+
+
Shares

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान बन्द : महानिर्देशक अधिकारीलाई कारबाहीको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २५ गते १३:०३

२५ चैत, बुटवल । भैरहवाको गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान बन्द भएपछि रुपन्देहीका दुई दर्जन बढी व्यवसायीक संस्थाहरुको नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई कारवाही गर्न माग गरेको छ ।

अप्रिल १ देखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान रोकिएको छ । मार्च २९ अर्थात गत चैत १६ गते सम्म केही चहलपहल रहेको विमानस्थलमा त्यसयता सुनसान छ ।

महानिर्देशक अधिकारीले पटकपटक दिएका नकारात्मक र आपत्तिजनक अभिव्यक्तिले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउन नसकेको भन्दै सञ्जालले कारवाहीको माग गरेको हो । भैरहवामै केही महिना अघि आयोजित एक कार्यक्रममै अधिकारीले गौतमबुद्ध विमानस्थल चल्न नसक्ने आशयको अभिव्यक्ति दिएका थिए । विदेशी एयरलाइन्स कम्पनीहरूले उडानलाई निरन्तरता नदिँदा लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीहरू निराश भएका छन् ।

रुपन्देहीका दुई दर्जन बढी व्यवसायीक संस्थाहरुको समूह सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवाली र वरिष्ठ उपाध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले प्रेस विज्ञप्ती जारी गर्दै रुपन्देही जिल्लामा रहेका उद्योगी-व्यवसायी, पर्यटन व्यवसायीले अधिकारीले पटकपटक दिएका नकारात्मक अभिव्यक्तिकै कारण उडान बन्द हुन पुगेको भन्दै आपत्ति र भत्र्सना गर्दै यथाशिघ्र उनलाई कारबाहीको माग गरेका छ् ।

गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित सुचारु गर्न पनि सञ्जालको माग छ । अन्यथा शान्तिपूर्ण आन्दोलनमा जान बाध्य हुने अध्यक्ष ज्ञवालीले बताए ।

नागरिकले तिरेको करको अर्बौं लगानीमा निर्माण भएको विमानस्थल पूर्ण क्षमतामा नचल्दा विमानस्थल लक्षित गरी निजी क्षेत्रले गरेको झण्डै एक खर्ब लगानी संकटमा परेको हुंदा अन्तर्राष्ट्रिय उडान नियमित गर्नुपर्ने उनले माग गरे ।

‘प्रधानमन्त्री, पर्यटनमन्त्री, मुख्यमन्त्रीलाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझायौं,उहाँरुले जसरी पनि नियमित अन्तर्राष्ट्रिय उडान हुने आश्वासन दिनुभयो तर, व्यवहारमा कार्यान्वयन हुन सकेन’, ज्ञवालीले भने, ‘यसका पछाडि के स्वार्थ छ त्यो पनि खोजविन हुनुपर्छ,काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मर्मतको काम भइरहेको बेला मात्र अन्तर्राष्ट्रिय उडान गरेजस्तो देखियो ।’

यहाँबाट नेपाल एयरलाइन्सको विमान बाहेक अन्य अन्तर्राष्ट्रिय उडान हप्तामा एक दिन मात्र हुनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टा सञ्चालन भएपछि भैरहवाबाट उडान बन्द हुनु संयोग मात्र नभएको उनीहरुको भनाई छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार जजिरा एयरलाइन्स, फ्लाई दुबई र थाइ एयर एसियाले ‘समर शेड्युल’ तय नगरेका कारण उडान बन्द भएको हो । जजिरा एयरलाइन्सले मे महिनाबाट उडान सुरु गर्ने आश्वासन दिएको उनले बताए ।

विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनु सरकारी उदासिनता भएको र भैरहवालाई ‘डाइभर्सन पुल’ को रूपमा प्रयोग भएको आरोप यहाँका व्यवसायीले लगाएका छन् ।

सरकारले विमानस्थलमा आवश्यक सरकारी कार्यालयहरु स्थापना नगरेको, समयमै विमान कम्पनीहरूलाई छुट सुविधा नदिएको र काठमाडौंका व्यवसायीहरूले भैरहवाबाट उडान हुन नदिन अनेक प्रपञ्च रहेको आरोप पनि यहांका व्यवसायीले लगाएका छन् ।

तथ्याङ्क अनुसार, जनवरी, फरवरी र मार्च महिनामा भैरहवा विमानस्थलबाट १५,१४८ यात्रुले सेवा लिएका छन् । यसमा ८,०३९ आगमन र ७,१०९ उडान गरिएको छ । मार्च महिनामा जजिरा एयरलाइन्स र फ्लाई दुबईले सबैभन्दा बढी यात्रु बोकेका छन् ।

सिद्धार्थ सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल सञ्चालन नहुँदा होटल तथा पर्यटन क्षेत्रमा भएको करिब एक खर्ब लगानी डुब्ने अवस्थामा पुगेको बताए ।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले कम्तीमा पनि नारायणगढ पश्चिमका नागरिकले भैरहवा विमानस्थल प्रयोग गर्ने गरी निर्णय हुन सके श्रम, स्वास्थ्य, मेनपावर लगायत कार्यालय स्वतः आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?