+
+
Shares

सुनको भाउ १ लाखमा झर्दैछ ?

सुनको भाउ घट्नुमा ठोस आधार नरहेकाले केही दिनमै यो गिरावट अन्त्य हुने अनुमान छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २५ गते १७:४७

२५ चैत, काठमाडौं । पछिल्ला केही दिन सुनको भाउ निरन्तर ओरालो लागिरहेको छ । अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि भाउ घट्दै गएको हो ।

गत शुक्रबार तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँ रहेको सुन आज १ लाख ७३ हजार ८ सयमा झरेको छ । त्यस्तै अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रतिऔंस ३ हजार १ सय ६५ अमेरिकी डलरसम्म पुगेको सुन सोमबार ३ हजार हाराहारीमा झरेको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजार र शुक्रबार नेपालमा हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको सुन लगातार झर्न थालेको छ । सुनको भाउ घट्नुमा ठोस आधार नरहेकाले केही दिनमै यो गिरावट अन्त्य हुने अनुमान छ ।

विश्वका ठूला स्टक मार्केट केही महिनादेखि नै ओरालोमा रहेकाले तिनको घाटा पूर्तिका लागि सुनको बिक्री बढेको अनुमान छ ।

एक वर्षमा सुनको भाउमा उच्च वृद्धि देखिएकाले अहिले सुनबाटै नाफा लिएर नगदमा रूपान्तरण गर्ने वा अरू सम्पत्तिको नोक्सानी ‘कभर’ गर्नका लागि ठूला संस्थागत लगानीकर्ताले सुनको बिक्री बढाएको अनुमान छ ।

अर्कातर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्धारण गरेको अतिरिक्त करमा सुनसहित बहुमूल्य धातु अलग गरिएको छ । पहिले नै सुनसहित बहुमूल्य धातुलाई पनि कर नीतिले प्रभाव पार्ने अनुमान सहित बजारमा खरिद बढेको थियो, तर ट्रम्प नीतिले सुनसहित धातुलाई अलग गरेपछि अहिले नाफा बुक भएको अनुमान छ ।

‘ट्रम्पको पारस्परिक करबाट बहुमूल्य धातु अलग्याएपछि बिक्री बढेको छ,’ कोटक सेक्युरिटिजका सहायक उपाध्यक्ष तथा कमोडिटी रिसर्च प्रमुख कायनात चेनवालाले भने ।

एक वर्षदेखि नै सुनको भाउले राम्रो वृद्धिदर समातेको थियो । यो वृद्धिले मुद्रास्फीति र आर्थिक मन्दीको चिन्ता थपिएको थियो । त्यसैले पछिल्ला दिनमा बिक्री चाप बढेको छ ।

‘सुन बजारमा पनि धेरै भ्रम र अनिश्चितता छन्, अस्थिर र अनिश्चित बजारबीच लगानी सुरक्षित गर्ने वा नाफा बुक गर्ने क्रम चल्नु स्वाभाविक र जरुरी पनि छ,’ आईजी ग्रुपका बजार रणनीतिकार येप जुन रोङले सीएनबीसीलाई भने ।

विश्वका स्टक मार्केट ओरालो लागेसँगै थप मन्दी बढ्ने अनुमानपछि लगानीकर्ता नगदमा बस्न रुचाएको देखिएको छ । अमेरिकाले अन्य देशबाट आयातित वस्तुमा अतिरिक्त कर लगाउनु र अन्य मुलुकले पनि सोहीअनुसार अमेरिकी सामान आयातमा कर लगाएसँगै विश्वमा आर्थिक मन्दी आउने अनुमानले लगानीकर्तामा त्रास बढेको छ ।

यस्तो मन्दीको डर हुँदा सामान्यतः सुनमा आकर्षण बढ्ने र त्यसले मूल्य बढ्नुपर्ने हो । तर, यतिबेला सुनको भाउ धेरै नै माथि पुगिसकेकाले यसमा पनि नाफा बुकको क्रम चलेको हो ।

अर्कातिर, विश्वका ठूला स्टक मार्केट केही महिनादेखि ओरालो लागेपछि त्यसको नोक्सानी समेत सुनबाटै भर्नतिर लगानीकर्ता लागेको अनुमान छ ।

‘३८ प्रतिशत घट्ने अनुमान हावादारी’

अमेरिकास्थित मर्निङस्टारका रणनीतिकार जोन मिल्सले सुनको मूल्य हालको उच्चतम बिन्दु प्रतिऔंस ३ हजार बढी रहेकोमा ३८ प्रतिशतसम्म झर्न सक्ने अनुमान गरेका छन् । उनको अनुमान मिल्न गए प्रतिऔंस १ हजार ८ सय २० डलर हाराहारी हुनेछ ।

‘सुनको भाउले लामो वृद्धिदर समात्नुमा विभिन्न डर कारक थिए,’ मिल्सले भने, ‘तर, अब मूल्यवृद्धिको अपेक्षा कम हुँदै जानु र व्यापार सामान्यीकरणको सम्भावनासँगै सुनको भाउ पुरानै बिन्दुतिर झर्न सक्छ ।’

उनको यही अनुमानलाई लिएर नेपाल सहित अन्य देशमा समाचार बनाइए । उनको अनुमान अनुसार नेपाली बजारमा सुनको भाउ १ लाख ११ हजारसम्म झर्न सक्ने छ । यसैलाई लिएर सुनको भाउ १ लाखमा झर्ने भन्दै शीर्षक तानिए ।

तर, यो कुनै हावादारी अनुमान रहेको भन्दै चौतर्फी खण्डन भइरहेको छ । अमेरिकाले थालेको व्यापार युद्ध र त्यसपछिको सम्भावित परिणामलाई मिल्सले पूरै बेवास्ता गरेका छन् ।

उनले मूल्यवृद्धिको अपेक्षा कम भएको बताइरहँदा मूल्यवृद्धि झन् बढ्ने संकेत देखिएको छ । अमेरिका र अन्य देशले एकअर्कालाई कर बढाएपछि स्वतः मुद्रास्फीतिमा दबाब पर्ने अमेरिकी केन्द्रीय बैंक ‘फेड’ का अध्यक्ष जेरोम पावेलले नै स्वीकारेका छन् ।

पावेलले भनेका छन् ‘अतिरिक्त कर अनुमानभन्दा बढी नै हो, यसले तत्कालै मुद्रास्फीतिको जोखिम बढाएको छ ।’

मूल्यवृद्धिको जोखिम हुँदा फेडले समेत ब्याजदर कटौतीको क्रम रोक्ने सम्भावना बढेको छ ।

मेहता इक्विटजका उपाध्यक्ष राहुल कलन्त्रीले सुनको प्रमुख समर्थन मूल्य प्रतिऔंस २ हजार ९ सय ७८ डलरदेखि ३ हजारसम्म रहेको औंल्याएका छन् । त्योभन्दा तलको समर्थन मूल्य अनुमान गर्नुपर्ने बेला नभएको उनले बताए ।

उनको प्राविधिक अनुमानलाई आधार मान्दा सुनको भाउ अब धेरै घट्ने छैन । सोमबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३ हजार ३० डलर हाराहारीमा कारोबार भइरहेको छ । यस दिन कारोबार क्रममा सुनको भाउ प्रतिऔंस २ हजार ९ सय ७८ मा सम्हालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?