२४ चैत, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभपुरल आइतबार फुलहमसँग ३-२ ले पराजित भएको छ । सुरुवाती अग्रता लिएपनि लिभरपुलले पहिलो हाफमै तीन गोल व्यहोरेको थियो ।
यो हारपछि प्रिमियर लिगमा लिभरपुलको २६ खेलको अपराजित यात्रा समेत ब्रेक लागेको छ । यस सिजन लिगको चौथो खेलमै लिभरपुल नटिङहम फरेस्टसँग पराजित भएको थियो ।
एलेक्सिस म्याक एलिटरले १४औं मिनेटमा गोल गर्दै लिभरपुललाई पहिले अग्रता दिलाएका थिए । तर राएन सेसेगनोनले २३औं मिनेटमा फुलहमका लागि बराबरी गोल फर्काए । त्यसपछि पुलहमले पहिलो हाफमै दुई गोल थप्यो ।
एलेक्स इओबीले ३२औं मिनेटमा गोल गर्दै फुलहमलाई खेलमा पहिलो पटक अग्रता दिलाए । यस्तै रोड्रिगो मुनिजले ३७औं मिनेटमा गोल गरेपछि फुलहमले ३-२ को अग्रता बनायो ।
लिभरपुलले दोस्रो हाफमा एक गोल गरेपनि हार टार्न सकेन । लुइस डियाजले ७२औं मिनेटमा गोल गर्दै गोल अन्तर ३-२ मा झारेका थिए । तर त्यसपछि लिभरपुलले थप गोल गर्न नसक्दा पराजित भयो ।
हारपछि पनि लिभरपुल ३१ खेलबाट ७३ अंकसहित शीर्ष स्थानमै छ । लिगमा अब ७ खेल बाँकी रहँदा लिभरपुल दोस्रो स्थानको आर्सनल भन्दा ११ अंकले अघि छ । २०औं पटक प्रिमियर लिग जित्न लिभरपुलललाई अब ११ अंक भए पुग्नेछ ।
उता लिभरपुललाई हराएपछि फुलहमको युरोपियन प्रतियोगितामा छनोट हुने सम्भावना कायम छ । फुलहम ३१ खेलबाट ४८ अंक जोडेर आठौं स्थानमा उक्लेको छ । चौथो स्थानको चेल्सी भन्दा फुलहम ५ अंकले मात्र पछि छ ।
आइतबारै भएको खेलमा चेल्सी ब्रेन्टफोर्डसँग गोलरहित बराबरीमा रोकिएको थियो । चेल्सीको ३१ खेलबाट ५२ अंक छ ।
प्रिमियर लिगकै अर्को खेलमा टोटनहमले साउथह्याम्पटनलाई ३-१ ले हरायो ।
प्रतिक्रिया 4