
२७ चैत, काठमाडौं । ०४६ मा बहुदलवादीले, ०६२–६३ मा गणतन्त्रवादीले गुलजार बनाएको चैत महिनालाई यसपल्ट अर्थात् ०८१ मा राजावादीहरूले गुलजार बनाए । नेपाल शाह अधिराज्यबाट गणतन्त्रमा गएको १६ वर्षपछि राजसंस्था पुनर्स्थापनाका लागि उल्लेख्य गतिविधि सुरु भएका छन् ।
राजेन्द्र लिङदेनदेखि जगमान गुरुङसम्म, केशरबहादुर विष्टदेखि कर्णबहादुर मल्लसम्म सडक प्रदर्शनका अग्रपंक्तिमा देखिइसके । यति भइसक्दा पनि राजावादी अभियानकर्ताहरूले चैत सकिन लाग्दासम्म साझा र स्वीकार्य नेता भेट्टाउन सकेका छैनन् । यसैकारण एउटा समूहले प्रदर्शन गर्दा अर्को समूह गयल रहने गरेको छ । यो क्रम ४ चैतदेखि आज बुधबार अर्थात् २७ चैतसम्मै जारी छ ।
बुधबारकै दुई परिदृश्य हेरौं । १५ चैतको आन्दोलनमा कमान्डर तोकिएका दुर्गा प्रसाई तीनकुने विध्वंशपछि फरार छन् । उनले बुधबार एक भिडियो सन्देश जारी गर्दै आफू नभागेको, मानवअधिकारवादी र वकिलको रोहबरमा २४ घण्टाभित्र सार्वजनिक हुन सक्ने दाबी गरे ।
उता राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको तर्फबाट बुधबारै राजधानीमा एक कार्यक्रम आयोजना भयो, जसका कार्यकारी संयोजक जगमान गुरुङले २१ वैशाखसम्म आफ्ना थुनुवा सार्वजनिक नगरिए भोलिपल्टदेखि स्वयं गिरफ्तारी दिने उद्घोष गरे ।
यी दुवै परिदृश्यमा राप्रपा थिएन, जो संवैधानिक राजसंस्था र हिन्दूराष्ट्र घोषणाबारे संसद् तथा सडकमा निरन्तर वकालत गर्दै आएको पार्टी हो । मंगलबार बल्खुमा राप्रपाले शान्तिपूर्ण प्रदर्शनमार्फत् राजसंस्था पुनर्स्थापना तथा सुशासन लगायत माग उठाउँदा राजावादी भनिएका थुप्रै व्यक्तिहरू सामेल थिएनन् ।
राप्रपा नेताहरू ठान्छन्– जसरी ००७ साल होस् या ०४६ या ०६३ का कुनैपनि परिवर्तन दलीय नेतृत्व बेगर सफल भएनन्, त्यसैगरी गणतन्त्रमाथि प्रश्न उठाउने आन्दोलन पनि दलीय नेतृत्व बेगर अघि बढ्न सक्दैन । राप्रपाको त्यो प्रस्तावलाई राजावादी कतिपय पक्षहरूले उपेक्षा गरेकै कारण विगत एक महिनायता विभिन्न नयाँ समूह देखा परे ।
पृष्ठभूमिमा पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतालाई याद गर्नुपर्ने हुन्छ । उनले अघिल्ला समय जारी गर्ने वक्तव्यभन्दा एक कदम अघि बढ्दै ‘समय आएको’ भिडियो सन्देश जारी गरेथे, ०६ फागुनमा । उनी २५ फागुनमा पोखराबाट काठमाडौं आउँदा राजावादीहरूको उभार उल्लेख्य थियो । पूर्वराजा ज्ञानेन्द्रको सक्रियतासँगै नवराज सुवेदी नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त राष्ट्रिय जनआन्दोलन समिति एकाएक दृश्यमा आयो, गत ०४ चैतमा ।
त्यसमा अस्मिता भण्डारी, हरिबहादुर बस्नेत, केशरबहादुर विष्ट, खेमराज सेढाई, शास्त्रदत्त पन्त लगायतलाई सामेल गरियो । ११ सदस्यीय निर्देशक समितिलाई नवराज सुवेदीले संयोजक बसेर नेतृत्व गर्ने सहमति भयो । निर्देशक समिति अन्तर्गत गठन हुने आन्दोलन परिचालन समितिमा धवलशमशेर राणालाई संयोजक तोकियो । निर्देशक समितिको प्रमुख सल्लाहकारमा जगमान गुरुङ तोकिए । रवीन्द्र मिश्र निर्देशक समितिको सदस्य सचिव रहे ।
यसरी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा समितिमा बस्दैगर्दा राप्रपाको मूल नेतृत्वले आफूलाई अलग्गै राख्यो ।
राप्रपाले सैद्धान्तिक रुपमा राजसंस्था चाहने जोकसैलाई नैतिक समर्थन दिने बताउँदा बताउँदै पनि डिल्लीबजारस्थित भोजनगृह नामक रेस्टुराँमा नवराज सुवेदी नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त राष्ट्रिय जनआन्दोलन समिति गठन हुँदा आफू सहभागी हुन नसक्ने अडान राख्यो । राप्रपा केन्द्रीय सदस्य रहँदै आएका सुवेदीले त्यसैदिन अर्थात् ०४ चैतमा पार्टी छाडेको घोषणा गरे ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मिश्र र राणालाई पार्टीभित्र पर्याप्त छलफलबेगर निर्दलीय प्रकृतिको समितिमा बस्न गएको भनेर आन्तरिक रुपमा सोधपुछ गरे । यद्यपि उनले राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा बढ्दै गरेको जागरुकतालाई पार्टीले साथ–सहयोग दिने भन्दै राजनीतिक रुपमा उभिने घोषणा पनि सँगसँगै गरे ।
‘हामीले दलहरू र राजाबीच नवीन समझदारी चाहिन्छ, त्यसका लागि अन्ततः दलहरू नै चाहिन्छ भनेका हौं,’ राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने, ‘आन्दोलनलाई राजनीतिक स्वरुपमै कायम राखिराख्न पनि दलीय नेतृत्व चाहिन्छ । त्यसले जिम्मेवारीबोध बढ्छ ।’
राप्रपा आफैंमा अनेकौंपल्ट टुटफुट र जुटबाट अघि बढ्दै गरेको पार्टी हो, जसबाट पछिल्लो महाधिवेशनमा लिङ्देनसँग पराजित बनेसँगै त्यसअघिका अध्यक्ष कमल थापाले राप्रपा नेपाल गठन गर्न पुगे ।
सुरुमा निर्मल निवाससँग अत्यन्तै चिढिएका राप्रपा नेपाल अध्यक्ष कमल थापाले आफू उप्रान्त हिन्दू गणतन्त्रको माग राखेर अघि बढ्ने घोषणा गरे । केही समय नबित्दै उनले आफ्नो ‘गल्ती’ महसुस गरे र फेरि राजतन्त्रकै मागमा आए ।
राप्रपा नेपालले आफ्ना मुद्दाहरू सडक तथा बौद्धिक अन्तक्र्रियाहरूमा उठाइरह्यो, यद्यपि कमल थापा सर्वस्वीकार्य बन्न सकेनन् । बरु तीव्र महत्वाकांक्षी पूर्वराजा ज्ञानेन्द्रले लिङ्देन र थापाभन्दा एक कदम अघि बढेर अराजक तथा अराजनीतिक शैलीमा विश्वास गर्दै रहेका विवादित व्यवसायी दुर्गा प्रसाईंलाई भरोसा गर्न थाले ।
त्यसयता ज्ञानेन्द्रको मेनुमा लिङ्देन र थापामात्रै नभएका होइनन्, लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी पनि थिएनन् ।
बैंक तथा वित्तीय संस्थाहरूका खराब ऋणी रहेका दुर्गा प्रसाईले यसबीचमा विवादास्पद अभिव्यक्तिमात्रै दिएनन्, उल्टै साम्प्रदायिक भडकाउ अभिव्यक्ति पनि दिए । दुई वर्षअघि अर्थात् ०७९ सालमा आफ्नो नेतृत्वमा झापाबाट सुरु मेची महाकाली अभियानको उद्घाटन प्रसाईले उनै पूर्वराजा ज्ञानेन्द्रबाट गराए । झापामा राप्रपा नेताहरूलाई भेट दिए पनि ज्ञानेन्द्र उनै प्रसाईलाई धाप मार्ने चरणमा थिए, जो विगतमा माओवादी र एमालेजस्ता गणतन्त्रवादी पार्टीहरूका नेतृत्वसँग उठबस गरेर राजातिर सर्दै थिए ।

प्रसाईंले पोहोर मंसिरमा काठमाडौंमा राजावादी प्रदर्शन आयोजना गरे । प्रदर्शन खासै बलियो नभए पनि पूर्वराजाको फाइलमा प्रसाईंको नाम भने सुरुमै लेखिन थाल्यो । उनले निर्मल निवासको विश्वास जित्दै गए । त्यसको आडमा राजेन्द्र लिङ्देन लगायत राजावादी आन्दोलनको वैध स्वर अर्थात् राप्रपाका नेताहरूको तेजोबध हुनेगरी अभिव्यक्ति दिँदै रहे ।
प्रसाईंलाई कमान्डर मानेर १५ चैतमा थालिएको तीनकुने प्रदर्शनले शान्तिपूर्ण स्वरुप गुमाउँदै विध्वंशमा प्रवेश गरेपछि भने राजावादीहरू प्रतिरक्षात्मक बनेका छन् । दुई जनाको ज्यान, दर्जनौं घाइते, करोडौंको सम्पत्ति लुटपाट, आगजनी तथा वितण्डापछि राजावादी खेमामा भरपर्दो नेतृत्व नहुँदा हुनसक्ने खतिबारे चेत पलाएको छ । उनीहरू यति बेला साझा नेताको खोजी गर्न थालेका छन् ।
अझ प्रसाईंले उक्त कार्यक्रममा पूर्वराजा र आफ्नो मात्र बराबर साइजमा तस्वीर राखेर अरु सबैलाई उपेक्षा गरेको भन्दै बुद्धिमान तामाङले त संसदीय समितिमै आपत्ति जनाए । योसँगै राजावादी खेमामा फेरि एकपल्ट साझा नेताको खोजी जोडदार ढंगले उठ्ने पक्का भयो ।
तीनकुनेमा जे भए पनि बल्खुमा प्रदर्शन साँच्चिकै शान्तिपूर्ण तथा प्रभावकारी समेत हुन पुग्यो, जबकि राप्रपाले त्यसलाई केवल ७ वैशाख ०८२ को तयारीका लागि आयोजना गरिएको बागमती प्रदेशस्तरीय आयोजनामा सीमित गरेको थियो ।
राप्रपाले मंगलबार बल्खुमा प्रदर्शन गर्दा शिष्ट, संयम र राजनीतिक स्वरुप दिँदै आफ्ना मागहरू राख्यो । खासगरि अध्यक्ष लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायत राजनीतिकर्मी, सुरक्षा अधिकारी, प्रेसमाथि प्रश्नहरू बर्साए । उनले समयमा सुरक्षास्थिति नियन्त्रणमा नलिएको, प्रदर्शनकारीलाई १५ चैतमा भड्काएको, समयमै मानवअधिकारवादी र प्रेसले वस्तुस्थिति बाहिर नल्याएको, प्रहरीले प्रहरीजस्तो भूमिका देखाउन नसकेको आलोचना गरे ।
तर यो प्रदर्शनमा राजावादी आन्दोलन समितिका अधिकांश सदस्य उपस्थित भएनन् । १५ चैतको प्रदर्शन हिंसात्मक बनेसँगै संयोजक नवराज सुवेदी घरैभित्र प्रहरीको खुकुलो नियन्त्रणमा छन् । उनको अनुपस्थितिमा जगमान गुरुङले आन्दोलन हाँक्ने मौका पाएका छन् । उनी आन्दोलनमात्रै नभई अनुष्ठान समेत गर्ने बताइरहेका छन् । केही दिनअघि अनलाइनखबरसँग कुरा गर्ने क्रममा नयाँ संयोजक गुरुङले भने, ‘हामी दलको झन्डामा होइन, चन्द्रसूर्यको राष्ट्रिय झन्डामा आन्दोलन अघि बढाउछौं । त्यसमा राजेन्द्र लिङ्देन पनि विस्तारै आउनुहुन्छ । तपाईंहरू हेर्दै जानुहोस् ।’
यद्यपि जगमान गुरुङले नेतृत्व गरेको बुधबारको कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देन सहभागी भने भएनन् । राप्रपाका एक नेताले अनलाइनखबरसँग भने, ‘यहाँ यस्ता राजावादी समेत छन्, जसलाई राप्रपाले चुनावमा बढ्ता भोट पाउला कि भन्ने चिन्ता छ । उनीहरू राप्रपाको आलोचना गरिराख्न चाहन्छन्, तर राजसंस्था पुनर्स्थापना र सुशासन स्थापनाको आन्दोलनलाई अघि बढाउने ठोस कार्यक्रम भने ल्याउन सक्दैनन् ।’
आफ्नो रेस्टुराँ भोजनगृहमा राजावादी दल तथा समूहलाई निरन्तर जुटाइरहेका राजसंस्था पुनर्स्थापना अभियानका अभियन्ता भरत बस्नेत दलगत झन्डाभन्दा राष्ट्रिय झन्डामै हुने कार्यक्रमहरूले बढ्ता स्वीकार्यता पाउने बताउँछन् । आफू अझै पनि तीन नेता अर्थात् राजेन्द्र लिङ्देन, कमल थापा र केशरबहादुर विष्टलाई एक ठाउँ ल्याउन प्रयासरत रहेको उनको भनाइ छ । केशरबहादुर विष्ट स्वतन्त्र अभियान चलाउँदै राजसंस्था पुनर्स्थापना मागिरहेका छन्, जो ४ चैत र बुधबार २७ चैत दुवै दिनका कार्यक्रममा सहभागी थिए । कमल थापा भने बुधबारमात्रै सहभागी थिए ।
‘लिङ्देनजीलाई केले रोकेको छ थाहा भएन, तर उहाँ आउन सक्नुभएको छैन,’ बस्नेतले भने, ‘उहाँ आउनुहुन्छ । सबै राजसंस्थावादीहरू एक ठाउँ आउनुहुन्छ । जगमान गुरुङको नेतृत्वले राजसंस्था पुनर्स्थापनाको आन्दोलन अघि बढाउँछ ।’
बुधबारको राजावादी भेलाका सहभागीहरुले नयाँ वर्ष ०८२ सँगै परिस्थिति बदलिएर जाने दाबी गरेका छन् । उनीहरुले हिन्दूराष्ट्र स्थापना र संघीयता खारेजीको मागसँगै राजतन्त्र पुनर्स्थापनाको मागले हातेमालो गरेर अघि जाने भन्दै त्यसमा कोही नछुट्ने बताए ।
बुधबारको भेलामा केशरबहादुर विष्ट, कमल थापा, प्रकाशचन्द्र लोहनीले जगमान गुरुङको समन्वयात्मक भूमिका स्वीकार गरेर अघि बढ्ने बचन दिइसकेकाले साझा नेता को हो भन्ने प्रश्न बाँकी नरहने उनीहरुको भनाइ छ ।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला भन्छन्, ‘अब को हो साझा नेता भनेर खोजिरहने भन्दा पनि जगमान गुरुङलाई समन्वयात्मक भूमिकामा मानेर अघि बढ्ने सल्लाह भएको छ । नेतृत्व एकजनाको हुँदैन, साझा र संयुक्त नेतृत्व नै हुन्छ ।’
तर राप्रपाले भने आफूहरू दलीय नेतृत्वभन्दा बाहिरको संस्थाबाट राजसंस्था पुनर्स्थापनाजस्तो बृहत् एजेन्डा अघि बढ्न नसक्ने भन्दै स्वतन्त्र समूहहरूलाई आफ्नो मान्यतामा पुनर्विचार गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया 4