
एकदिन बाटोमा हिँड्दै गर्दा मनै निचोरिने दृश्य देखें ।
बाटोमा गाईका कलिला बाछाहरू छाडिएका थिए । राम्ररी खुट्टा टेक्न नसक्ने तिनीहरू घाँस र खोले खाएर बाँच्न सक्ने अवस्थाका थिएनन् । किनभने तिनीहरू दूधे बच्चाझैं थिए ।
आमाको दूधको तलतल र भोकले होला, ती बाछाहरू कराउँदै यताउता हिँडिरहका थिए । यति कलिलो र मायालाग्दो बाछाहरूलाई कसले बाटोमा छाड्यो होला ? किन छाड्यो होला ? के खाएर बाँच्छ होला ? कहाँ सुत्छ होला ? कहाँ बस्छ होला ? मनमा प्रश्नहरू मडारिएर आयो ।
तब मैले के थाहा पाएँ भने यिनीहरू बाछा भएकै कारण आमाको दूध पनि खान नदिई बाटोमा ल्याएर छाडिएको रहेछ । बाछी जन्मिएमा पाल्ने र बाछा जन्मिए बाहिर छाड्ने चलन व्यापक रहेछ । अहिले पनि छँदैछ ।
केबल गाईको दूध बेच्नका लागि मान्छे यतिसम्म कठोर हुँदोरहेछ । गाईको दूध त प्रकृतिले उसैको बाछाबाछीका लागि दिएको हो । हामी मान्छेले एउटा बाछोलाई उसको आमाको दूधबाट अलग गरेर पो पिउँदा रहेछौँ । यो कुरा बोध भएपछि मलाई आफैँप्रति एकदमै ग्लानी र अपराधबोध भयो ।
किनभने हामीले गाईको दूध खाइरहँदा त्यसले अर्को अवोध प्राणीमाथि कति ठूलो ज्यादती हुँदोरहेछ भन्ने कुराले म नराम्ररी बिथोलिएँ । त्यसपछि मैले दूध र दूधजन्य खानेकुरा नै नखाने प्रण गरेँ । किनभने, एउटा कलिलो बाछाको भोक, प्यास र आँसुभन्दा मेरो स्वाद महत्वपूर्ण होइन भन्ने लाग्यो ।
त्यसो त म सानैदेखि माछामासु नखाने । मलाई लाग्थ्यो, माछामासु नखाएपछि पनि प्राणीहरूमाथिको दोहन कम हुन्छ । भलै, त्यो म जस्ता थोरै व्यक्तिबाट नै किन नहोस् ।
तर, माछामासु मात्र नखाँदैमा पशुप्राणीमाथि हुने अत्याचार र क्रुरता कम नहुने रहेछ । किनभने यी अवोध प्राणीहरूबाट हामी मासु मात्र होइन, दूधलगायत छाला र हड्डीसमेत प्रयोग गरिरहेका हुँदारहेछौँ।
ठूलो आन्द्राको समस्या निको भयो
म भेगन भएँ । भेगन अर्थात माछामासु मात्र होइन पशुजन्य कुनैपनि पदार्थ नखाने र प्रयोग नगर्ने । यसो गर्नु पक्कैपनि सजिलो थिएन । त्यो पनि हाम्रो जस्तो समाजमा । तर, मेरो जीवनका लागि म नै सर्वोपरी हुने भएकाले मैले आफ्नो मर्जीलाई सदर गरेँ।
भेगन हुनु भनेको सचेतपूर्वक प्राकृतिक जीवन बाँच्ने अभ्यास हो । मलाई लाग्छ हाम्रो मूल स्वभाव पनि यही हो । तर आजको समाजमा यसरी बाँच्नु कम्ता गाह्रो छैन । मान्छेहरूले गर्ने खिसिट्युरीदेखि अनेक लान्छाना झेल्नुपर्ने हुन्छ ।
तर, यसले मेरो आन्तरिक शक्ति, उर्जा र स्वस्थ्यमा भने चमत्कारी फाइदा पुग्यो ।
जतिबेला म दूध, दही, घिउ प्रशस्त खाइरहेकी हुन्थे, पेटको समस्याले सताइरहन्थ्यो । त्यसबेला मेरो शरीर बोझिलो हुन्थ्यो र केही न केही कष्ट आइपर्थ्यो । खासमा मलाई इरिटेबल बाउल सिन्ड्रोम जस्तो ठूलो आन्द्राको समस्या थियो । तर, म भेगन भएँ क्रमश: यो समस्या निको हुँदै गयो । मैले अतिरिक्त औषधि नै खानु परेन ।
मान्छेहरूले सोधे, ‘माछामासु नखाँदा कमजोर भइँदैन ?’
तपाईं माछामासु खानुहोस्, रक्सी पिउनुहोस् । अनेक तमासा गर्नुहोस् । तपाईंलाई मान्छेले प्रश्न गर्दैनन् । केही भन्दैनन् । तर, जब तपाईं माछामासु छाड्नुहुन्छ, अझ भेगन बन्नुहुन्छ तपाईंलाई मान्छेहरू चियोचर्चा गर्न थाल्छन् । अनेक प्रश्न गर्न थाल्छन् ।
किन मासु छाडेको, कुनै रोग थियो ?
माछामासु किन नखाएको, कुनै धर्म लिएको हो ?
यसरी माछामासु नखाँदा शरीर कमजोर हुँदैन ?
भेगन भएर पनि जिन्दगी चल्छ त ?
विदेशीले डलर दिएर भेगन बनेको हो ?
पाइला पाइलामा यस्ता प्रश्न र घोचपेचको सामना गर्नुपर्ने हुन्छ । कति उल्टो छ समाज ? कति उल्टो छ मान्छेको सोच ।
मान्छेले मान्छे जस्तै अर्को प्राणीलाई खानु पो घृणित र घिनलाग्दो कुरा हो त । प्राणीको अस्तित्व स्वीकार गर्नु, सम्मान गर्नु र उसलाई पनि स्वच्छन्द बाँच्न दिनु राम्रो कुरा होइन र ? जबकि मान्छेहरू माछामासु खानुमा गर्व गर्छ ।
धर्तीमा रहेको एउटा प्राणीले आफूभन्दा निरीह र कमजोर प्राणीको शरीरलाई आफ्नो आहार बनाउनु कति उचित हो । मानव सभ्यताको सुरुवातमा प्राण धान्नका लागि शिकार गरे होलान्, एकले अर्काको मासु खाएर बाँचे होलान् । तर, अहिले त सभ्यता त्यही विन्दुमा छैन जुन ढुंगे युगमा थियो ।
अहिले चेतना फेरिएको छ, जीवनशैली फेरिएको छ । यससँगै मान्छेसँग खानका लागि धर्तीमा पुग्दो अन्नउपज छ । यस्तो अवस्थामा पनि कुनै पशुलाई काटमार गरेर त्यसको मासु भोग गर्नु ठीक लागेन मलाई । त्यसैले म भेगन भएँ । म भेगन भएपछि धेरैले सोध्ने एउटा प्रश्न थियो, ‘भेगन भएपछि शरीर कमजोर हुँदैन ।’
यसमा मेरो दृढ जवाफ छ, ‘पटक्कै हुँदैन । प्रकृतिले शरीरका लागि त्यस्ता सम्पूर्ण पोषणयुक्त अन्नउपज दिएको छ जुन कुनै हिंसा बिना नै प्राप्त गर्न सकिन्छ ।’
म के खान्छु ?
टुसा उमारिएको गेडागुडीबाट प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । भिटामिन बी १२ को कमी हुन्छ जसको पनि सप्लिमेन्ट खान सकिन्छ । मैले भर्खरै पनि आफ्नो शरीरको सम्पूर्ण परीक्षण गरेको थिए । सबै कुरा एकदमै सन्तुलनमा थियो ।
यदि कोही मोटोपना घटाउन चाहन्छ भने २ महिना मात्र भेगन भए हुन्छ । भेगन हुँदा तौल नियन्त्रण हुन्छ भनेर म आफैँ ग्यारेन्टी दिन्छु । साथै भेगन खानाले छालाको चमक पनि बढाउँछ । बिरुवामा आधारित खाना खाने भएकाले यसमा भिटामिन र मिनरल्स प्रशस्त मात्रामा हुन्छ जसले गर्दा छाला चम्किलो हुन्छ ।
भटमासबाट बनेकोदूधको चिया, त्यहीदूधबाट बनेको दही खान्छु । त्यसैले अन्य व्यक्तिहरूको खाना जस्तै हाम्रो खानामा पनि धेरै परिकार हुन्छ त्यसैले गाईवस्तुको दूध खान नै पर्दैन । साथै एबिसी स्याउ, चुकन्दर र गाँजरको जुस खान्छु जसबाट प्रशस्त मात्रामा भिटामिन र मिनरल्स प्राप्त हुन्छ । यसरी भेगनहरूको खाना एकदमै ब्यालेन्स र पोषणयुक्त हुन्छ।
भेगन भनेपछि ओहो के होला भन्ने धेरै लाग्न सक्छ । तर, यो नौलो होइन घरमा खाइने खाना हो दाल भात तरकारी । हामी घिउ र दूधबाट बनेका परिकार खाँदैनौ त्यति मात्र फरक छ । कसैलाई पनि पीडा नदिई हाम्रो पेट भरिएको छ ।
अवोध पशुहरूको माया र सम्मानका खातिर
मेरो जन्म धनकुटामा भएको हो । मेरो परिवारमा सबै जना मांसाहारी नै थिए म मात्र शाकाहारी । जनावरप्रतिको करुणा भावले गर्दा नै मैले मासु खान छाडेको थिएँ । भेगन भएपछि त झन् जनावरप्रतिको माया बढेको छ ।
पशुहरूको सद्भाव मान्छेप्रति एकदमै राम्रो हुन्छ । मान्छेहरू स्वार्थी हुन्छन् आफूलाई फाइदा हुने बेलासम्म मात्र माया गर्छन् । तर, जनावरहरूले निस्वार्थ माया गर्छन् । जस्तो एउटा कुकुरलाई एक दिन खाना दियो भने अर्को दिन परदेखि पुच्छर हल्लाउँदै प्रेम दर्शाउन आउँछ।
हामीलाई मुख्य समस्या हुने भनेको भोजभतेरमा हो । त्यहाँ त प्राय खानामा माछा मासु र घ्यूको प्रयोग हुन्छ । त्यसैले कतिपय भोजभतेरमा गएर सलाद मात्र खाएर फर्केको छु।
भेगन भएपछि ममा धेरै परिवर्तन भएको छ । भेगन भएपछि नै भेगन हाउस एण्ड क्याफेमा जोडिएँ, त्यो सबैभन्दा ठूलो उपलब्धि हो मेरो । भेगन जीवनशैली सम्बन्धी जनचेतना फैलाउनका लागि मैले भेगन हाउस एण्ड क्याफेका संस्थापक कल्याण सिलवालसँग सहकार्य गरेँ ।
मेरो भान्सा परिवर्तन भयो
कसैले अरुको पीडा महसुस गर्न सक्छ भने त्यो व्यक्ति भेगन हुनसक्छ । म भेगन भएपछि मैले परिवारको खानपानमा पनि केही परिवर्तन गरेको छु । मेरो घरमा आमाबुबा दैनिक दूध खानु हुन्थ्यो । त्यसको कारण पनि कति बाछाहरूको दूध खोसिएको थियो । त्यसैले त्यो दूध छुटाउनका लागि मैले बुबालाई अर्कै तरिका अपनाएँ ।
सुगरको बिरामी त्यसैलेदूधले सुगर बढ्छ नि बुबा त्यसैलेदूध खान छोडीदिनुस् भने । अहिले उहाँहरूले पनि बिहान गाईको दूध ल्याउन बन्द गर्नुभएको छ । यहाँ रेष्टुरेन्टमा आउने केही व्यक्तिहरू पनि भेगन भएका छन् । जसले गर्दा पशुमाथि हुने क्रुरता केही मात्रामा भए पनि कम भएको छ भनेर खुसी लाग्छ ।
भेगन खानेकुराले सोचमा पनि परिवर्तन हुन्छ । भनिन्छ नि ‘तिमी जे खान्छौ त्यही हौ’ हाम्रो शारीरिक स्वास्थ्य र कल्याणमा हाम्रो आहारको गहिरो प्रभावलाई प्रकाश पार्छ। यस्तो खानाले शान्त र प्रेमिल भाव जाग्छ ।
कोरोनाको समयमा लकडाउन भएर मान्छेहरू घरमा थुनिँदा मान्छेको आश्रयमा बाँच्ने धेरै जनावरहरू भोकै भए । धेरै सडक कुकुर भोकै भए । त्यो बेला उनीहरूको भोक देखेर मैले उनीहरूलाई खाना खुवाउन थाले । अहिले पनि दैनिक १०० कुकुरलाई खाना खुवाउँछु । मैले सक्ने बेला सक्क म यिनीहरूलाई खाना खुवाउँछु । मैले नसकेको खण्डमा मेरो छोरीले पनि उनीहरूलाई खाना खुवाउँछु भनेकी छिन् ।
यसरी सडक कुकुरलाई खाना खुवाउँदा झन् उनीहरूप्रतिको माया झन् बढ्यो । उनीहरूको मायाले पनि मलाई भेगन हुनका लागि प्रेरित गरेको छ ।
(सुमित्रा लुइटेसँगको कुराकानीमा आधारित)
प्रतिक्रिया 4