्लेषण, झुण्डिएको अवस्थामा घाँटीको निलडामको अध्ययन। यी प्रमाणहरूले अनुसन्धानलाई न्यायपूर्ण निष्कर्षमा पुर्‍याउन मद्दत गर्दछ।

अन्त्यमा..

पोस्टमार्टम केबल शरीर परीक्षण मात्र होइन, यो जीवन र मृत्यु बीचको मौन संवाद हो। मृत शरिरहरूले बोल्छन् : चोटपटकमा, निशानहरूमा र घाउहरूमा। हाम्रो जिम्मेवारी हो ती आवाजहरू सुन्ने, बुझ्ने र सत्य बाहिर ल्याउने जस्ले न्याय प्रक्रियामा मद्दत गर्छ। कहिले रक्सी, कहिले हत्या, कहिले आत्महत्या, मृत शरीरहरूले जे सन्देश दिन्छन् हामीले त्यसलाई इमानदारीपूर्वक न्याय दिनुपर्छ। मृत्युको मौनता कहिलेकाहीँ जीवनभन्दा धेरै गहिरो हुन्छ। जीवन सकिए पनि सत्य बाँकी हुन्छ।

शव पोस्टमार्टम
डा. अमन न्यौपाने
लेखक
डा. अमन न्यौपाने

डा. अमन न्यौपाने त्रिशुली अस्पताल, नुवाकोटमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय