
काठमाडौं । मुकुन भुसाल र सुरक्षा पन्तलाई शीर्ष भूमिकामा लिएर कथानक फिल्म ‘चमेलीको पोइ’ निर्माण हुने भएको छ । यो फिल्मबाट ६० को दशकका चर्चित हाँस्य कलाकार नारायण त्रिपाठी पुनरागमन गर्दैछन् ।
त्रिपाठी लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् । त्रिपाठीले पछिल्लोपटक सन् २००५ मा ‘मनमा माया’मा अभिनय गरेका थिए । त्यसपछि उनी अमेरिकातिर लागे ।
फिल्मलाई एभरेस्ट सूर्य बोहराले निर्देशन गर्नेछन् । उनको यो आठौं निर्देशकीय फिचर हुनेछ । सन् १९९७ मा ‘अग्निपरिक्षा’बाट निर्देशन करिअर थालेका उनले कान्छा, मुटु, ठूली, भैरे, श्री र हेलो जिन्दगी निर्देशन गरेका छन् ।
बैशाख १ गतेदेखि छायांकन हुने अपेक्षा गरिएको फिल्ममा विल्सनविक्रम राई, रवीन्द्र झा, रजनी गुरुङ, अंशु महर्जन, उमेश राई, बबिन राई, खड्गबहादुर पुन लगायतको अभिनय हुने जनाइएको छ ।
‘एभरेष्ट सूर्य बोहरा फिल्म्स’सँगको सहनिर्माणमा धनलक्ष्मी सिने मेकर्सले फिल्म निर्माण गर्न लागेका हुन् । लगानीकर्तामा सुनिता सापकोटा, र रामनारायण उपाध्याय छन् । उदयविक्रम राणा र रितु मल्ल ठकुरी सह निर्माता छन् ।
प्रदीपकुमार सापकोटा, कपिल आचार्य, यमप्रसाद ओली, यम बराल, नारायण त्रिपाठी र सुदीप कुवँर सहनिर्माता छन् । पटकथा लेखनमा बोहराले शिवम अधिकारीसँग सहकार्य गरेका छन् ।
पारिवारिक कथा बताइएको यो फिल्ममा शम्भुजीत बासकोटा, राजनराज शिवाकोटी र आशिष अविरलको संगीत हुनेछ । काठमाडौं, पोखरा र मुस्ताङ छायांकन हुने जनाइएको छ ।
प्रतिक्रिया 4