+
+
Shares

रवि भैरहवा लागेपछि चितवनमा फितलो बन्यो जनयात्रा शुभारम्भ

लामिछाने पक्राउ परेकोमा बढी आक्रोशित भएर सहभागीको संख्या उल्लेख्य हुने सुरक्षा निकायको पनि अनुमान थियो । तर, तयारी नै कमजोर भएकोले सुरक्षा व्यवस्थापनको विषय पनि टाउको दुखाइको विषय बनेन ।

सुवास पण्डित सुवास पण्डित
२०८१ चैत २३ गते २१:३९

२३, चैत, चितवन । चितवनको राप्ती नगरपालिका वडा नं. २ का चन्द्रबहादुर विश्वकर्मा हातमा घण्टी चिन्हको झण्डा लिएर भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) ले आजबाट थालेको जनयात्रा सभामा सहभागी हुन आए । आउँदा जुन उत्साहले उनी आएका थिए, सभा भएको गेष्ट हाउस चौरको न्यून सहभागिताले उनलाई खिन्न बनायो ।

कार्यक्रम नसकिँदै घर फर्किने तयारी गरेका चन्द्रबहादुरले अनलाइनखबरसँग कुराकानी गर्दै भने, ‘म त सभामा निकै मान्छे आउँछन् होला, राम्रो सहभागिता होला भनेर सोचेको थिएँ, यहाँ आउँदा त मान्छे निकै कम देखेँ, पहिल पहिला खचाखच हुन्थ्यो, अहिले त्यस्तो माहोल पाइनँ ।’

चन्द्रबहादुरले भनेको जस्तै रास्वपाले भरतपुरमा गरेको आजको सभामा निकै न्यून उपस्थिति थियो । जिल्ला प्रहरी कार्यालय चितवन अगाडिको गेष्ट हाउस चौर रास्वपाले पटकपटक सभा गरिरहने ठाँउ हो । तर, आजको सहभागिता अहिलेसम्मकै सबैभन्दा कम देखिएको सो पार्टीका जिल्ला संयोजकसमेत रहेका कृष्णप्रसाद भुषालले जानकारी दिए ।

उनले पार्टी सभापति नै पक्राउ गरेकोले हुँदा पार्टी कार्यकर्तामा उत्साह नदेखेको बताए । ‘सभापति आउने भनेर जुन चर्चा र हल्ला भएको थियो, उहाँ पक्राउ परेपछि एकैपटक निरास बनियो, सभापतिले नै कार्यक्रम गर्नुस् नरोक्नुस् भनेकोले कार्यक्रम गरेको हो, सहभागिता पनि खासै देखिएन ।’

उनीहरूले मन नलागी-नलागी तयारी गरेको जस्तो देखिन्थ्यो । लामिछाने पक्राउ परेकोमा बढी आक्रोशित भएर सहभागीको संख्या उल्लेख्य हुने सुरक्षा निकायको पनि अनुमान थियो । तर, तयारी नै कमजोर भएकोले सुरक्षा व्यवस्थापनमा पनि खासै टाउको दुखाइको विषय भएन ।

गेष्ट हाउस चौरलाई तीन भाग लगाउँदा एक भाग सहभागीले ढाक्न पनि मुस्किल परेको थियो । जिल्ला संयोजक भुषाललाई आजको सभामा कति सहभागी भए त भन्ने प्रश्नमा उनले २ हजारको हाराहारीमा सहभागी आएको जानकारी दिए । ‘सभापतिज्यू आएको भए १० हजार हुने अनुमान थियो, तर उहाँ नभए पछि आउने जाँगर कसैले पनि देखाएनन्,’ भूषालले कार्यक्रम पछि भने ।

दिनभर रास्वपाको कार्यक्रम नियालेका जिल्ला प्रहरी कार्यालय चितवनका एक अधिकृतले कार्यक्रममा १२ सयदेखि १५ सयसम्म को हाराहारीमा सहभागी आएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्र मानिने चितवनलाई विषेश महत्व दिएर नै पार्टीका सभापति रवि लामिछानेले जनयात्राको शुभारम्भ गर्ने घोषणा गरेका थिए । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजालसले जनयात्राको अघिल्लो दिन थुनामा पठाउने आदेश दिएपछि रास्वपाको जनयात्रा नै खल्लो बनेको छ ।

सबैभन्दा कम सहभागिताको जनयात्रा शुभारम्भ नै अपेक्षाकृत नभएको रास्वपाका नेताहरुको टिप्पणी छ । रास्वपालाई चितवनमा अगाडि बढाउन योगदान दिएका कतिपय नेता कार्यकर्ता नै सभामा सहभागी भएनन् । सुरुबाट नै रास्वपामा आवद्ध भएर रवि लामिछानेसँग नजिककै सम्बन्ध बनाएका भविलाल चापागाईँ घरबाट ३ किलोमिटर पर भएको सभामा गएनन् ।

यसअघिका कुनै पनि कार्यक्रम उनले छुटाउने गरेका थिएनन् । ‘हामीले सोचेको जस्तो पार्टी रहनेछ, काम गर्ने र नगर्नेहरुको कुनै मान्यता भएन, हामीलाई पार्टीमा दास जस्तो गरियो, रवि लामिछानेको चितवनमा पहिलो भेटघाट सभा गराएकै मैले हो, तर आज अवसरवादीहरु हावी भए’ चापागाईंले भने, ‘जसले बढी चाकडी गर्छ उहीँ नजिक हुन्छ, कामको मूल्याङ्कन भएको पाएँ, टाढा टाढा छितिजसँग हेर्ने खुवी र चेत उहाँहरुसँग रहनेछ, म निराश र दुःखी छु ।’

उनले आफू जस्तै रास्वपामा सक्रिय धेरै नेता कार्यकर्ता आजको जनयात्रामा नगएको बताए । जनयात्राको स्पष्ट मार्ग चित्र र कार्यक्रम केही नआएको उनको भनार्इृ छ । चापागाईले भने जस्तै जनयात्रामा आज बोल्ने बक्ताहरुले पनि जनयात्राको आगामी कार्यक्रम के हुने र कहाँ कहाँ कसरी गर्ने भन्ने बारेमा खासै खुलाएनन् ।

रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले आज नै उपलब्ध केन्द्रीय सदस्यहरुको अनौपचारिक छलफल गरेर कार्यक्रमको समिक्षासहित अब कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल गरिने बताए ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?