
काठमाडौं । प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’ अहिले हलमा चलिरहेको छ । जातीय समानताको कथा पेश गर्ने यो फिल्म गायक समेत रहेका सपुतको डेब्यु फिल्म हो ।
दर्शकलाई फिल्मले कास्टिङले आश्चर्य पनि तुल्याएको छ । यसअघि प्रचारप्रसारमा लुकाइएका कलाकारलाई दर्शकले फिल्मभित्र हेर्न सक्छन् । रिलिजपछि मात्र दर्शकसामु निर्माताले यसबारे जानकारी दिएका छन् ।
फिल्ममा अघिल्लो र पछिल्लो पुस्ताका कलाकारलाई दर्शकले हेर्न पाउनेछन् । जसमा राजेश हमालदेखि पछिल्लो पुस्ताका नाजिर हुसेनसम्म छन् । हमाल र हुसेनसहित दिलिप रायमाझी, निश्चल बस्नेत, करिश्मा मानन्धर, केकी अधिकारी, प्रियंका कार्की, सुरक्षा पन्तलाई पनि ‘वसन्त’मा हेर्न सकिन्छ ।
गायन क्षेत्रका चर्चित कलाकार पनि यसमा देखिएका छन् । गायिका शान्तिश्री परियार, मोडल अञ्जली अधिकारी पनि फिल्ममा समेटिएका छन् । यी कलाकारलाई प्रचारप्रसारमा लुकाइएको थियो । दर्शकले यी कलाकारको दृश्य खिचेर टिकटक र रिल्समा समेत सेयर गरिरहेका छन् ।
कलाकारमाझ चर्चित प्रकाश सपुतको यो फिल्ममा घरेलु फिल्म र संगीतका ठूला नामको सहभागिता आफैमा उत्साहजनक कुरा हो । हुन त यसअघि पनि केही मेकरले सबै कलाकारलाई यसरी क्यामियो भूमिकामा नखेलाएका होइनन् । यसपटक सपुतले त्यही शैलीलाई पछ्याएको देखिन्छ ।
शुक्रबारदेखि प्रदर्शनमा आएको ‘वसन्त’मा निर्देशक सपुतले आफ्नो निजी अनुभव र भोगाइलाई कथाको रुप दिएका छन् । यो फिल्ममा सपुतसहित स्वस्तिमा खड्का, खड्गबहादुर पुन, प्रभातपाल ठकुरी, श्री शिभांसी, उर्मिला लाम्गादे, अनुप बराल, प्रकाश घिमिरे लगायत कलाकारको अभिनय छ ।
मोहन विश्वकर्मा र बिन्दु बोहोरा निर्माता तथा कार्यकारी निर्मातामा बिरेन्द्रनारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली छन् ।
प्रतिक्रिया 4