+
+
Shares

वायु प्रदूषण घटाउन विज्ञको सुझाव : यातायातमा जोर–बिजोर, हप्तामा दुई दिन बिदा

छलफलको क्रममा एक विज्ञले भनेका छन्– तत्कालै यातायातमा जोर–बिजोर, हप्तामा दुई दिन बिदा नदिने हो भने वायू प्रदूषण झन् घातक बन्छ

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८१ चैत २१ गते १७:४४

२१ चैत, काठमाडौं । केही सातायता आँखाले प्रष्ट देखिने र शरीरले महसुस गर्नेगरी वायु प्रदूषण बढेको छ ।

काठमाडौं उपत्यकाका मानिसहरूमा आँखा पोल्ने, घाँटी खसखसाउने, टाउको दुख्ने र रुघाखोकीको लगायत जटिल समस्या देखिएको छ । यसैबीच बिहीबारसरकारले वातावरण प्रदूषण घटाउनेबारे विज्ञसँग छलफल गरेका छन् ।

छलफलको क्रममा विज्ञले तत्कालै यातायातमा जोर–बिजोर प्रणाली लागू गर्नुपर्ने, हप्तामा दुई दिन बिदा दिनुपर्ने लगायतका सुझाव पेश गरेका छन् ।

कार्यबाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसहितले गरेको विज्ञसँगको छलफलमा आएका सुझावलाई कार्यान्वयनमा ल्याइने वन तथा वातावरण मन्त्रालय सचिव दीपक खरालले बताए ।

यसबारे सरकारले छिट्टै निर्णय लिने काबा प्रधानमन्त्री सिंहले बताएका छन् ।

छलफलका क्रममा वातावरण विद् डा. भुषण तुलाधारले देशभर लागेको डढेलोको कारण वायू प्रदुषण अत्यधिक भएकाले बताए ।

‘अहिले देशभर जंगलमा अत्यधिक आगजानी भएको छ । यस्तै वायू प्रदूषण बढाउने काम यातायात, धुवाँधुलो, सिमानाबाट आएका प्रदूषित हावाले पनि गरिहेको छ,’ उनले भने, ‘तत्कालै यातायातमा जोर–बिजोर, हप्तामा दुई दिन बिदा नदिने हो भने वायू प्रदूषण झन् घातक बन्छ ।’

डा. तुलाधारले काठमाडौं उपत्यकाका शंकपार्क र रत्नपार्कमा आईक्यूएयरको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) रौंभन्दा तीन गुणा मसिना धुलो धुवाँका कण प्रतिघण्टा भएकाले मानव स्वास्थ्यका लागि अत्याधिक घातक भएको बताए ।

उनले अगाडी थपे, ‘हामीले अत्यन्तै अवस्थकर हावा लिइरहेका छौं । आईक्यूएयरको मात्रा ३०० सम्म पुगेको छ । जुन एकदमै खतनाक हो । वायू प्रदूषण घटाउन सरकारले तुरुन्तै निर्णय गर्नुपर्छ ।’

१०१ देखि १५० लाई नै संवेशनशील समूहका लागि अस्वस्थ मानिन्छ । १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तहमा पुगेको मानिन्छ ।

डा. तुलाधारले वायू प्रदूषण गुणस्तर योजना बनाउनुपर्ने सुझाव दिएका छन् ।

यस्तै, डढेलो विज्ञ सुन्दर प्रसाद शर्माले वायू प्रदूषण घटाउनका लागि राष्ट्रिय रणनीति नै बनाउनुपर्ने तर्क अगाडी सारेका छन् । यसैगरी वायू प्रदूषण निजी सवारी साधनले बढी वढावा दिएकाले सार्वजानिक साधनको प्रयोगलाई बढाउनुपर्ने सुझाव दिएका छन् ।

धुवाँधुलोका कारण कतिपय दीर्घरोगी त भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने अवस्थामा पुगेको चिकित्सकहरु बताउँछन् । छाती तथा सघन उपचार रोग विशेषज्ञ डा. राजु पंगेनीका अनुसार पछिल्ला दिनमा श्वासप्रश्वाससँग सम्बन्धित बिरामी अत्यधिक बढेका छन् ।

उनका अनुसार बहिरंग सेवामा दैनिक सेवा लिन आउने बिरामीमध्ये आधाभन्दा बढी वायु प्रदूषणबाट निम्तिएको समस्याले अस्पताल पुगेका छन् ।

उनले हेरेका बिरामीमध्ये ५० प्रतिशत श्वास फेर्न गाह्रो हुने, नाक बन्द हुने, घाँटी खसखस गर्ने, खोकी लाग्ने, कफ आउने लगायतका समस्या देखिएका छन् ।

‘भाइरल इन्फ्लुएन्जा हुँदा हप्ता दिनमै रुघाज्वरो निको हुने गरेको छ । तर वायु प्रदूषणले तीन/चार हप्तासम्म पनि निरन्तर खोकी लागिरहने, घाँटी खसखस भइराख्ने र नाक बन्दको समस्या लिएर बिरामी आएका छन्,’ डा. पंगेनीले भने ।

ओपीडीमा मात्रै होइन, आकस्मिक तथा आईसीयूमा पनि बिरामीको चाप बढ्दो छ ।

‘कतिपयमा अक्सिजन कम हुने, निमोनिया देखिने, श्वास फेर्न गाह्रो भएर भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था छ,’ उनले भने ।

छाती तथा सघन उपचार रोग विशेषज्ञ डा. राजु पंगेनी

वायु प्रदूषणको असर दीर्घरोगी वा ज्येष्ठ नागरिकमा मात्रै देखिएको छैन । वायु प्रदूषणको असरस्वस्थ व्यक्तिमा देखिएको पंगेनी बताउँछन् ।

पाँच वर्षभन्दा मुनिका बालबालिका, ६५ वर्ष नाघेका वृद्धवृद्धा, दम, एलर्जी, दीर्घरोगी जोकोहीलाई पनि वायु प्रदूषणले असर गर्नसक्छ । सँगसँगै प्रदूषणका कारण खोक्नसक्ने क्षमता कम हुन्छ । वृद्धवृद्धालाई खोकेर खकार निकाल्न नसक्ने समेत अवस्थामा पुर्‍याउँछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

तिलगंगा आँखा अस्पतालकी वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रिता गुरुङका अनुसार अहिलेको वायु प्रदूषणले आँखामा निकै गम्भीर असर पर्न सक्छ । उनको भनाइमा आँखामा यस्तो प्रदूषणको अल्पकालीन र दीर्घकालीन दुवै प्रभाव पर्ने देखिन्छ । ड्राई आई सिन्ड्रोम अर्थात् आँखा सुक्खा भएर विभिन्न समस्या पनि देखिन सक्छ ।

प्रदूषणले गर्दा आँखाबाट आँसु आइरहने, आँखा रातो हुने, चिलाउने र दुख्ने, आँखाको डिल सुन्निने जस्ता समस्या लिएर अस्पताल आउने बिरामीको संख्या बढिरहेको उनले बताइन् ।

वायु गुणस्तर विज्ञ डा. भूपेन्द्र दास नेपालमा विशेषगरी जाडो (मंसिरको दोस्रो सातादेखि पुसको दोस्रो सातासम्म) र सुक्खायाम (फागुनको तेस्रो सातादेखि वैशाखको तेस्रो सातासम्म) मा वायु प्रदूषण उच्च तहमा पुग्ने बताउँछन् ।

‘काठमाडौंको भौगोलिक स्थिति कचौरा आकारको छ । फागुनदेखि डढेलो, कृषि अवशेष जलाउनु र इँटाभट्टाका कारणले प्रदूषण बढिरहेको छ,’ डा. दासले अनलाइनखबरसँग भने ।

डा. दासले तराईमा गहुँको छ्वाली जलाउनुका साथै वनजंगलमा डढेलो लागेकाले उपत्यका सहरमा वायू प्रदूषण छिरिको बताए ।

वायु प्रदूषणको नकारात्मक प्रभावबारे चेतना जगाउन र जनमानसमा वायु प्रदूषणबाट बचाउन तत्काल ठोस कदम चाल्नुपर्ने डा. दास बताउँछन् ।

यसका लागि दीर्घकालीन रुपमा व्यवस्थित शहरीकरण, नवीकरणीय ऊर्जा प्रयोग, रुख–बिरुवा लगाउने, फोहोर नजलाउने जस्ता कार्य गरी वायु प्रदूषण कम गर्न सकिने विज्ञ बताउँछन् ।

सार्वजनिक यातायातको कम प्रयोग, फोहरको उचित व्यवस्थापन, निर्माण कार्यमा धुलो रोकथाम गर्ने उपाय अवलम्बन गर्न तथा वन डढेलो नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालय र प्राधिकरणले सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

प्राधिकरणले सम्बन्धित निकायलाई वायु प्रदूषणमापन गरी तत्काल सुधारका उपाय अपनाउन सरकारमार्फत निर्देशन दिएको छ । साथै, विपद् न्यूनीकरण प्राधिकरणले आमनागरिकलाई व्यक्तिगत सावधानी अपनाउन, मास्कको प्रयोग गर्न र स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ ।

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?