+
+
Shares

सेयर बजार बन्द भएको १५ मिनेटपछि मात्रै अंक अपडेट

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २१ गते १७:३५

२१ चैत, काठमाडौं । बिहीबार सेयर बजार बन्द भएलगत्तै ३ : ०१ बजे नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २.८१ अंक मात्रै बढेको थियो । त्यसपछि कारोबार नहुँदा पनि ३ : १५ बजेपछि भने यो अंक फेरियो र अघिल्लो दिनको तुलनामा ३.३५ अंक बढ्यो ।

नेप्से परिसूचक मात्रै होइन । सबै सेक्टरका सूचकको अंक, सबै कम्पनीको मूल्य यसैगरी १५ मिनेटमै फेरिने गरेको छ ।

ठिक ३ बजे बन्द हुने सेयर बजारमा अन्तिम अंक अपडेट हुन कम्तीमा १५ मिनेट ढिला हुने गरेको छ । कारोबार संख्या जति धेरै, नेप्सेको अन्तिम अपडेट त्यति ढिला हुने भएको छ ।

सवा ३ बजेतिर मात्रै नेप्सेसहित, उपसमूहका सूचक र कम्पनीको मूल्यमा वास्तविकता देखिन थालेको छ । यसको प्रमुख कारण, भारित औसत मूल्य गणना रहेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।

‘कारोबारको अन्तिमसम्मको मूल्यलाई लिएर भारित औसत मूल्य गणना हुन थालेयता केही समय लागेको’ उनले भने ‘यो समयलाई केही घटाउन सकिएला, तर बजार बन्द हुने वित्तिकै भारित औसत मूल्य गणनाकै आधारमा सूचक आउँदैनन् ।’

सामान्यतः लगानीकर्ताले ३ बजे बजार बन्द भइसकेपछि आफ्नो कम्पनीको मूल्य वा पोर्टफोलियो एकथरि देख्ने गरेका छन्, तर फेरि १५/२० मिनेटपछि कम्पनीको मूल्य नै फरक देखिने गरेको छ ।

कुनै पनि कम्पनीको कारोबार मूल्य न्यूनतम १० पैसाको अन्तरालमा हुने गर्छ । तर भारित औसत मूल्यलाई आधार मान्दा भने १ पैसाकै अन्तरालमा मूल्य तय हुने गरेको छ ।

कारोबार बन्द हुनेवित्तिकै अन्तिम पटकको कारोबार मूल्यका आधारमा सूचकहरु देखिने तर १५/२० मिनेटपछि भारित औसत मूल्यका आधारमा सूचकहरु देखिने गरेका छन् ।

चैत १० गतेदेखि नेपाल स्टक एक्स्चेन्जले कम्पनीहरुको अन्तिम मूल्यमा एउटा छुट्टै गणना विधि लागू गर्‍यो । त्यसअघि अन्तिम पटकको कारोबार मूल्य नै सो कम्पनीको अन्तिम मूल्य हुने गरेको थियो । चैत १० गतेपछि अन्तिम १५ मिनेटमा भएको सबै कारोबारको भारित औसत मूल्य नै सो कम्पनीका लागि अन्तिम मूल्य हुन थाल्यो ।

यसको अर्थ २ : ४५ देखि ३ बजेसम्म कारोबार हुने कम्पनीको सेयर मूल्य र कारोबार सेयर संख्यालाई आधार बनाएर आउने औसत मूल्य नै सो कम्पनीको अन्तिम मूल्य हुने भयो ।

उदाहरणका रुपमा एबीसी कम्पनीलाई बुझौं,

समयक्रममा सेयर मूल्य कारोबार सेयर संख्या कुल कारोबार मूल्य
५०० (२ : ४५ बजे) १० ५,०००
५१० (२ : ५० बजे) १०० ५१,०००
५१५ (२ : ५३ बजे) ३०० १,५४,५००
५२० (२ : ५७ बजे) १० ५,२००
५३० (२ : ५९ बजे) १० ५,३००
कुल ४३० २,२१,०००

भारित औसत मूल्य ५१३ रुपैयाँ ९५ पैसा ।

यो कम्पनीको सेयर मूल्य बजार बन्द हुनेवित्तिकै ५३० रुपैयाँ देखिन्छ । यहीं मूल्यका आधारमा यसको सेक्टर सूचक अंक र नेप्सेको अंक देखिन्छ ।

तर १५ मिनेटपछि हुने भारित औसत मूल्यका आधारमा कम्पनीको अन्तिम मूल्य ५१३ रुपैयाँ ९५ पैसा मात्रै हुन आउँछ । यसले एबीसी कम्पनीको मूल्यलाई मात्रै नभई सेक्टर र समग्र नेप्सेलाई धेरैथोर प्रभाव पार्दछ । यहीं कारणा बजारको अन्तिम अपडेट कम्तीमा १५ मिनेट पछाडि सरेको छ ।

यसरी भारित औसत मूल्य गणना हुन थालेपछि परिसूचक नेप्से, सेन्सिटिभ इन्डेक्स, हरेक सेक्टरका सूचक पनि प्रभावित भयो । भारित औसत मूल्य गणनाका आधारमै सूचक तथा उपसूचक तलमाथि पर्ने गरेका छन् ।

बजार ३ बजे बन्द हुँदा कम्पनीहरूको अन्तिम कारोबार मूल्यका आधारमा नेप्से र उपसमूहहरुको सूचक अडिन्छन् । भारित औसत मूल्य गणनाका क्रममा करिब १५ मिनेटको समयपछि नेप्से परिसूचक र उपसमूहका सूचकका अंक पनि परिवर्तन हुने गरेका छन् ।

यस्तो ढिलासुस्तीले नेप्सेको प्रणालीमाथि नै प्रश्न चिन्ह उठेको छ । नेप्सेका उच्च अधिकारीहरु भने अरु मुलुकमा पनि भारित औसत मूल्य गणना शून्य समय (रियल टाइममा) नहुने दाबी गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?