२६ चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्सले तेस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा चेन्नई सुपर किङ्सलाई १८ रनले हराउँदै पञ्जाबले चार खेलमा तेस्रो जित निकालेको हो ।
पञ्जाबले दिएको २२० रनको बलियो लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन मात्र बनायो । डेभन कनवेले सर्वाधिक ६९ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । उनी १८औं ओभरमा रिटायर आउट भए ।
शिवम दुबेले ४२, रचिन रविन्द्रले ३६ तथा एमएस धोनीले २७ रन बनाए । पञ्जाबका लकी फर्गुसनले २ विकेट लिँदा ग्लेन म्याक्सवेल र यश ठाकुरले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर २१९ रन बनाएको थियो । ओपनर प्रियान्श आर्याले शानदार शतक बनाएका थिए ।
३९ बलमै शतक पूरा गरेका उनले बलमा ७ चौका र ९ छक्कासहित ४२ बलमा १०३ रन बनाए । शशांक सिंह ५२ रनमा अविजित रहे । पावरप्लेमै ३ विकेट गुमाएको भएपनि प्रियान्शले अर्कोतर्फबाट निरन्तर अट्याक गर्दै बाउन्ड्री प्रहार गरिरहे ।
८ ओभरमा ८३ रनमा ५ विकेट गुमेपनि त्यसपछि प्रियान्श र शशांक तथा शशांक र यानसेन मिलेर अर्धशतकीय साझेदारी गर्दै स्कोर २०० कटाए । यानसेन १९ बलमा ३४ रनमा नटआउट रहे । चेन्नईका खलील अहमद र रविचन्द्रन आश्विनले २-२ तथा मुकेश चौधरी र नूर अहमदले १-१ विकेट लिए ।
यस जितसँगै ४ खेलमा ६ अंक जोडेको पञ्जाब अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ भने ५ खेलमा २ अंक मात्र रहेको चेन्नई नवौं स्थानमा छ ।
प्रतिक्रिया 4