
२६ चैत, काठमाडौं। सरकारले बोलाएको वार्तामा जाने नजानेबारे शिक्षक महासंघको कोर टिम बसेर निर्णय गर्ने भएको छ । मंगलबार आन्दोलनको समीक्षा गर्न बसेको बैठकले वार्तामा जाने/नजाने निर्णय गरेन ।
बुधबार बिहान फेरि छलफल गरेर निर्णय गरिने आन्दोलन परिचालन कमिटीको संयोजक एवं महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् ।
‘आन्दोलनको समीक्षा गर्यौं। आन्दोलनलाई निरन्तरता दिन्छौं। सरकारको विज्ञप्ति पनि पाएका थियौं । यही आधारमा वार्तामा जाने निर्णय भएको छैन । विश्वासको वातावरण बन्नु पर्यो । संसदको विशेष अधिवेशन, बर्खे अधिवेशन वा अध्यादेशबाट ऐन ल्याउने हो त्यो सुनिश्चित हुनुपर्छ,’ उनले भनिन्, ‘वार्तामा जाने नजाने आज निर्णय भएन । निचोडमा पुगेको छैन। भोलि बिहान कोर टिम बसेर छलफल गर्छौं । त्यसपछि सरकारलाई जवाफ दिन्छौं।’
सरकारले आज तेस्रो पटक वार्तामा बोलाएको हो। तर, शिक्षकहरूले सुनिश्चितता खोजेका छन् ।
शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक २० चैतदेखि काठमाडौंमा छन् । शैक्षिक हड्ताल गरेर शिक्षकहरूले आन्दोलन गरिरहेका छन्।
प्रतिक्रिया 4