+
+
Shares

जब बालिकाहरू घरभित्रै बलात्कृत हुन्छन्

‘घरमा काका, मामा, तिनका छोरा वा अन्य कुनै पुरुष छन् भने बालिका र किशोरीलाई उनीहरूबाट हुनसक्ने यौन दुर्व्यवहार बारे सचेत गराउनै पर्छ’ मानसिक रोग विशेषज्ञ डा. विश्ववन्धु शर्मा भन्छन्, ‘यस्ता समस्याहरू समाजमा देखिएका छन् ।’

अरुणा उप्रेती अरुणा उप्रेती
२०८१ चैत २६ गते ७:३४

दुई वर्षअघि काठमाडौं नजिकैको जिल्लाबाट खबर आयो– ‘१२ वर्षकी किशोरीलाई उनको ठूलो बुबाले बलात्कार गरे ।’ ती किशोरीको बुबा थिएनन् । आमा र छोरी ठूलो बुबाको घरमा बस्थे ।

ठूलो बुबाले बलात्कार गर्ला भन्ने बालिकाले सोचेकी पनि थिइनन् । ठूलो बुबाले अँगालो हालेर म्वाइँ खाँदा उनी खुशी नै हुन्थिन् । तर एक दिन घरमा कोही नभएको बेला त्यसरी नै अँगालो मार्दामार्दै बालिकालाई बलात्कार गरे ।

आमाले थाहा पाइन् र पुलिसमा खबर गरिन् । तर ती किशोरी त मानसिक रोगी जस्तै भइन् । त्यो थाहा पाएर हामीले उनलाई ‘अन्तरदृष्टि’ नामक संस्था काठमाडौंमा ल्यायौं । परामर्श दिएर मानसिक र शारीरिक उपचार गरेपछि उनी अहिले पढ्दै छिन् । ठूलो बुबा जेलमा छन् । यस्तो स्थिति नेपाली समाजमा अति धेरै नभए पनि हुँदै नहुने भन्ने होइन ।

‘घरमा काका, मामा, काकाका छोराहरू वा अन्य कुनै पुरुषहरू छन् भने बालिका र किशोरीहरूलाई उनीहरूबाट हुनसक्ने यौन दुर्व्यवहारको बारेमा सचेत गराउनै पर्छ’ मानसिक रोग विशेषज्ञ डा. विश्ववन्धु शर्मा भन्छन्, ‘स्कूलमा शिक्षकहरूले, घरमा बुवा वा दाजुका साथीहरू वा काकाहरूबाट यौन दुर्व्यवहार हुँदा कति जना बालिका र किशोरीहरूले डराएर आमा वा बज्यैलाई भन्दैनन् ।’

डा. शर्माका भनाइमा प्रायः हाम्रो समाजमा घरमा मानिसहरूले दिदीबहिनी वा भतिजीलाई यौन दुर्व्यवहार गर्दैनन् । उनीहरूको बीचमा पवित्र सम्बन्ध हुन्छ भन्ने भावना पाइन्छ तर यस्ता समस्याहरू बारम्बार समाजमा देखिएका छन् र बेइज्जत हुन्छ भन्ने डरले कसैले पनि यो विषय बाहिर ल्याउन पनि चाहँदैन ।

सबै घरमा यस्ता समस्या हुन्छन् भन्ने होइन तर बालिका र किशोरीहरूलाई रगतको नाताबाट पनि दुर्व्यवहार हुनसक्छ र यस्तो सम्बन्ध हुँदा कति चोटि किशोरीहरू गर्भवती भएर स्त्री रोग विशेषज्ञकहाँ आएका पनि छन् । र मेरो स्त्री रोगविज्ञ साथीहरूले यस्तो एक दारुण घटनाहरू बारे भनेकी थिइन् ।

घटना यस्तो थियो– ‘केही महिनाअघि मकहाँ १५ वर्षकी किशोरीलाई गर्भपतन गर्न ल्याइयो । उनको पाँच महिनाको गर्भ रहेछ । उनकी दिदीले ल्याएकी थिइन् । दिदीलाई बाहिर पठाएर मैले किशोरीसँग कुराकानी गरें । थाहा भयो कि उनको फुपूको श्रीमान्ले ती किशोरीलाई बलात्कार गर्दा रहेछन् । बाहिर हेर्दा फुपाजुले निकै माया गरेको देखाउने र घरका मानिसले पनि ‘ऊ त फुपा र फुपूको छोरी नै भई नि’ भन्दा रहेछन् ।

किशोरी ‘फुपाजुले मलाई बलात्कार गर्‍यो भनेर कसैलाई भने पनि विश्वास गर्ने छैनन्’ भन्ने डरले सहेर बसिन् । केही अघि उनको महिनावारी रोकियो तर ‘यो त भइनै रहन्छ बढ्दो उमेरमा’ भनेर आमाले भनेपछि उनी चुप लागिन् पछि उनको गर्भ रहेको कुरा आमा र दिदीलाई थाहा भयो ।

कुन सम्बन्ध कस्तो हो भनेर सरसल्लाह दिने र भ्रम परेको बेलामा शंका निवारण गर्ने ठाउँ भएमा कतिपय किशोरीहरूले आफ्ना समस्या केलाउन सक्छन् र घरका मानिसलाई भन्न सक्छन् । त्यसैले आमा, दिदी, बुवाहरू सजग भएर आफ्नी छोरी-बहिनीलाई यस्तो यौन दुराचारबाट बचाउन सहयोग गर्नुपर्दछ

ती किशोरीले रुँदै भनेकी थिइन् । तर उनले उल्टै गाली खाइन् । घरका व्यक्तिले आफ्नो इज्जत बचाउन कसैलाई खबर नगरेर उनको गर्भपतन गर्न ल्याएका रहेछन् । अनि मैले दिदीलाई बोलाएर यस्तो घटना त प्रहरीमा खबर गर्नुपर्ने भन्दा दिदीले ‘समाजमा इज्जत जाने र ती किशोरीको पनि जीवन बर्बाद हुने भएकोले प्रहरीलाई खबर नगर्ने र जसरी, भए पनि गर्भपतन गराइदिन’ आग्रह गरिन् र मैले गर्भपतन गरिदिएँ ।

काठमाडौंकी एक जना वरिष्ठ स्त्रीरोग विशेषज्ञले भनेकी थिइन्, ‘बालबालिका र किशोरीहरूलाई हातपात र बलात्कार हुने समस्या बढ्दै गएको छ । शायद पहिला पनि हुन्थे होलान् । तर ती कमै मात्र बाहिर आउँथे ।

कतिपय स्कूलमा प्रधानाध्यापक वा अध्यापकले घरमा पढ्न बोलाएर वा स्कूलमा बढी समय राखेर यौन दुर्व्यवहार गरेका, चुम्बन गरेको र बलात्कार गरेको घटनाहरू आइरहेका छन् । यसरी दुर्व्यवहार हुँदा किशोरीहरूको बानी–व्यवहारमा परिवर्तन हुने, उनीहरू चुप लागेर बस्ने, उनीहरूको पढाइको स्तर गिर्दै जाने हुन सक्छ ।

यसरी घरको परिवारका व्यक्तिबाट वा स्कूलमा दुर्व्यवहार हुँदा किन किशोरीहरूले भन्दैनन् भन्दा प्रमुख कुरा त ‘मलाई नै उत्ताउली भएकी, तैंले नै केही त्यस्तो काम गरिस् होलिस् र तँलाई त्यस्तो गरेको’ भन्छन् भन्ने डर । अथवा ‘त्यस्तो हुँदै नभएको कुरा पनि गर्ने हो भनेर उल्टै पिट्छन् वा झपार्छन्’ भन्ने भयले किशोरीहरू चुप लाग्छन् ।

साना बालबालिकालाई त उनीहरूलाई कसैले दुर्व्यवहार गरेको पनि थाहा हुँदैन । उनीहरूलाई चकलेट वा मिठो खानेकुरा दिएर ‘कसैलाई पनि केही नभन’ भनेपछि बालबालिकाहरू पनि चुप लाग्छन् । तर जब उनीहरूको बानी–व्यवहारमा परिवर्तन हुँदै जान्छ अनि घटना बाहिर आउँछ ।

कतिपय ठाउँमा त बालबालिकालाई स्याहार्न राखेका युवा र वयस्क पुरुषहरूले ७–८ वर्षका बालबालिकालाई पनि बलात्कार गरेका घटनाहरू देखिएका छन् । त्यसरी नै किशोरीहरूलाई आफ्नै उमेरका काकाका छोरा, मामा, दाजुभाइहरूले पनि माया गर्ने निहुँमा अँगालो मार्ने, गालामा म्वाइँ खाने यौन क्रियाकलापहरू गरेको पनि हुन सक्छ ।

यदि किशोरीहरूलाई पहिले नै यसको बारेमा ज्ञान भयो भने र घरका बाबु वा आमाले कसैले उनलाई ‘अभद्र व्यवहार गरेमा, उनको शरीरको कुनै पनि भाग छोएमा, चुम्बन गरेमा वा बलात्कार गर्न कोशिश गरेमा तुरुन्त कसैलाई आएर भनिहाल्नू’ भनी सिकाउनुपर्छ ।

साथै कडा स्वरमा ती व्यक्तिलाई ‘आफूलाई त्यस्तो व्यवहार मन नपर्ने’ कुरा जानकारी गराउनुपर्छ भनेर सिकाउनुपर्छ । बालिका र किशोरीहरूलाई सानैदेखि यस्तो कुराको ज्ञान गराइयो भने उनीहरू यदि आफूलाई यस्ता घटना भएमा घरका सदस्यलाई भन्नुपर्छ र उनलाई कसैले पनि गाली गर्ने छैन भन्ने आत्मविश्वास जागृत हुन्छ ।

मानसिक रोग विशेषज्ञ डा. विश्ववन्धु शर्माका भनाइमा, बालिकाहरू कलिलो अवस्थामा नै यौन दुराचारबाट पीडित हुँदा उनीहरू आफूलाई के भइरहेको छ भन्ने थाहा पाउँदैनन् । विस्तारै आफूलाई के भइरहेको छ भन्ने कुरा थाहा पाएपछि मानौं त्यही अवस्था ठिकै हो भनेर स्वीकार गर्दै जान्छन्

बालबालिकाहरू चाहिं कतिपय अवस्थामा आफूलाई के गरिरहेका छन् भन्ने कुरा नै बुझ्न नसक्ने भएकोले उनीहरूले शायद कसैले चिमोटेको, गालामा यौनको दृष्टिकोणले म्वाइँ खाएको आदि भन्न सक्दैनन् र त्यसैले बालिकाहरूलाई घरका ठूला व्यक्तिले चाहिं विशेष सुरक्षा दिनुपर्छ नै ।

यस्ता समस्याहरू शहरमा मात्रै होइन गाउँघरमा पनि हुन सक्छन् तर प्रमुख त घरका व्यक्तिहरूले घरमा र बाहिर हुने यस्ता दुर्घटना रोक्न र किशोरीहरूलाई भयरहित वातावरणमा आफ्नो कुरा राख्न प्रेरणा दिन सक्छन् र दिनुपर्छ । ‘यो कुरा त हाम्रो समाजमा वा घरमा हुनै सक्दैन । यो त अरूको समस्या हो’ भनेर कहिल्यै पनि सोच्नुहुन्न ।

१८ वर्षका एक किशोरले आफ्नी मामाकी छोरीलाई निकै माया गर्थे । एक दिन ती किशोरले फकाएर उनलाई भारत लैजान थालेछन् । हत्तनपत्त घरका मानिसहरूले खोजतलास गरेर ल्याए । तर उनले त ती किशोरसँग विवाह गर्न नपाए आत्महत्या गर्छु भनिछन् । प्रहरीमा यो काण्ड नपुगोस् भनेर सबै कुरा लुकाइछिपाइ गरिएको थियो ।

उनलाई घरमा ल्याएर सम्झाई–बुझाई गरियो । धार्मिक, सामाजिक, सांस्कृतिक दृष्टिकोणले यो सम्बन्ध हुन नसक्ने भनेर बुझाएपछि उनी विस्तारै साम्य भइन् । अनि स्कूल पास गर्ने वित्तिकै उनको विवाह भयो । अहिले उनी श्रीमान्सँग छिन् । बच्चा र परिवारसँग बसेकी उनी अहिले त्यो घटनाको बारे कुरा गर्न चाहन्नन् । उनको श्रीमान्लाई पनि यो कुरा थाहा छ ।

कुन सम्बन्ध कस्तो हो भनेर उनीहरूलाई सरसल्लाह दिने र भ्रम परेको बेलामा शंका निवारण गर्ने ठाउँ भएमा कतिपय किशोरीहरूले आफ्ना समस्या केलाउन सक्छन् र घरका मानिसलाई भन्न सक्छन् । त्यसैले आमा, दिदी, बुवाहरू सजग भएर आफ्नी छोरी-बहिनीलाई यस्तो यौन दुराचारबाट बचाउन सहयोग गर्नुपर्दछ । बालिका र किशोरीलाई ‘बलात्कार’ भएपछि जीवन नै ‘बर्बाद’ भयो भन्ने नसोचेर उनीहरूलाई नयाँ जीवन दिलाउने काममा लागेका केही संस्थामध्ये अन्तरदृष्टि पनि एक हो ।

मानसिक रोग विशेषज्ञ डा. विश्ववन्धु शर्माका भनाइमा, बालिकाहरू कलिलो अवस्थामा नै यौन दुराचारबाट पीडित हुँदा उनीहरू आफूलाई के भइरहेको छ भन्ने थाहा पाउँदैनन् । विस्तारै आफूलाई के भइरहेको छ भन्ने कुरा थाहा पाएपछि मानौं त्यही अवस्था ठिकै हो भनेर स्वीकार गर्दै जान्छन् ।

उनका भनाइमा, तर जब पछि ती किशोरीको आफ्नो सामाजिक जीवन शुरू हुन्छ तब उनलाई आफूलाई के भइरहेको छ भन्ने कुरा थाहा हुन्छ र आफूलाई कति नकारात्मक प्रभाव परेको छ भनेर पनि थाहा पाउँछिन् । मैले हेरेका कतिपय केसमा यस्तो अवस्थामा कुनै धनीको घरमा साथीको रूपमा राखिएको भान्जाले पनि बालबालिकालाई यौन दुराचार गरेको भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?