
२७ चैत, काठमाडौं । तेस्रो विमस्टेक कृषि मन्त्रीस्तरीय बैठक काठमाडौंमा सम्पन्न भएको छ ।
बैठकलेमा बिम्स्टेक राष्ट्रहरूमा क्षेत्रीय खाद्य भण्डारण स्थापना, क्षेत्रीय बीउ भण्डारण स्थापना गर्ने लगायत विषयमा सहमति भएको छ ।
यसैगरी क्षेत्रीय कृषि व्यापार प्रवर्द्धन, सदस्य राष्ट्र बीच कृषि क्षेत्रको क्षमता विकास लगायत क्षेत्रमा विशेष पहल गर्ने सहमति भएको छ ।
बैठकमा सदस्य राष्ट भारतले कृषि क्षेत्रमा नवप्रवर्तनलाई प्रवर्द्धन गर्नका लागि बिम्स्टेक सेन्टर अफ एक्सिलेन्स र कृषि विकासमा डिजिटल सार्वजनिक पूर्वाधारको स्थापनाबारे अवधारणा प्रस्तुत गरेको थियो ।
बैठकले पशुपन्छी तथा मत्स्यपालन क्षेत्रमा सहकार्यका लागि नयाँ कार्ययोजनाको अनुमोदन गरिएको छ ।
बैठकमा कृषिमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको विकासका लागि बिम्स्टेक सदस्य राष्ट्रहरूबीच सहकार्यको आवश्यकता औंल्याएका थिए ।
जलवायु परिवर्तन, विषादीको बढ्दो प्रयोगले बिम्स्टेक अन्तर्गतका राष्ट्रहरूमा चुनौती थपेको उल्लेख गर्दै मन्त्री अधिकारीले यसको सामना गर्न सदस्य राष्ट्रहरूबीच सहकार्य आवश्यक रहेको बताए ।
भारतका कृषिमन्त्री शिवराज चौहानले बिम्स्टेक राष्ट्रहरूमा कृषि, पशुपन्छी तथा मत्स्यपालनको अपार सम्भावना रहेको चर्चा गर्दै सदस्य राष्ट्र बीचको सहकार्यलाई अझ बलियो पार्नुपर्नेमा जोड दिएका थिए ।
यसअघि बसेको उच्च अधिकारीको बैठकले संयुक्त वक्तव्य तयार पारेको थियो । आज बसेको मन्त्रिस्तरीय बैठकले यसलाई अनुमोदन गरेको हो ।
बैठकमा तीन देशका मन्त्रीहरूको प्रत्यक्ष सहभागीता रहेको थियो भने ४ सदस्य राष्ट्रका मन्त्री तथा प्रतिनिधिहरू भर्चुअल रूपमा सहभागी भएका थिए ।
भारत र भुटानका कृषिमन्त्रीसँग अधिकारीको भेटवार्ता
आजै कृषिमन्त्री अधिकारी र भारतका कृषिमन्त्री शिवराज चौहानबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटवार्तामा कृषिमन्त्री अधिकारीले नेपाली कृषिवस्तु निर्यातमा भारत सरकारको सहयोगमा जोड दिएका थिए ।
भारतीय कृषिमन्त्री चौहानले दुई देशको आयात निर्यातमा देखिएका समस्या समाधानका लागि थप गृहकार्य गरी सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी भुटानका कृषिमन्त्री लेन्पो योन तेन फुन्थ्सो सँग पनि दिपक्षिय भेटवार्ता भएको छ ।
भेटवार्तामा कृषिमन्त्री अधिकारीले भुटान र नेपालबीच कृषि क्षेत्रमा समान समस्या रहेको उल्लेख गर्दै नेपाल र भुटान बीच याकको विकासमा सहकार्य गर्न सकिने बताए ।
भुटानका मन्त्रीले दुई देशका प्रयासहरू समान र साझा रहेकाले नेपाल र भुटानबीच कृषि क्षेत्रको विकासका लागि थप सहकार्य गर्न चाहेको बताएका थिए ।
प्रतिक्रिया 4