
२२ चैत, काठमाडौं । काभ्रेपलाञ्चोकमा गत साउनदेखि विभिन्न ठाउँमा धारिलो हतियार, नक्कली पेस्तोल, खुकुरी र बन्चरो देखाउँदै श्रृंखलावद्धरुपमा लुटपाट गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ बस्ने ४९ वर्षका वीरबहादुर तामाङ, ४२ वर्षका वुद्धिमान तामाङ, ओखलढुंगा खिजितेम्बा गाउँपासल ९ का ५२ वर्षका महेशकुमार खड्का र उदयपुरको कटारी नगरपालिका १४ का ३६ वर्षका राजकुमार दनुवारलाई पक्राउ गरेर काभ्रे प्रहरीलाई बुझाएको छ ।
काभ्रेका विभिन्न ठाउँमा नगद, सुनका गरगहनाहरु, मोबाइल लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्काले जानकारी दिइन्। खड्काका अनुसार उनीहरुको प्रहरी अनुसन्धान सकेर मुद्दाको फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरिएको छ ।
उनीहरुले गत साउन ३१ गते राती पनौती ५ चोकोटमा धर्म गोपाल श्रेष्ठको नेवा ग्रिल हिल खाजा घरमा धारिलो हतियार खुकुरी देखाई श्रेष्ठको घाँटीमा खुकुरी राखी नगद चालिस हजार डकैती गरेको तथा गत भदौ ११ गते धुलिखेल ९ को रामकोटमा स्थानीय दिपकबहादुर तामाङको घाटीमा खुकुरी राखी सुनको रिङ्ग र नगद ६५ हजार चोरेको आरोप छ ।
त्यस्तै गत माघ ४ गते बनेपा ३ टनचोकमा लोपसाङ लामाले सञ्चालन गरेको होमस्टेबाट धारिलो हतियार खुकुरी र बच्चरो देखाई सुनका गरगहनाहरु, नगद ३ लाख २० हजार तथा मोबाईल चारेर घरमा भएका सबैलाई कोठा भित्र धुनेर भोगेका थिए ।
त्यस्तै माघ १३ गते बनेपा ४ को रेडक्रश टोलमा सुकान्त भोम्जनको घरको वाल फोडी भित्र प्रवेश गरी धारिलो हतियार खुकुरी देखाई सुनका गहना, नगद विस हजार र दुई वटा मोबाईल चोरेका थिए ।
यस्तै गत फागुन ५ गते धुलिखेल ७ स्थित लासाङ गोलेले संचालन गरेको आमा कृषि पशुपक्षी बंगुर फर्ममा नक्कली पेस्तोल र खुकुरी देखाई लासाङ गोलेले घाटीमा लगाएको सुनको गरगहना र भिभो कम्पनीको मोबाईल लटेर लगेको एस्पी खड्काले जानकारी दिइन् ।
प्रतिक्रिया 4