
२७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिजराज सिंह चौहानसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरूबीच बुधबार साँझ शिष्टाचार भेटवार्ता भएको हो ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का कृषिमन्त्रीहरुको बैठकका लागि नेपालमा आएका मन्त्री चौहानले प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
मन्त्री चौहानले नेपाल र भारतबीचको परम्परादेखिको सम्बन्धका आयामबारे चर्चा गर्दै दुवै मुलुक मिलेर कृषिको आधुुनिकता, खाद्य सुरक्षा र आर्थिक विकासका लागि काम गर्नुपर्नेमा जोड दिए ।
मन्त्री चौहानले दुुईपक्षीय सम्झौता र संयुक्त कार्य समूहहरूलाई गतिका साथ अगाडि बढाउनुपर्ने र सानातिना अल्झनका मुद्दा छाडेर थाँती रहेका महत्त्वपूर्ण विषयमा समान चिन्ताका साथ गतिशीलरुपमा काम गर्न आफू तयार रहेको बताए ।
हालै थाइल्याण्डको बैंककमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्ताले दुुई देशका बीचमा आशाजनक भविष्य कोरेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले मानवीय जीवन बचाउन र उद्यमशीलताको विकास गर्न सबैभन्दा महत्त्वपूर्ण क्षेत्र कृषि भएकाले यसको आधुुनिकीकरणसहित आर्थिक विकासका लागि दुुई छिमेकी मिलेर अघि बढ्नुपर्नेमा समान धारणा व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग थाइल्याण्डमा भएको भेटवार्ताले विश्वासका वातावरण बनेकाले अब इतिहास वा भावनामा मात्रै नबगी आर्थिक विकासका लागि मिलेर अगाडि बढ्ने कुरा भएको स्मरण गरे ।
बदलिँदो विश्व परिवेशलाई आत्मसात् गर्दै त्यसबाट पर्न सक्ने नकारात्मक प्रभावलाई ध्यान दिएर राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्वार्थका लागि एकजुुट हुनुुपर्नेमा उनले जोड दिए ।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायत सहभागी थिए ।
प्रतिक्रिया 4