
काठमाडौं । घरेलु बक्सअफिसमा ‘अञ्जिला’को दबदबाबीच शुक्रबारदेखि दुई नयाँ फिल्म हलमा रिलिज हुनेछन् । प्रकाश सपुत निर्देशित ‘वसन्त’ र हलिउडको ‘अ माइनक्राफ्ट मूभी’ प्रदर्शन हुनेछन् ।
प्रदर्शनपूर्व हलले नयाँ २ र प्रदर्शनरत ‘अञ्जिला’, ‘सिकन्दर’, ‘स्नो ह्वाइट’, ‘आउट ल’, ‘लाज शरणम्’ र ‘होस्टेल ३’ बक्सअफिस प्रस्तुतिअनुसारका शो उपलब्ध गराएका छन् । देशभर १६५ हल संचालनमा छन् ।
बिहीबार दिउँसो १ बजेसम्मको विवरणअनुसार शुक्रबारको लागि ‘वसन्त’ले देशब्यापी १८७ शो प्राप्त गरेको छ । सलमान खान स्टारर ‘सिकन्दर’ले १२१, ‘अञ्जिला’ले ८६ र नयाँ फिल्म ‘अ माइनक्राफ्ट मूभी’ले ४० शो पाएका छन् ।
नयाँ र चल्दै गरेका फिल्मको कारण ‘वसन्त’ले शो बाँड्नुपर्नेछ, जसको प्रभाव यसको ओपनिङमा देखिनेछ । फिल्मले पाएको शो संख्या सुखद हो । शो संख्याअनुसार ‘वसन्त’ले पहिलो दिन देशब्यापी १ करोड ग्रसको ओपनिङ गर्नुपर्ने हुन्छ ।
शो संख्याभन्दा अकुपेन्सी महत्वपूर्ण हो । बिहीबार दिउँसोसम्म फिल्मको एड्भान्स टिकट बिक्री न्यून छ । रातीसम्मको टिकट बिक्रीको ट्रेन्ड कस्तो देखिनेछ र यसको ‘वर्ड अफ माउथ’ कस्तो आउनेछ भन्ने कुराले यसको ब्यवसायिक भविष्य निर्भर हुनेछ ।
अर्कोतर्फ, ‘अञ्जिला’को लहर पनि जारी छ । मिलन चाम्स निर्देशित यो सप्ताहन्त पनि सुुखद कमाइ गर्ने निश्चित छ । यस्तोमा, यो सप्ताहन्तको बक्सअफिस पर्फमेन्स धेरै कुरामा निर्भर हुनेछ ।
प्रतिक्रिया 4