+
+
Shares

चीनले भन्यो- अमेरिकी ट्यारिफले आकाश खस्दैन

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते १०:३७

२६ चैत, काठमाडौं । ट्यारिफलाई लिएर अमेरिका र चीनबीच ट्रेड वारको सम्भावना बढेको छ ।

ट्रम्प दोस्रोपटक अमेरिकी सरकारको नेतृत्वमा आएपछि अप्रिल २ मा चीन, भारतसहित संसारका धेरै देशहरूबाट अमेरिका भित्रिने सामानमा अतिरिक्त आयात शुल्क (ट्यारिफ) घोषणा गरिएको थियो । त्यसको बदलामा चीनले पनि अमेरिकाबाट आयात हुने वस्तुमा ३४ प्रतिशतसम्म ट्यारिफ लगाउने निर्णय गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै यदि चीनले अमेरिकामाथि लगाइएको ३४ प्रतिशत ट्यारिफ फिर्ता नलिए उमाथि बुधबारदेखि थप ५० प्रतिशत ट्यारिफ लागू गर्ने चेतावनी दिएका थिए ।

यस विषयमा चीनले जवाफ फर्काउँदै अमेरिकाको ब्ल्याकमेलिङ प्रवृत्तिविरुद्ध अन्तिमसम्म लडिरहने जनाएको छ ।

चीनको प्रतिक्रिया : अमेरिकाको ट्यारिफले आकाश खस्दैन

ट्रम्पका पछिल्ला धम्कीहरुलाई चुनौती दिन चीनले सत्तारुढ कम्युनिष्ट पार्टीको प्रचारयन्त्र सक्रिय बनाएको छ । चीनको सरकारी पत्रिका पिपुल्स डेलीले ‘चीनसँग व्यवहार गर्ने सही तरिका दबाब र धम्की होइन’ शीर्षकमा समाचार टिप्पणी लेखेको छ ।

त्यसमा लेखिएको छ, ‘हामीमाथि लगाइएको ट्यारिफ बढाउने धम्की दिएर अमेरिका गल्तीमाथि गल्ती गरिरहेको छ । यस्तो धम्कीबाट अमेरिकाको ब्ल्याकमेलिङ प्रवृत्ति देखिएको छ, जसलाई चीन कहिल्यै स्वीकार गर्ने छैन । यदि अमेरिका आफ्नो मनपरीमै अडिग रहन्छ भने चीन पनि अन्तिमसम्म लड्नेछ ।’

साथै ट्रम्प प्रशासनले ट्यारिफलाई हतियारको रुपमा दुरुपयोग गरिरहेको आरोप लगाइएको छ । साथै ट्रम्पको व्यापार युद्धको प्रभावकारितामाथि पनि प्रश्न उठाउँदै लेखिएको छ, ‘अमेरिकाले एकतर्फी रुपमा चीनविरुद्ध व्यापार युद्ध सुरु गरेको एक वा दुई भन्दा बढी भइसक्यो । नतिजा के भयो ?’

लेखको ठहर छ, ‘चीनको वैदेशिक व्यापारले दबाबबीच पनि बलियो लचिलोपन देखाएको छ र चिनियाँ अर्थतन्त्रले सधैं विकास र प्रगति कायम राखेको छ । यसको विपरीत, अमेरिका न त व्यापार घाटा घटाउन सक्यो, न त उत्पादन फिर्ता ल्याउन । बरु आफ्नै कम्पनीहरू र उपभोक्ताहरूलाई नोक्सान पुगेको छ ।’

पिपुल्स डेलीमा प्रकाशित टिप्पणीमा अमेरिकी ट्यारिफले आकाश नखस्ने उल्लेख छ । उक्त लेखमा लेखिएको छ, ‘यदि ट्रेड वार भयो भने चीन पूर्ण रूपमा तयार छ र अझ बलियो भएर बाहिर निस्कने छ, अमेरिकी ट्यारिफको असर पक्कै हुनेछ, तर आकाश खस्दैन ।’

‘यदि ट्रेड वार भयो भने चीन पूर्ण रूपमा तयार छ र अझ बलियो भएर बाहिर निस्कनेछ,’ चीनको विदेश मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै विश्वका लागि ढोका खुला राख्ने जनाएको थियो । ‘विश्वकै दोस्रो ठूलो अर्थतन्त्र र उपभोक्ता बजारको हैसियतले चीनले अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तन आए पनि विश्वका लागि आफ्ना ढोका खुला राखिरहनेछ,’ मन्त्रालयले भनेको थियो ।

चीनका वाणिज्य मन्त्रालयका उपमन्त्री लिङ जीले आइतबार अमेरिकाबाट लगानी प्राप्त गर्ने २० कम्पनीका प्रतिनिधिहरूसँग भेट गरेका थिए । सो भेटमा लिङले चीनलाई लगानीको लागि एक ‘आदर्श, सुरक्षित र सम्भावनायुक्त गन्तव्य’ भएको बताएका थिए । भेटमा टेस्ला र जीई हेल्थकेयर जस्ता ठूला कम्पनीका प्रतिनिधिहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?