+

काठमाडौंवासीलाई आँखा पोल्ने र श्वास फेर्न गाह्रो किन भइरहेको छ ?

२०८१ चैत  २१ गते २२:०४ २०८१ चैत २१ गते २२:०४

वायु प्रदूषण साइलेन्ट किलर हो । बाहिर देखिँदैन तर यसले पार्ने असर उच्च हुन्छ ।

Shares
काठमाडौंवासीलाई आँखा पोल्ने र श्वास फेर्न गाह्रो किन भइरहेको छ ?

२१ चैत, काठमाडौं । उपत्यकामा केही सातायता आँखाले देखिने र शरीरले महसुस गर्नेगरी वायु प्रदूषण बढेको छ । अस्पतालमा आँखा पोल्ने, घाँटी खसखसाउने, टाउको दुख्ने र रुघाखोकीको लक्षण भएका बिरामीको चाप बढेको छ ।

जाडो मौसममा देखिने रुघाखोकी तथा श्वासप्रश्वासका बिरामी चैत महिनासम्म घटिसक्नुपर्ने हो । मैले हेरेकामध्ये ५० प्रतिशत बिरामी श्वास फेर्न गाह्रो हुने, नाक बन्द हुने, पिनास हुने, घाँटी खसखस गर्ने, खोकी लाग्ने, कफ आउने लगायतका समस्या लिएर आएका छन् । जसलाई वायु प्रदूषणले प्रत्यक्ष असर पुर्‍याइरहेको देखिन्छ ।

भाइरल इन्फ्लुएन्जा हुँदा हप्ता दिनमै रुघा-ज्वरो निको हुने गरेको थियो । तर वायु प्रदूषणले तीन/चार हप्तासम्म पनि निरन्तर खोकी लागिरहने, घाँटी खसखस भइराख्ने र नाक बन्द हुने समस्या लिएर बिरामी अस्पताल आइरहेका छन् ।

बहिरङ्‍गमा मात्रै होइन, आकस्मिक तथा आईसीयूमा पनि बिरामीको चाप बढ्दो छ । कतिपयलाई अक्सिजन कम हुने, निमोनिया देखिने, श्वास फेर्न गाह्रो हुने भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिरहेका छौं ।

वायु प्रदूषणको असर दीर्घरोगी वा ज्येष्ठ नागरिकमा मात्रै देखिएको छैन, स्वस्थ व्यक्तिमा समेत देखिएको देखिएको छ । स्वस्थ मानिसलाई बारम्बार खोकी लागिराख्ने र निको हुनै गाह्रो भइरहेको छ ।

पाँच वर्षभन्दा मुनिका बालबालिका, ६५ वर्ष नाघेका वृद्धवृद्धा, दम, एलर्जी, दीर्घरोगी जो-कोहीलाई पनि वायु प्रदूषणले असर गर्छ । सँगसँगै प्रदूषणका कारण खोक्न सक्ने क्षमता कम हुन्छ । वृद्धवृद्धालाई खोकेर खकार निकाल्न नसक्ने समेत अवस्थामा पुर्‍याउँछ ।

प्रदूषणमा धेरै खालका रसायन हुन्छन् । हाम्रो नाङ्गो आँखाले देख्ने धुलोका कणहरू ठूला साइजका हुन्छन् । रौंको रेसा ५० माइक्रोनभन्दा ठूलो साइजको हुन्छ । तर वायु प्रदूषण १० माइक्रोग्रामभन्दा पनि साना हुन्छन्, जुन फोक्सोको भित्री तहसम्म पुग्छन् । ठूला साइजका धुलाका कण माथिल्लो श्वासनली बाहिर बस्छन् । जसका कारण हाम्रो शरीरको नाकबाट पानी बग्ने, घाँटी खसखस हुने, खोक्दा कालो खकार आइरहेको हो ।

अत्यन्तै साना कण फोक्सोको भित्री तहसम्म पुग्छन् । जसले दम, श्वासप्रश्वासमा समस्या, छातीमा संक्रमण हुन्छन् । साथै केहीमा पुरानो दमसँग सम्बन्धित समस्या छ भने अचानक दम हुने, श्वासप्रश्वासमा समस्या, अक्सिजनको मात्रा कम हुने र बेहोस नै हुने अवस्था आउँछ ।

वायु प्रदूषणले रोगसँग लड्ने क्षमतासमेत घटाउँछ । बालबालिका, वृद्ध उमेरका मानिसमा निमोनिया हुने, छातीमा संक्रमण हुने हुन्छ ।

वायु प्रदूषणले गर्भवतीको पेटमा भएको बच्चालाईसमेत असर गर्छ । यसले श्वासप्रश्वास प्रणाली मात्रै नभएर हृदयाघात, आँखा, उच्च रक्तचाप, छालासम्बन्धी रोग र क्यान्सरसमेत निम्त्याउँछ ।

पीएम २.५ स्वास्थ्यका लागि खराब मानिन्छ । वायू प्रदूषणमा निकोफिन, क्याटमियम, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड जस्ता क्यान्सरजन्य पदार्थहरूसमेत रहेका हुन्छन् ।

साना कण फोक्सोबाट रक्तसञ्चार प्रणालीमा छिर्छ । रक्तसञ्चार प्रणालीमा जाँदा शरीरका सम्पूर्ण अङ्गलाई असर गर्ने सम्भावना बलियो हुन्छ । जसले गर्दा मुटु, मिर्गौला, टाउकोसम्मै पुगेर पक्षघात, क्यान्सरसमेत हुने समस्या उत्पन्न हुन्छ ।

वायु प्रदूषणले गर्भवतीको पेटमा भएको बच्चालाईसमेत असर गर्छ । यसले श्वासप्रश्वास प्रणाली मात्रै नभएर हृदयाघात, आँखा, उच्च रक्तचाप, छालासम्बन्धी रोग र क्यान्सरसमेत निम्त्याउँछ ।

विशेषगरी उपत्यकामा जाडो मौसममा बादल लाग्यो भने ‘कम्बल’ को काम गर्छ । भित्रपट्टि प्रदूषणको चिसो हावा हुन्छ । अहिले यो हावा राम्रोसँग ओहोरदोहोर गर्न नपाउँदा एकै ठाउँमा थिग्रेर बसेको छ । बिहान र साँझको समयमा प्रदूषण अत्यधिक बढी छ । अहिले सुक्खा मौसममा आगलागी भएका कारण वायु प्रदूषण बढेको हो ।

हाम्रो सीमावर्ती क्षेत्र (भारत) मा पनि वायु प्रदूषणको गति एकदमै धेरै छ । त्यो प्रदूषित हावा पनि ट्रान्सफर हुँदा काठमाडौंसम्म प्रदूषण आउने सम्भावना हुन्छ ।

त्यसबाहेक, अन्य मानवीय व्यवहारका कारणले प्रदूषण फैलिरहेको हुन्छ ।

वायु प्रदूषणको समस्या केही वर्षदेखि नै शहरी क्षेत्रमा टड्कारो रूपमा देखिएको छ । प्रदूषणले दैनिक कामकाजदेखि जीवनशैलीमा प्रभाव पारेको छ ।

वायु प्रदूषणको दीर्घकालीन असरले ‘बेटर लाइफ’ हुन सक्दैन । जहिले पनि खोकिरहनुपर्ने, छिटो हिँड्न नसक्ने, बस्दा पनि शारीरिकदेखि मानसिक समस्या आउने गर्छ । त्यसबाहेक, बाँच्ने आयुमा समेत प्रभाव पार्छ । पश्चिमा मुलुकमा जन्मिने बच्चामा ‘सर्भाइभर रेट’ को तुलनामा नेपालजस्ता कम विकसित मुलुकमा जन्मिने बच्चाको दुई वर्षले कमी हुन्छ । त्यसको प्रमुख कारण वायु प्रदूषण हो ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा वायु प्रदूषणबाट वर्षेनी ४२ हजार जनाको मृत्यु हुने गरेको छ । जसमध्ये १९ प्रतिशत पाँच वर्षमुनिका बालबालिका र २७ प्रतिशत ७० वर्षभन्दा माथिका मानिस छन् । वायु प्रदूषणले नेपालीको आयु ४.१ प्रतिशतले घटाइरहेको उक्त तथ्यांकमा उल्लेख छ ।

पहिले दम रोग धूमपान गर्ने मान्छेमा मात्र हुने भनिन्थ्यो । हिजोआज वायु प्रदूषणका कारण स्वस्थ उमेरका मानिस तथा कहिल्यै धूमपान नै नगरेका मानिसमा पनि फोक्सोको क्यान्सर र दम लगायतका समस्या देखिन थालेको छ । विश्व स्वास्थ्य संगठनले सास फेर्नका लागि मानेको स्वच्छ हावाभन्दा नेपालको हावा धेरै खराब छ ।

नीतिगत रूपमा स्रोत पहिचान गरी त्यो स्रोतलाई कम गर्न विभिन्न तरिका अवलम्बनसँगै जनचेतनाको काम पनि गर्नुपर्छ ।

वायु प्रदूषण साइलेन्ट किलर हो । बाहिर देखिँदैन तर यसले पार्ने असर अत्यन्तै उच्च हुन्छ । यसले हाम्रो शरीरका प्रत्येक अंगलाई असर गर्छ । समाजलाई असर गर्छ । देशको छविमा समेत असर पार्छ । त्यस कारण वायु प्रदूषणलाई कम गर्न सरकारी तथा सामाजिक र व्यक्तिगत तहबाट एकजुट भएर लाग्नुपर्छ ।

नीतिगत रूपमा पहिलो कुरा के कारणले बढेको हो, त्यसका स्रोतहरू के-के हुन् पत्ता लगाउनुपर्छ, जुन हरेक क्षेत्रको एउटै नहुन सक्छ । मुख्य कुरा, अनुसन्धान आवश्यक छ । कुनै ठाउँमा यातायातबाट हुने प्रदूषण कम गर्न नीतिगत रूपमै पुराना गाडी नचलाउने, विद्युतीय सवारीसाधन प्रयोगमा ल्याउनुपर्छ ।

वायु प्रदूषणले खुला स्थानमा लामो समय काम गर्नेलाई बढी असर गर्छ । विशेषगरी घर बाहिर खेल्न मन पराउने बालबालिका, ड्राइभर, प्रहरी तथा कलकारखानामा काम गर्ने मानिसमा वायु प्रदूषणले छिटो असर गर्छ ।

अत्यधिक लेभलमा पुगेको बेला सर्वसाधारणमा चेतना जगाउनुपर्छ । सकेसम्म यस्तो बेलामा अनावश्यक साधन नचलाउन आग्रह गर्नुपर्छ । कुनै ठाउँमा औद्योगिक कारणले प्रदूषण बढेको रहेछ भने केही दिन बन्द गर्नुपर्छ ।

त्यसैगरी, कुनै ठाउँमा दाउरा प्रयोगले प्रदूषण बढेको रहेछ भने त्यसको विकल्पका रूपमा सुधारिएको चुल्हो प्रयोग गर्नुपर्छ । त्यस कारण नीतिगत रूपमा कडा खालको नियम बनाउनुपर्छ र अनुगमन पनि गर्नुपर्छ ।

नीतिगत रूपमा स्रोत पहिचान गरी त्यो स्रोतलाई कम गर्न विभिन्न तरिका अवलम्बनसँगै जनचेतनाको काम पनि गर्नुपर्छ ।

वायु प्रदूषण उच्च भएका बेला व्यक्तिगत हिसाबमा पनि जथाभावी फोहोर नगर्ने, सकेसम्म बाहिर ननिस्कने, निस्कनै परेको खण्डमा मास्क प्रयोग गर्नुपर्छ । तर यसको दीर्घकालीन समाधान नीतिगत रूपबाट आउनुपर्छ ।

वायु प्रदूषणको जोखिमबाट बच्न घरबाहिर हिँडडुल गर्दा मास्क प्रयोग गर्ने, मानवबस्तीको बीचमा उद्योग र कलकारखाना नखोल्ने, पुराना सवारीसाधन हटाउने र नयाँ सवारीसाधनको चेकजाँच गरेर अनुमतिप्राप्त सवारीसाधन मात्र सञ्चालनमा ल्याउने गर्नुपर्छ ।

यस्तै इन्धनको रूपमा दाउरा, कोइलाको सट्टा, गोबरग्यास, विद्युत शक्ति र सौर्य ऊर्जाको प्रयोगमा जोड दिने, पूरा शरीर ढाक्ने खालका कपडा लगाएर हिँड्ने, बाहिर हिँड्दा छाता, क्यापको प्रयोग गर्ने गर्नुपर्छ ।

(डा. पंगेनी छाती रोग र सघन उपचार विशेषज्ञ हुन् ।)

डा. राजु पंगेनी तुवाँलो वायु प्रदूषण
डा. राजु पंगेनी
लेखक
डा. राजु पंगेनी
छातीरोग तथा सघन उपचार विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ४४५१ एमडी, डीएम हाल काठमाडौं धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

दुई थरीको हुन्छ माइग्रेन, कुन कति गम्भीर ?

दुई थरीको हुन्छ माइग्रेन, कुन कति गम्भीर ?

चिकित्सा शिक्षा स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया अघि नबढाउन सर्वोच्चको आदेश

चिकित्सा शिक्षा स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया अघि नबढाउन सर्वोच्चको आदेश

हड्डी कमजोर बनाउने रोग ‘अस्टियोपोरोसिस’ के हो ?

हड्डी कमजोर बनाउने रोग ‘अस्टियोपोरोसिस’ के हो ?

सात सरल योगासन, जसले घटाउँछ पेटको बोसो (भिडियोसहित)

सात सरल योगासन, जसले घटाउँछ पेटको बोसो (भिडियोसहित)

वायु प्रदूषणले खतराको तह नाघ्यो, बढे बिरामी

वायु प्रदूषणले खतराको तह नाघ्यो, बढे बिरामी

३५ वर्ष कटेपछि सन्तानको योजना बनाउँदै हुनुहुन्छ ? यसो गर्नुहोस्

३५ वर्ष कटेपछि सन्तानको योजना बनाउँदै हुनुहुन्छ ? यसो गर्नुहोस्