
१९ चैत, काठमाडौं । भाटभटेनी सुपर स्टोरले कोटेश्वर शाखामा कार्यरत ५० बढी कर्मचारीलाई सम्मान गर्ने भएको छ ।
राजावादीले १५ चैतमा आयोजना गरेको कार्यक्रम हिंसात्मक बनेपछि करिब डेढ सयको संख्यामा आएको समूहले कोटेश्वर भाटभटेनीमा लुटपाट मच्चाएको थियो ।
सोही लुटपाट गर्न आउने समूहसँग प्रतिकार गरेका भाटभटेनीका सुरक्षाकर्मीहरू र तोडफोडपछि मर्मत, सरसफाइ लगायत काम गरेका कर्मचारीलाई सम्मान गर्न लागिएको हो ।
‘कोटेश्वर भाटभटेनीमा तोडफोड र लुटपाट भइरहेका बेला आफ्नो कर्तव्य निर्वाह गर्दै अग्रपंक्तिमा खटिएर सुरक्षा प्रदान गरेका र घटनापछि रातभरि खटिएर मर्मत र सरसफाइमा खटिएका कर्मचारीलाई सम्मान गर्न लागेका हौं,’ भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पानु पौडेलले अनलाइनखबरसँग भने, ‘यसले कर्मचारीहरूमा थप उत्साह र हौसला बढाउन मद्दत गर्ने विश्वास छ ।’
कोटेश्वर भाटभटेनीमा भएको तोडफोड र लुटपाटबाट ८० लाख ३३ हजार रुपैयाँ बराबरको क्षति मूल्यांकन व्यवस्थापनले गरेको छ ।
लुटपाट गर्ने समूहले मोबाइल, घडी, महँगा मदिरा, लुगाफाटा, फलफूल, तरकारी लगायत लुटेर भौतिक संरचना तथा परिसरमा रहेका सवारीसाधन तोडफोड गरेका थिए ।
प्रतिक्रिया 4