
२७ चैत, विराटनगर। मोरङ प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बुधबार पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर–१७ का २५ वर्षीय नौसाद अन्सारी र सोही वडाका १७ वर्षीय बालक रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
प्रवक्ता जोशीका अनुसार दुई व्यक्ति पक्राउ पर्दा चोरीका ६ वटा मोटरसाइकल फेला परेको छ ।
प्रहरीका अनुसार उनीहरुले विराटनगरको अस्पताल, पार्किङ स्थल, होटलको पार्किङ, अदालत, मालपोत कार्यालयलगायत भीडभाड हुने स्थानबाट मोटरसाइकल चोरी गर्ने गरेका थिए ।
गत साउनदेखि मंसिरसम्ममा विराटनगरका बजार क्षेत्रमा सुनसरीका ३९ वर्षीय नजाम अन्सारीको समूहले मोटरसाइकल चोरीको गिरोह चलाएको थियो । उनी पक्राउ परेपछि मोटरसाइकल चोरीका घटना भएको थिएन् ।
फागुन ५ गते पुन मोटरसाइकल चोरीको उजुरी प्रहरीसम्म पुग्यो । चोरीको सूचना आएपछि प्रहरीले सामान्य रुपमा अनुसन्धान गरिरहेको थियो । तर पछिल्लो ८ दिनमा ८ वटा मोटरसाइल विराटनगरबाट चोरी भयो ।
चैत २६ गते विराटनगर–७ स्थित अस्पताल चोकको एउटा कपडा पसल अगाडि पार्किङ गरेको मोरङ कटहरी–१ का दुलाचन्द पोद्दारको प्र.१–०२–०४१ प ३४० नम्बरको मोटरसाइकल चोरी गरी लैजाँदै गर्दा २ जना पक्राउ परेका हुन् ।
मोटरसाइकलसहित पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्दा थप ५ वटा मोटरसाइमल फेला परेको डीएसपी जोशीले बताए । पक्राउ परेकाहरु यसअघि पनि चोरीका घटनामा संलग्न थिए । उनीहरुले भारतमा बसेर नेपालमा मोटरसाइकल चोरी गर्ने गरेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार चैत महिनामा मात्रै १० वटा मोटरसाइकल चोरी भएको छ । फागुनमा एउटा चोरी भएको थियो । चोरी भएका मध्ये ६ वटा फेला परेको डिएसपी जोशीले बताए । पक्राउ परेकाहरुविरुद्ध चोरी तथा आपराधिक लाभ मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार सुनसरीका नजाम अन्सारीले विराटनगरबाट चोरी गरेको मोटरसाइकल भारतमा लगेर बिक्री गर्थे ।नजाम अन्सारी चोरी तथा आपराधिक मुद्दामा कारागारमा छन् । ६ वटा मोटरसाइकलसहित पक्राउ परेका दुई जना भने भारतमै बसेर नेपालबाट मोटरसाइकल चोरी गर्दै आएका थिए ।
प्रहरीले नजाम र नौसादको गिरोहको सम्बन्ध रहे नरहेको विषयमा पनि अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया 4