+
+
Shares

पानी परेपछि काठमाडौंको वायु गुणस्तर सुधार

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २८ गते ७:३४

२८ चैत, काठमाडौं । पानी परेसँगै काठमाडौंको वायु गुणस्तरमा केही सुधार भएको छ ।

हिजो दिउँसोसम्म विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो नम्बरमा रहेको काठमाडौं आज बिहान १२ नम्बरमा झरेको छ । पानी पर्दा वायुमण्डलमा भएको धुलो र हावाको कण पखालिँदै वायुको गुणवत्ता केही सुधार भएको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदहरुका अनुसार आज, भोलि र पर्सि पनि पानी पर्ने पूर्वानुमान भएकाले नेपालमा वायुको गुणस्तर आजको तुलनामा अझै सुधार हुने अनुमान गर्न सकिन्छ ।

विश्वभरका शहरहरुको वायुको गुणस्तर रियल टाइममा मापन गर्ने स्वीजरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान सवा सात बजे काठमाडौंको वायु गुणस्तर सूचकांक ११९ छ । विगतको तुलनामा केही सुधार देखिए पनि यो सूचकांकले संवेदनशील समूहका लागि काठमाडौंको हावा अझै पनि अस्वस्थ रहेको जनाउँछ ।

नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० एक्यूआई हुनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । ५१-१०० हुँदा मध्यम, १०१-१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ र २०१-३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।

यसअघि चैत २१ गते काठमाडौंको हावाको गुणस्तर सूचकांक ३७३ सम्म पुगेको थियो । २०७७ सालको चैत महिनामा वायु प्रदूषण अत्यधिक बढेर ४७० एक्यूआईसम्म पुगेपछि सरकारले चार दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?