+
+
Shares

कसलाई चाहिन्छ ‘डाइटरी सप्लिमेन्ट’, कसले खानुपर्दैन ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८१ चैत २५ गते २२:०५

नेपालबाट रोजगार तथा पढाइका लागि विदेश जाने छोराछोरीहरूले स्वदेश फर्किँदा आमाबुबा तथा आफन्तलाई कोसेलीका रुपमा आहार पूरक अर्थात् डाइटरी सप्लिमेन्टहरू ल्याउन थाले ।  प्रायगरी माछाको तेल, क्याल्सियम, एन्टिअक्सिडेन्ट क्याप्सुल, प्रोटिन पाउडर लगायत ल्याउने गर्दा नेपालमा सप्लिमेन्टको प्रयोग सुरुभयो ।

विदेशबाट फर्कँदा यस खालका कोसेली ल्याउने चलन अहिले पनि छ । तर, हाल नेपालमै ५ हजार भन्दा बढी प्रकारका डाइटरी सप्लिमेन्ट विक्री हुने गरेको यस क्षेत्रका व्यवसायी बताउँछन्।

सप्लिमेन्ट भन्नाले मुखबाट सेवन गरिने खाद्यपदार्थ नै हो, जुन हामीले दैनिक खाने खानाबाटै पनि प्राप्त गरिरहेका हुन्छौँ । दैनिक खाने खानाबाट शरीरलाई आवश्यक पोषणको मात्रा नपुग्ने अवस्थामा परिपूरकका रुपमा सप्लिमेन्ट खानुपर्ने हुन्छ ।

पूरकहरू लिने वा नलिने कुनै पनि व्यक्तिको व्यक्तिगत स्वास्थ्य र आवश्यकताहरूमा निर्भर हुने विशेषज्ञ पोषणविद् भुपाल बानिया बताउँछन् ।

‘डाइटरी सप्लिमेन्ट भन्नाले दैनिक खानपानमा थप पोषक तत्त्वहरूको पूर्तिका लागि प्रयोग हुने खाद्यपदार्थ हुन्’ बानिया भन्छन्, ‘कार्बोहाइड्रेट, चिल्लो पदार्थ, फ्याट्टी एसिड, भिटामिन, खनिज तत्त्व वा खनिज मिश्रित प्रोटिन, एमिनो एसिड वा इन्जाइम पर्छन्।’

कसलाई आवश्यक ?

पोषणविद् बानियाका अनुसार सप्लिमेन्ट खाने अवधारणाको विकास नै खाद्यपदार्थबाट अपुग हुने पोषक तत्त्वहरूको कमी र त्यसबाट आइपर्ने जटिलतालाई टार्ने भन्ने देखिन्छ । त्यसैले बिरामी भएर लामो समय थलिएका व्यक्ति वा खानामा पोषक तत्त्वको कमी भएका व्यक्तिलाई सप्लिमेन्ट दिइन्छ । यस्ता सप्लिमेन्ट सधैँभरि खानुपर्दैन, निश्चित अवधिसम्म मात्र खाए पुग्छ।

डाइटिसियन वा चिकित्सकको निगरानीमा आइसीयूमा रहेका गम्भीर बिरामीलाई पनि विभिन्न सूक्ष्म पोषक तत्त्वहरू भएका पूरक खाना दिन सकिने उनले बताए ।

यदि दैनिक खानामा स्वस्थ खाद्य पदार्थ प्रयोग गर्ने हो भने फुड सप्लिमेन्ट आवश्यक पर्दैन । तर गर्भवती, स्तनपान गराउने महिला, ५० वर्ष भन्दा बढी उमेरका व्यक्ति, कुनै स्वास्थ्य समस्याका कारण कमजोर भएका व्यक्ति, शाकाहारी, पाँच वर्ष भन्दा कम उमेरका बालबालिका, घाममा बस्न नपाउने व्यक्तिलाई सप्लिमेन्टको आवश्यक पर्न सक्ने पोषणविद् आयुष अधिकारी बताउँछन् ।

कसलाई आवश्यक पर्दैन ?

एक स्वस्थ व्यक्तिले सप्लिमेन्ट खाइराख्नु पर्दैन । भिटामिन, मिनरल्स लगायत आवश्यक सबै पोषक तत्त्व स्वास्थ्यकर खानपानबाट प्राप्त गर्न सकिने पोषणविद् बानियाले बताए।

सन्तुलित आहारको सप्लिमेन्टसँग तुलना गर्न मिल्दैन । किनभने पौष्टिक आहारले शरीरलाई आवश्यक तत्त्व पूरा गर्न मद्दत गर्छ । तर सप्लिमेन्टले लक्षित समस्या समाधान गर्छ। सन्तुलन मिलाएर नखाए साइड–इफेक्ट पनि गर्न सक्ने बानिया बताउँछन् ।

चिकित्सक तथा डाइटिसियनको सल्लाह अनिवार्य

सप्लिमेन्ट खानुअघि चिकित्सक तथा पोषणविद्को परामर्श लिनु जरुरी छ । कुनै पनि प्रकारको सप्लिमेन्ट आफूखुसी किनेर खानु हुँदैन । आफूखुसी किनेर खाँदा शरीरलाई आवश्यकभन्दा बढी भएर विभिन्न अंगमा जम्मा भएर प्रतिकूल अवस्था निम्त्याउन सक्ने पोषणविद् आरेम कार्की बताउँछन् ।

कुनै पनि सप्लिमेन्ट खान सुरु गर्नुअघि शरीरमा त्यसको मात्रा कति छ भनेर परीक्षण गर्नुपर्छ । यदि शरीरमा त्यसको कमी छ भने मात्र खान सुरु गर्नुपर्छ । शरीरमा कमी भएको पोषक तत्त्वलाई खानाले पूरा गर्न नसकेको खण्डमा पनि चिकित्सकको सल्लाह लिएर मात्र सप्लिमेन्ट किन्नु उचित हुने कार्कीको भनाइ छ ।

चिकित्सक तथा डाइटिसियनले सिफारिस गरेको भन्दा बाहेकका सप्लिमेन्ट किनेर खान नहुने कार्कीले बताए ।

औषधि होइन

यो हेर्दा औषधि जस्तै देखिने गरी ट्याब्लेट, क्याप्सुल, झोलको स्वरूपमा निर्माण गरिएको हुन्छ । यस कारण डाइटरी सप्लिमेन्टलाई औषधिकै रुपमा बुझ्ने र प्रयोग गर्ने गरेको देखिन्छ । तर, यसलाई औषधि भन्दा खाद्य पदार्थका रुपमा बुझ्नुपर्ने पोषणविद् बानिया बताउँछन् ।

नेपाली बजारमा यसको विक्रिवितरण तथा प्रयोग व्यवस्थित हुन नसकेको र गुणस्तर र स्वच्छतामा समेत समस्या रहेको बानियाको भनाइ छ ।

हालै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आहारपूरक खाद्यपदार्थ (डाइटरी सप्लिमेन्ट) नियमन कार्यविधि, २०७२ कार्यान्वयनमा ल्याएको छ । र, आगामी दिनमा बजारमा नियमन हुने आशा गर्न सकिन्छ ।

औषधि पसलमा आहारपूरकका रुपमा रहेको खाद्यपदार्थ विक्री भइरहेको विषयमा खाद्य तथा गुण नियन्त्रण कार्यालयले असहमति जनाउँदै आएको छ । तर, पोषणविदहरू अस्पतालमा नै हुने र उनीहरूले नै आहार पूरक खान सिफारिस गर्ने भएकाले आहारपूरक अस्पतालको फार्मेसीमा बेच्न दिनुपर्ने बानिया तर्क बानियाको छ।

जथाभाबी प्रयोग गर्दा साइडइफेक्ट

भिटामिन डीको अत्याधिक प्रयोग मिर्गौलाका लागि हानिकारक हुन्छ । चिकित्सकको सल्लाहबिना लिएका यस्ता भिटामिनले शरीरमा नकारात्मक असर पुर्‍याउन सक्छ । त्यसैले प्रयोग गर्नुअघि पोषणविद् तथा चिकित्सकको सल्लाह लिनुपर्ने पोषणविद् अधिकारीले बताए ।

‘पौष्टिक पूरकहरूले मिर्गौला, आँखा, मस्तिष्क र छाला जस्ता अत्यावश्यक अङ्गहरूलाई हानि पुर्‍याउन सक्छ’ अधिकारी भन्छन्, ‘भिटामिन सीको अधिक सेवनले एसीडीटी र ग्यास्ट्राइटिस निम्त्याउन सक्छ । जिङ्क, सेलेनियम र म्याग्नेसियमको अत्याधिक सेवनले पनि मिर्गौलामा हानि पुर्‍याउन सक्छ । यसबाहेक क्याल्सियमको अत्याधिक सेवनले पनि मिर्गौलामा पत्थरी हुन सक्छ ।’

जथाभाबी प्रयोग गर्दा डायटरी सप्लिमेन्टहरू स्वास्थ्यका लागि लाभदायक हुनुको साट्टा हानिकारक हुनसक्ने कुरामा सचेत रहन अधिकारीको सुझाव छ । ‘अनावश्यक सप्लिमेन्ट खानुको सट्टा ताजा फलफूल र तरकारीसहितका सन्तुलित आहारले पोषणको आवश्यकता परिपूर्ति गर्न सकिन्छ’ अधिकारी भन्छन्।

नियमनको अवस्था र चुनौति

नेपालमा डाइटरी सप्लिमेन्टको व्यापार अन्योलमै छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य ऐन, २०२३ को मातहतमा बनेको आहारपूरक खाद्यपदार्थ नियमन कार्यविधि, २०७२ अन्तर्गत रहेर यो आयत तथा विक्रि हुँदै आएको छ । तर, पछिल्लो समय आहारपूरक खाद्य विशेष गरी भिटामिनजन्य पदार्थहरूमा यी दुई विभागबीच नै हानथापको अवस्था आउँदा नियमन झनै फितलो भएको देखिन्छ ।

आहारपूरक खाद्यपदार्थ नियमन कार्यविधिले यस्ता खाद्यपदार्थको दर्ता अनुमति, नवीकरण, बजार अनुगमन, गुण नियन्त्रणलगायत कार्यको जिम्मा खाद्य प्रविधिलाई नै दिएको छ ।
पछिल्लो समय खाद्य प्रविधिले भिटामिनजन्य आहारपूरक खाद्यपदार्थको उत्पादन र आयात अनुमति दिने तर नियमन नगर्ने गर्नाले त्यसको गुणस्तरबारे ढुक्क हुन सक्ने अवस्था भने नभएको अधिकारीले बताए ।

लेखक
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?