
१९ चैत, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन आवश्यक रहेको बताएका छन् ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण सम्बन्धी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले वितरण र लोकप्रिय हुनेभन्दा यथार्थपरक र कार्यान्वयन योग्य कार्यक्रम तथा योजन आवश्यक भएको बताए ।
उनले श्रम, सिप, रोजगारी र उत्पादनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै वितरणले मात्र उचित प्रतिफल दिन नसक्ने बताए ।
अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमलाई गम्भीर रूपमा समीक्षा गर्न आवश्यक रहेको उल्लेख गर्दै विभिन्न मन्त्रालय र निकायसँग भएका कार्यक्रमलाई एकीकृत गर्नुपर्ने समेत बताए ।
श्रममन्त्री शरतसिंह भण्डारीले रेमिट्यान्सलाई अझ बढी व्यवस्थित गर्न आवश्यक रहेको धारणा व्यक्त गर्दै वैदेशिक रोजगारबाट फर्किएकाको सिप सदुपयोग र आन्तरिक रोजगारीका लागि प्राथमिकता दिनुपर्ने बताए ।
राष्ट्रिय योजना आयोग सदस्य डा. प्रकाशकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रम समीक्षा गरी अघि बढ्न आवश्यक भएको बताए ।
अर्थ सचिव घनश्याम उपाध्यायले सिप विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । अहिले अर्थले नयाँ बजेटबारे विभागीय मन्त्रालयहरूसँग छलफल गरिरहेको छ ।
प्रतिक्रिया 4