२०–२५ वर्षको अन्तराललाई मात्रै हेर्ने हो भने पनि नेपालीहरूमा सम्पन्नता धेरै आएको देखिन्छ । घर, बाटोघाटको अवस्था फेरिएको छ । गाउँमा बस्ने धेरैजना शहरमा बस्न थालेका छन् । सवारी साधनको संख्या धेरै बढेको छ । घरमा व्यक्ति पिच्छेका गाडी, बाइकहरू छन् ।
पहिला भन्दा मान्छेसँग खल्तीमा पैसा हुनथालेको छ । घुम्ने चलन बढेको छ । होटेलहरू धेरै खुलेका छन् । विदेश जाने चलन बढेको छ । हामीसँग केही सम्पन्नता आयो। ३–४ दशक पहिलाजस्तो लँगौटी मात्रै लगाएर हिँड्ने मान्छे अहिले भेटिँदैन। एक खालको समृद्धि आएको छ । मान्छेको जीवन, दैनिकी सहज भएको छ ।
सम्पन्नता र समृद्धि त आयो अनि यो सँगसँगै रोग पनि आयो । त्यही अनुसारको जीवनयापन हुनथाल्यो । आयातीत, प्रशोधित खानाहरू खान थाल्यौँ । पहिला हामी आफ्नै खेतबारीमा उत्पादन भएका ताजा खानेकुरा खान्थ्यौँ । अहिले सबै खानेकुरा बजारबाट किनेर खाइरहेका छौँ । प्रशोधित खाना बढी खाइरहेका छौँ, जुन गुणस्तरयुक्त र स्वस्थ छन् कि छैनन् भनेर जाँच गरिएका हुँदैनन् ।
हामी केटाकेटी हुँदा स्कुल आधा घण्टा जति हिँडेरै गइन्थ्यो । अझ मेरा साथीहरू त एक/डेढ घण्टासम्म हिँडेर स्कुल आउँथे । अहिले हाम्रा बच्चाबच्चीलाई घरको ढोकैबाट बसमा स्कुल पठाउँछौँ ।
हामी १०–१५ मिनेटमा हिँडेर पुग्ने ठाउँमा तरकारी किन्न पनि गाडी लिएर जान्छौँ । मेरो घरनजिकै मार्ट छ, जहाँ १५ मिनेट जतिमा हिँडेर पुगिन्छ तर म गाडी लिएर किनमेल गर्न जान्छु ।
पहिला–पहिला मान्छेहरू एक ठाउँबाट अर्को ठाउँमा हिँडेरै जान्थे, अहिले नजिकै जान पनि गाडी चढ्नैपर्छ भन्ने भएको छ । हामीले थाहा पाउँदा काठमाडौंमै पनि धेरै मान्छेहरू एक घण्टासम्मको दूरीमा हिँडेरै यात्रा गरिरहेका हुन्थे । त्यो अब छैन ।
सम्पन्नतासँगै हाम्रो जीवनशैलीमा आएको यस खालको परिवर्तनले हाम्रो शारीरिक व्यायमलाई खुम्च्यायो अनि हामीलाई रोगी बनायो । पहिला नियमित काम गर्दा नै शारीरिक परिश्रम भइरहेको हुन्थ्यो । त्यही खालको जीवनशैली अहिले पनि हुन्थ्यो भने, आधा घण्टा हौडिनुपर्छ, जिम जानुपर्छ, पसिना निस्किने गरी कसरत गर्नुपर्छ भन्ने जस्ता प्रसंग नै आउँदैन्थ्यो ।
कोही मान्छे कुनै शारीरिक श्रम नगरीकन लाउन, खान पाइरहेको छ भने उसको जीवन कति राम्रो छ, सुखी छ भन्ने बुझाइ समुदायमा छ । कडा शारीरिक परिश्रम गर्नेहरूलाई उपेक्षा गर्ने, उसले समाजमा सम्मान नपाउने गरेको हामीले देख्छौँ ।
समाजमा पनि मोटो मान्छे भयो भने, वा ठूलो भुँडी भयो भने त्यसलाई हुनेखाने र सम्पन्न मान्ने प्रचलन थियो । कतिपय अवस्थामा अझै पनि छ । बिस्तारै मान्छेले बुझ्दै जान थालेको छ, कि ठूलो भुँडी भनेको सम्पन्नताको प्रतीक होइन रोगको भकारी हो ।
सपन्नता र सुखका बारेमा समाजमा जुन खालको दृष्टिकोण छ, त्यो बदल्ने बेला भएको छ ।
सम्पन्नता र सुखी जीवनका लागि चाहिने पहिलो कुरा त स्वस्थ शरीर हो नि । सम्पन्नतासँगै भित्रिएका रोगबाट बच्न हामीले खानपान र जीवनशैलीमा विशेष ध्यान दिनैपर्छ ।
प्रतिक्रिया 4