
अहिलेको एआईको युगमा सबैभन्दा चम्किएको जागिर नै सफ्टवेयर इन्जिनियरहरुको हो भन्दा फरक पर्दैन । तर, च्याट जीपीटी निर्माता कम्पनी ओपन एआईका सीईओ साम अल्टम्यानका अनुसार भविष्यमा चाहिं आर्टिफिसियल इन्टेलिजेन्सकै कारणले सफ्टवेयर इन्जिनियरकै माग कम हुनसक्छ । हालैको एक अन्तरवार्ताका क्रममा उनले एआईले सफ्टवेयर इन्जिनियरिंग क्षेत्रका रोजगारीमाथि खतरा पैदा गर्न सक्छ भन्ने बारेमा बताएका छन् ।
अल्टम्यानका अनुसार एआई अटोमेसनका कारणले यसअघि नै कोडिंग प्रक्रियामा परिवर्तन आइरहेको छ । यहाँसम्म कि विभिन्न कम्पनीहरुले करिब ५० प्रतिशत कोडहरू एआईबाट सिर्जित कोडहरुको प्रयोग गरिरहेका छन् ।
वास्तवमा विश्वका विभिन्न दिग्गज कम्पनीहरुले समेत आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा लगानी तथा काम गरिरहेका छन्। यसमा गुगल तथा माइक्रोसफ्ट लगायतका दिग्गज कम्पनीहरु समेत सामेल छन्।
सफ्टवेयर इन्जिनियरको व्यापक माग
अल्टम्यानका अनुसार विद्यमान समयमा हरेक सफ्टवेयर इन्जिनियरले निकै धेरै नयाँ नयाँ काम गरेर देखाउनेछन् । तर, एकपटक चरम विन्दुमा पुगिसकेपछि भविष्यमा उनीहरुको आवश्यकता पनि कम हुनेछ । अहिलेको समयमा भने सफ्टवेयर इन्जिनियरको आवश्यकता अत्यन्तै धेरै भएको उनको दाबी छ । यद्यपि लामो समयका लागि हेर्दा भविष्यमा उक्त जनशक्तिको माग तथा आवश्यकता पनि कम हुँदै जानेछ ।
खासगरी एजेन्टिक कोडिंगको प्रवेश सँगै यो क्षेत्रमा सबैभन्दा ठूलो बदलाव हुने अल्टम्यान बताउँछन् । एजेन्टिक कोडिंग एउटा यस्तो अवधारणा हो जसमा एआई आफैंले कठिन प्रोग्रामिङ गर्ने क्षमता राख्नेछ । यो प्रविधि अहिले विकास हुने चरणमा रहेको छ ।
साम अल्टम्यानले विद्यार्थीहरुलाई विशेष कोडिङ सीप सिक्नुको साटो एआई टुल्सहरुमा महारथ हासिल गर्ने कुरामा केन्द्रित हुन सुझाव दिएका छन् । एआईले पहिलेदेखि नै कतिपय कम्पनीहरुमा विभिन्न कोडिंगको काम स्वचालित रुपमा गरिरहेको छ । आगामी दिनमा एआईको कारणले विभिन्न ठूला परिवर्तन देख्न पाइनेछ ।
-एजेन्सीबाट
प्रतिक्रिया 4