+
+
Shares

राजावादीको निसानामा परेको जडीबुटी कम्पनीमा २८ करोड क्षति, अस्थायी टहराबाट उत्पादन गर्ने तयारी

अहिले कम्पनीका भवन खण्डहर बनेका छन् । एक दर्जन गाडी जलेका छन् । अस्थायी टहरा बनाएर उत्पादन सुरु गर्ने तयारी कम्पनीले गरेको छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८१ चैत २० गते ११:१९

२० चैत, काठमाडौं । यही चैत १५ गते शुक्रबार राजावादी समर्थकले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा तोडफोड र आगजनी गरे । उक्त आगजनीबाट कम्पनीमा २८ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

कम्पनीको महाप्रबन्धक संगीता यादवको अनुसार प्रारम्भिक विश्लेषणअनुसार आगजनीबाट २८ करोड बराबरको क्षति भएको विवरण निकालिएको छ ।

जीएमपी अनुसार सञ्चालन गरिएको भवनलगायत स्वचालित उपकरण जलेर ध्वस्त हुँदा उत्पादन ठप्प छ । अस्थायी संरचना तयार गरेर भएपनि उत्पादन सुरु गर्ने र यसका लागि सरकारी निकायको ध्यानाकर्षण हुनुपर्ने यादवले बताइन् ।

कम्पनी पुरानै अवस्थामा फर्किने आशामा रहेको महाप्रबन्धक यादवको भनाइ छ । ‘सबै जलेर खरानीमा परिणत भएको छ । विभिन्न चुनौतीबीच कम्पनीले प्रगति गरिरहेको थियो । शाखा पनि विस्तार गरिरहेका थियौं’, यादवले भनिन्, ‘ कम्पनी पुनः आफ्नै खुट्टामा उभ्याउन पर्छ । त्यसका लागि सबैको साथ सहयोग अपेक्षा छ ।’

उनले अगाडि थपिन्, ‘कम्पनीलाई पुनः सुरु गर्न सरकारको साथको आवश्यक छ । वन मन्त्रालयसँग १० करोड मागेको छौं । सरकारले यसलाई गम्भीर भएर सोचिदिनुपर्छ । अस्थायी टहरा बनाएर भएपनि उत्पादन गर्ने योजनामा छौं ।’

‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’(जीएमपी) सुविधासहितका दुईवटा भवनमा क्षति पुग्नाका साथै औषधि उत्पादनमा प्रयोग हुने कच्चापदार्थ, उपकरण, फर्निचर, कागजातल, प्याकेजिङलगायत सामग्री जलेर खरानी भएका छन् ।

भवन खण्डरहर बनेको छ । भएका उपकरण र अन्य सामग्री जलेर खरानी भएका छन् । परिसरमा सिसाको टुक्रा यत्रतत्र छरिएका छन् । बस्न योग्य कुनै कोठा छैन । परिसरमा रहेका एक दर्जन बढी गाडी र मोटरसाइकलको अस्थिरपञ्चर मात्रै छ ।

अहिले खण्डहर भवनमा रहेका भग्नावशेष र खरानी पन्छाउने काम जारी छ । त्यो दिनको मन भक्कानिन्छ,’ कहालीलाग्दो क्षण सम्झिँदै उनले भनिन्, ‘जनमानसमा ‘सञ्चो’उत्पादन गर्ने संस्थाका रूपमा चिनिएको कम्पनी आफ्नै आँखा अगाडि खरानी भएको देख्दा आँखाबाट आँसु नै आयो । मन थाम्न सकिँन ।’

पहिलाकै अवस्थामा कम्पनीलाई ल्याउन कठिन भए पनि प्रयास र समन्वय भइरहेको छ । कम्पनीले देशभरिमा रहेका शाखा कार्यालयबाट उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । यादवले भनिन्, ‘आफैं कमाउने आफैं खाने संस्था हो । अर्थतन्त्रमा यसको पनि योगदान हुन्छ । त्यसैले उत्पादन रोकिनुहुन्न । आशा छ हामी चाँडै बौरिने छौं । सञ्चोको उत्पादन पुनः हुनुपर्छ भनेर लागिरहेका छौ‍ं, यसमा सबैबाट सहयोग पाउने छौं ।’

२०३८ मा स्थापित सरकारको स्वामित्व भएको यो कम्पनीले विभिन्न औषधियुक्त एवं सुगन्धित जडीबुटीहरूको संकलन र प्रशोधन गर्दै आएको छ ।

सरकारी स्वामित्वमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी २०३८ सालमा स्थापना भएको हो । स्थापना भएको १८ वर्षपछि २०५६ सालदेखि सञ्चो उत्पादन भइरहेको छ । सञ्चो जस्तै प्रोडक्ट उत्पादन गर्ने निजी कम्पनी पनि छन् । तर जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीसँग प्रतिस्पर्धा गर्न सकेका छैनन् ।

कम्पनीले अहिले सञ्चो, सञ्चो बाम (भिक्स), सञ्चो शिलाजित, हिमालय मसाज तेल, बाम तेल, सञ्चो जटा केश तेल, सञ्चो पेन रिलिफ आयल उत्पादन गर्दै आएको छ । तीमध्ये सञ्चो जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी टिकाउने प्रमुख उत्पादन हो ।

राजावादीहरुले जलाइदिएका गाडी ।

२०८१ सालदेखि आधुनिक स्वचालित प्रविधिमा सञ्चोको उत्पादन हुन थालेको छ। कम्पनीले गुड म्यान्युफ्याक्चरिङ प्राक्टिस (जीएमपी) मापदण्डको लाइसेन्स प्राप्त गरिसकेको छ ।

अहिले नयाँ प्याकमा ५ र १० मिलिलिटर आएसँगै सञ्चोको आकर्षण झन् बढ्दै गएको छ । ‘देशभर शाखा विस्तार गर्ने र नयाँ प्रोडक्ट निकालिरहेका थियौं । सञ्चोको उत्पादनलाई मेसिनबाट प्याकिङ गरेर बजारमा पठाइरहेका थियौं,’ यादव भन्छिन्, ‘ विश्वस्तरमै सबै पोडक्ट निर्यात गर्ने अवस्था पुगेका थियौं ।’

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कम्पनी ऐनअन्तर्गत चलेको कम्पनी हो । यो आफैं कमाउने, आफैं सञ्चालन हुने संस्था हो ।

कम्पनीमा केही स्याथी, केही मासिक करार र केही ज्यालादारी कर्मचारी छन् । कम्पनीमा ७० प्रतिशतभन्दा बढी महिला कर्मचारी कार्यरत छन् ।

महाप्रबन्धक यादवका अनुसार जडीबुटी उत्पादन कम्पनीको सञ्चो विदेशी उपभोक्ताले पनि अत्यधिक रुचाउने गरेका छन् । ‘सञ्चो तेल’ विगत १५ वर्षदेखि स्विडेनमा निर्यात हुँदै आइरहेको छ । सञ्चो तेल प्रत्येक वर्ष सरदर ५० केजी विदेश निर्यात भइरहेको यादवले बताइन् ।

‘हामीले उत्पादन मात्रै होइन, मूल्य सञ्चितको काम पनि गरिरहेका छौं,’ उनी भन्छिन्, ‘ तत्काल नै सञ्चो उत्पादन गरेर बजारमा नपठाउने हो भने विदेशी प्रोडक्टको मनोमानी सुरु हुन्छ ।’

जडिबुटी कम्पनीले स्थानीय स्तरसम्म पुगेर रोजगारी दिँदै आएको छ । सञ्चो उत्पादनका लागि आवश्यक कच्चा पदार्थ जडिबुटीको खेती कम्पनीको आफ्नै जग्गामा हुने गरेको छ ।

त्यति मात्रै होइन, सञ्चो उत्पादनका लागि बिउ कम्पनीले नै वितरण गर्दै आम नागरिकलाई रोजगारी दिँदै आएको छ । कम्पनीले १३ प्रकारका सुगन्धित तेलजन्य जडीबुटीको कारोबार गरिरहेको छ । जसमा ९ सयभन्दा बढी किसान जडीबुटी खेतीमा जोडिएका छन् ।

महाप्रबन्धक यादव विभिन्न संस्था र सरकारी निकायसँग संस्था पुनः खुट्टामा उभ्याउनका लागि हारहुगार गरिहेकी छिन् । उनी भन्छिन्, ‘यो सरकारले गर्व गर्ने संस्था हो । संस्थालाई पुनःउत्थान गर्न सरकारले पनि सोच्नुपर्छ ।’

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?