२६ चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले तेस्रो जित निकालेको छ । मंगलबार भएको हाई स्कोरिङ थ्रिलरमा लखनउ ४ रनले विजयी भएको हो ।
लखनउले दिएको २३९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर २३४ रन बनायो । कप्तान अजिन्क्या रहानेले ६१ तथा भेनकटेश अय्यरले ४५ रन बनाए । रिंकु सिंह ३८ रनमा अविजित रहे भने सुनिल नरायनले ३० रन बनाए ।
सुरुवातदेखि नै आक्रमण थालेको कोलकाताले पावरप्लेमै ९० रन बनाइसकेको थियो । त्यसपछि भने क्रुसियल समयमा विकेट निकाल्दै लखनउ खेलमा फर्किएको थियो । रिंकु सिंहले अन्त्यतिर ठुला शटहरू खेले पनि जितका लागि पर्याप्त हुन सकेन ।
लखनउका आकाश दिप र शार्दुल ठाकुरले २-२ विकेट लिए भने आवेश खान, दिग्वेश राथी र रवि विश्नोईले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा ३ विकेट गुमाएर २३८ रनको विशाल योगफल खडा गरेको थियो । निकोलस पूरनले सर्वाधिक अविजित ८७ रन बनाएका थिए । ३७ बलमा उनले ७ चौका र ८ छक्का प्रहार गरे ।
मिचेल मार्शले ४८ बलमा ८१ रन बनाए । एइडेन मार्क्रमले ४७ रन बनाए । कोलकाताका हर्शित रानाले २ तथा आन्द्रे रसेलले १ विकेट लिए ।
यस जितसँगै ५ खेलमा ६ अंक जोडेको लखनउ अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ भने पराजित कोलकाता ५ खेलमा ४ अंकसहित छैंटौं स्थानमा छ ।
प्रतिक्रिया 4