+

क्यान्सर जस्तो रोगबाट बचाउने ‘एन्टिअक्सिडेन्ट’ के हो, कुन-कुन खानामा पाइन्छ ?

२०८१ चैत  २५ गते १६:२४ २०८१ चैत २५ गते १६:२४
क्यान्सर जस्तो रोगबाट बचाउने ‘एन्टिअक्सिडेन्ट’ के हो, कुन-कुन खानामा पाइन्छ ?

‘एन्टिअक्सिडेन्ट’ एक प्रकारको रासायनिक यौगिक हो, जसले हाम्रो शरीरका कोशिकाहरूलाई ‘फ्री र्‍याडिकल्स’ नामक हानिकारक अणुहरूबाट जोगाउँछ। फ्री र्‍याडिकल्स अक्सिजनसँग सम्बन्धित अस्थिर अणुहरू हुन्, जुन शरीरमा मेटाबोलिज्म (खानालाई ऊर्जामा परिणत गर्ने प्रक्रिया) का क्रममा उत्पादन हुन्छन्।

यी फ्री र्‍याडिकल्सले कोशिकाको डीएनए, प्रोटिन र लिपिडलाई क्षति पुर्‍याउन सक्छन्, जसलाई अक्सिडेटिभ तनाव (स्ट्रेस) भनिन्छ। एन्टिअक्सिडेन्टले यी फ्री र्‍याडिकल्सलाई निष्क्रिय बनाएर वा तिनको उत्पादनलाई रोकेर कोशिकालाई सुरक्षित राख्छ। भिटामिन सी, भिटामिन ई, बीटा-क्यारोटिन, सेलेनियम र फ्लेभोनोइड्स जस्ता पदार्थहरू एन्टिअक्सिडेन्टका उदाहरण हुन्।

हाम्रो शरीरलाई एन्टिअक्सिडेन्ट किन चाहिन्छ ?

शरीरमा फ्री र्‍याडिकल्सको मात्रा बढ्दा अक्सिडेटिभ तनाव हुन्छ, जसले विभिन्न रोगहरू जस्तै मुटु रोग, क्यान्सर, मधुमेह, अल्जाइमर जस्ता रोग निम्त्याउँन भूमिका खेल्छ। एन्टिअक्सिडेन्टले यी फ्री र्‍याडिकल्ससँग लडेर कोशिकाको क्षतिलाई कम गर्छ र रोगसँग लड्ने क्षमता बढाउँछ।

जस्तो-: भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ भने भिटामिन ईले छाला र कोशिकाको झिल्लीलाई जोगाउँछ। साथै, बाहिरी वातावरणबाट आउने प्रदूषण, धूम्रपान र अल्ट्राभायोलेट किरणहरूले पनि फ्री र्‍याडिकल्स बढाउँछन्, जसलाई एन्टिअक्सिडेन्टले नियन्त्रण गर्छ। त्यसैले, हाम्रो शरीरलाई यो चाहिन्छ ।

कति चाहिन्छ ?

व्यक्तिको उमेर, लिङ्ग, स्वास्थ्य अवस्था र जीवनशैलीमा निर्भर गर्छ। विश्व स्वास्थ्य संगठन र अन्य स्वास्थ्य संस्थाहरूले यसको सिफारिस गरेका छन्

एक दिनमा कति चाहिन्छ त ?

भिटामिन सी : वयस्क पुरुषलाई ९० मिलिग्राम र महिलालाई ७५ मिलिग्राम। गर्भवती वा धूम्रपान गर्नेहरूलाई बढी चाहिन्छ।

भिटामिन ई : वयस्कलाई १५ मिलिग्राम

सेलेनियम : ५५ माइक्रोग्राम

बीटा-क्यारोटिन : पुरुषका लागि ९०० माइक्रोग्राम र महिलाका लागि ७०० माइक्रोग्राम ।

यी मात्राहरू सामान्य सुझाव हुन्, तर यदि कोही व्यक्ति प्रदूषित वातावरणमा बस्छ वा तनावमा छ भने, थप एन्टिअक्सिडेन्ट आवश्यक पर्नसक्छ।यसको पूर्तिका लागि अत्याधिक मात्रामा सप्लिमेन्ट लिनु भने स्वास्थ्यका लागि हानिकारक हुनसक्छ, त्यसैले प्राकृतिक स्रोतबाट लिनु उचित हुन्छ ।

कस्ता खानामा पाइन्छ एन्टिअक्सिडेन्ट ?

एन्टिअक्सिडेन्ट मुख्य रूपमा प्राकृतिक खाद्य पदार्थहरूबाट प्राप्त हुन्छन्। यसका स्रोतलाई दुई भागमा बाँड्न सकिन्छ

फलफूल र तरकारीहरू एन्टिअक्सिडेन्टका सबैभन्दा ठूला स्रोत हुन्। भिटामिन सी पाइने फलहरू सुन्तला, कागती, अमला आदि यसमा पर्छन् ।

भिटामिन ई पाइने हरिया सागपात, गाँजर र फर्सीमा आदि ।

अन्य खाद्य पदार्थमा नट्स, बीउ, समुद्री खाना, गेडागुडी, र पूर्ण अन्नमा पनि विभिन्न एन्टिअक्सिडेन्ट हुन्छन्।

स्ट्रबेरी, ऐँसेलु, किम्बु, जस्ता फलमा पनि एन्टिअक्सिडेन्ट पाइन्छ ।

यसबाहेक ग्रीन टी, रेड वाइनमा पोलिफेनोल्स र फ्लेभोनोइड्स जस्ता एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा हुन्छन्। तर यी भन्दा प्राकृतिक खानाबाट लिनु स्वास्थ्यका लागि बढी लाभदायक मानिन्छ।

एन्टिअक्सिडेन्ट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय