+
+
Shares

स्कुल बन्द गरेर काठमाडौंमा शिक्षक : ‘मर्न तयार छौँ, ऐन नलिई फर्किंदैनौं’

मकवानपुरको भीमफेदी गाउँपालिकास्थित श्री जनता आधारभूत विद्यालयका शिक्षक पूर्ण ब्लोन भन्छन्- शिक्षा ऐनका लागि मर्न तयार छौँ । तर आन्दोलनले मूर्तरूप नपाएसम्म फर्किंदैनौँ ।

दिनेश गौतम दिनेश गौतम
२०८१ चैत २० गते २२:०५

२० चैत, काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित श्री जनता आधारभूत विद्यालयका शिक्षक पूर्ण ब्लोन बुधबार काठमाडौँ आएर र्‍यालीमा सहभागी भए ।

२०८० साल असोजमा भएको शिक्षकको वृहत् प्रदर्शनमा पनि उनी सहभागी भएका थिए । आफ्ना माग पूरा गराउन उनी दोस्रो पटक काठमाडौँ आएका हुन् ।

‘अघिल्लो पटकको आन्दोलनपछि सरकारसँग सहमति भयो । तर कार्यान्वयन भएन । हामी फेरि सडकमा आउन बाध्य भयौं,’ उनले भने, ‘२०२८ सालदेखिको शिक्षकका समस्या अहिलेसम्म राज्यले सुनेन ।’

श्री जनता आधारभूत विद्यालयका शिक्षक पूर्ण ब्लोन

नयाँ संविधानअनुसार आउनुपर्ने संघीय शिक्षा ऐन नआउँदा आफूहरू अपहेलित भएको गुनासो शिक्षकहरूको छ । ‘अन्य सरकारी सेवाजस्तो सेवा-सुविधा छैन । नयाँ संविधान बन्यो, तर ऐन बनेन । शिक्षकहरू अपहेलित हुनुपर्‍यो,’ शिक्षक ब्लोनले भने ।

ऐन बन्यो भने शिक्षकका माग सम्बोधन हुने विश्वास उनको छ । शिक्षा ऐनका लागि आफू मर्न तयार रहेकोसमेत उनले बताए । ‘ऐन बन्यो भने माग सम्बोधन हुन्छ । ऐनका लागि मर्न तयार छौँ । तर आन्दोलनले मूर्तरूप नपाएसम्म फर्किंदैनौँ,’ उनले भने ।

कैलालीको टीकापुर नगरपालिका-२ राजिपुरको कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक जोगी रावल मंगलबार राति काठमाडौँ आइपुगेका हुन् । उनी अघिल्लो पटकको आन्दोलनमा पनि सहभागी भएका थिए ।

‘आन्दोलनका लागि दोस्रो पटक काठमाडौँ आएको हुँ । गत वर्ष सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएकाले फेरि आएको हुँ,’ उनले भने, ‘अनिश्चित आन्दोलन हो, ऐन नबनेसम्म घर फर्किंदैनौँ ।’

कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक जोगी रावल

चैत महिना वार्षिक परीक्षाको उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशित र भर्नाको समय हो । तर सबै काम छोडेर उनी आन्दोलनका लागि काठमाडौँ आएका छन् । यसको दोष उनी सरकारलाई दिन्छन् । ‘यो कुरा हामीलाई थाहा छ । तर माघ-फागुनदेखि स्थानीय तहदेखि नै आन्दोलन भइरहेको सरकारलाई पनि थाहा छ । यसको पूर्ण जिम्मा सरकारले लिनुपर्छ,’ उनले भने ।

दैलेखको धुलेश्वर माध्यमिक विद्यालयका शिक्षक धर्मबहादुर बोहरा पनि शिक्षा ऐन जारी नभएसम्म नफर्किने गरी काठमाडौँ आएका छन् । विद्यालयमा नतिजा प्रकाशित गर्ने समयमा उनी शिक्षक महासंघको निर्देशनमा काठमाडौँ आइपुगेका छन् ।

‘नतिजा प्रकाशित गर्ने काम थियो । १ वैशाखबाट भर्ना अभियान पनि छ । तर सरकारले हाम्रो माग सुनेन । काम छोडेर सरकारलाई घच्घच्याउन आएको हुँ,’ उनले भने ।

शिक्षा ऐन जारी गर्न माग गर्दै देशैभरिबाट शिक्षकहरु काठमाडौँ आएको र आउने क्रम जारी रहेको शिक्षक महासंघले जनाएको छ ।

‘विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर शिक्षकहरू काठमाडौं आइपुग्नुभएको छ । भोलि (बिहीबार) थप शिक्षक/कर्मचारी आउनुहुन्छ,’ शिक्षक महासंघकी सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुलीले भनिन् ।

करिब ४ लाख शिक्षक/कर्मचारीमध्ये डेढ लाख जति सडक आन्दोलनमा सहभागी हुने उनको दाबी छ ।

संसद्‌को हिउँदे अधिवेशन अन्त्य भइसकेकाले शिक्षा ऐन तत्काल पारित हुने अवस्था छैन । शिक्षकहरू भने अध्यादेश ल्याएर भए पनि ऐन पारित गर्नुपर्ने अडानमा छन् ।

शिक्षकहरुले ३ असोज २०८० मा आन्दोलनमा उत्रिएका थिए । ५ असोजमा ६ बुँदे सहमति भएपछि उक्त आन्दोलन रोकिएको थियो । उक्त सहमतिअनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गरेका छन् ।

तर, संसद्‌को हिउँदे अधिवेशन अन्त्य भइसकेकोले शिक्षकहरूले भनेजस्तो तत्काल ऐन जारी हुने अवस्था छैन । यस्तो अवस्थामा अध्यादेशको विकल्प देखाउँछन् शिक्षकहरू ।

 

‘सदन चल्ने वा बन्द गर्ने हाम्रो काबुको कुरा होइन । सरकारको इच्छाशक्ति भयो अध्यादेशबाट पनि ल्याउन सकिन्छ । अन्य काम अध्यादेशबाट पनि गरिराख्नुभएको छ । हामीले आजै आन्दोलन सुरु गरेको पनि होइन । दुई महिना भयो,’ पराजुलीले भनिन् ।

हाल विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छ । समितिले उपसमिति बनाएर काम गरिरहेकाले अध्यादेशमा जान नहुने निष्कर्ष समितिको छ।

‘अध्यादेशबाट कानुन बनाउने ? शिक्षा बिगार्ने ? अध्यादेशबाट आयो भने विधेयकको के अर्थ ? डेढ वर्षको मिहिनेत खेर जान्छ,’ समिति सभापति अम्बरबहादुर थापाले भने, ‘यो आर्थिक वर्षमा पेस गर्छु भनेकै छ । आन्दोलन गर्नुपर्ने कारण छैन । मागेको भन्दा बढी दिने भनेकै छ । आन्दोलन गर्नु भनेको शिक्षा बिगार्नु हो ।’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्बरबहादुर थापा

अधिवेशन अन्त्य भएकाले तत्काल विधेयक पास हुने अवस्था नरहेको बताउँछन् सभापति थापा । ‘विधेयक रातारात पास हुने विषय हो र ? १७ सय ५८ वटा संशोधन छ । ७ वटा प्रदेशको प्रतिवेदन छ । संशोधन र प्रतिवेदनलाई एकीकृत गरेका छौँ । उपसमितिले काम सुरु गरेको छ । बर्खे अधिवेशनको सुरुमै पेस गर्छौं,’ थापाले भने ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि अहिले शिक्षकको आन्दोलन आवश्यक नरहेकाले विद्यार्थीको नतिजा, उत्तरपुस्तिका परीक्षण र भर्ना अभियानमा जुट्न अनुरोध गरेको छ । यदि कुनै माग मुद्दामा विमति भए सहजीकरण गर्न समिति बनाएकाले छलफलबाट अगाडि बढ्न अनुरोध गरेको छ ।

शिक्षकबाट विद्यालयको कार्यतालिका प्रभावित नहुने विश्वास मन्त्रालयको छ । ‘उत्तरपुस्तिका परीक्षण लगायतका विद्यालयको कार्यतालिका प्रभावित गर्नुहुँदैन । उहाँहरुले गर्नुभएको पनि छैन । आफ्नो जिम्मेवारी पूरा गरेर नै आफ्नो आवाज बलियो हुने हो,’ मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने । शिक्षकसँग विगतमा भएको सहमतिअनुसार सहजीकरण गरिरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रतिनिधि सभाको शिक्षा समितिमा रहेकाले समितिको बैठकमा मन्त्रालयले शिक्षकका मागका विषयमा प्रष्ट पारिरहेको प्रवक्ता सापकोटा बताउँछन् ।

मन्त्रालयले शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकको संयोजकत्वमा समिति पनि बनाएको छ । ‘सहजीकरण समिति बनाएर शिक्षकसँग संवादमा छौँ । मन्त्रीज्यूले पनि शिक्षकलाई भेटेर भनिसक्नुभएको छ । सरकार छिटो ऐन ल्याउने प्रक्रियामा गएको छ । सबैको प्रयास जारी छ,’ उनले भने ।

शिक्षकहरू भने यसपटक वार्ता र सहमतिका लागि तयार छैनन् । सहमति पहिले नै भएकाले उनीहरुले कार्यान्वयनमा जोड दिएका छन् । ‘यसपटक वार्ता र सहमति आवश्यक छैन । विगतमा गरेको सहमतिअनुसार संशोधन प्रस्ताव गएको छ । संशोधन प्रस्तावअनुसार पूर्ण हुनेगरी विधेयक जारी गर्नुपर्छ । हामीलाई वार्ता र सहमति आवश्यक छैन,’ शिक्षक महासंघकी सहअध्यक्ष पराजुलीले भनिन् ।

सरकारको आश्वासनमा विश्वास नरहेको महासंघको निष्कर्ष छ । ‘सरकारको विश्वास भएन । सरकारका मान्छे बोल्नुहुन्छ, काम गर्नुहुन्न । हामीले आन्दोलन गरेपछि उहाँहरू तातेको जस्तो गर्नुहुन्छ । आन्दोलन छोड्छौँ, फेरि सेलाउनुहुन्छ । सुत्नुहुन्छ । काम गर्नुहुन्न । उहाँहरूलाई ब्युँझाउन हाम्रो आन्दोलन हो । उहाँहरू अहिलेसम्म थकाइ मारेर बस्नु भएको छ । अब काम गराउन शिक्षकहरू सडकमा आएका हौँ,’ उनले भनिन् ।

राहत, साविक उच्च मावि, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार तथा विशेष शिक्षाका शिक्षकको कोटालाई स्वीकृत दरबन्दीमा परिणत गरी उमेरको हद नलगाई स्थायी गर्ने र स्थायी हुन नसक्नेको हकमा गोल्डेन हेन्डसेकको व्यवस्था गर्नुपर्ने माग शिक्षकहरूको छ ।

बाल विकास शिक्षालाई विद्यालय भित्र ल्याउनुपर्ने र शिक्षक बढुवामा चार श्रेणीको व्यवस्था गरी हरेक १० वर्षमा बढुवा हुने माग शिक्षकहरूको छ ।

शिक्षकको विभागीय कारबाही अधिकार जिल्ला, प्रदेश र संघका कार्यालयमा विभाजन गर्नुपर्ने माग उनीहरूको छ ।

पेशा प्रवेश उमेर ४० वर्ष बनाउन र अभिभावकको नेतृत्वमा विद्यालय व्यवस्थापन समिति बनाउन, शिक्षकको राष्ट्रिय मर्यादाक्रमको व्यवस्था गर्नुपर्ने, ट्रेड युनियन अधिकारको संरक्षण गर्नेगरी ऐन बनाउनुपर्ने लगायतका माग शिक्षकहरूको छ ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?