
२८ चैत, गोरखा । गोरखा दरबारदेखि जीतगढीसम्मको एकीकरण मार्गमा नेपाली सेनाको पदयात्रा सुरु भएको छ । बिहीबार गोरखा दरबारको हनुमानभन्ज्याङबाट तेस्रो संस्करणको पदयात्रा सुरु भएको हो ।
यात्रामा रिपुमर्दन गणका ४८ जनाको टोली सहभागी छन् । उनीहरूलाई बिहीबार एक कार्यक्रमकाबीच टर्च लाइट दिएर बिदाइ गरिएको छ ।
साथमा तत्कालीन समयमा पृथ्वीनारायण शाहले खडा गरेको पाँच पल्टन (पुरानो गोरख, कालीबक्स, बर्दवाणी, सवुज र श्रीनाथ) को झन्डा पनि हस्तान्तरण गरिएको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले बताए ।
पश्चिम पृतना पोखराका पृतनापति उपरथी मधुकर सिंह कार्की, श्री नं. ३ बाहिनीपति सहायकरथी नुरेन्द्र मल्ल, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, उपमेयर मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेललगायतले झण्डा र टर्च लाइट हस्तान्तरण गरेर यात्राका टोलीलाई बिदाइ गरेका हुन् ।
पदयात्रा तनहुँ, पाल्पा हुँदै जीतगढी पुगेर टुंगिने छ । गोरखाको टोलीले पालुङटारको सतिघाट पुगेर तनहुँलाई झन्डा र टर्च हस्तान्तरण गर्नेछ । तनहुँले पाल्पालाई र पाल्पाले रुपन्देहीलाई बुझाउने गणपति क्षेत्रीले जानकारी दिए ।
रुपन्देहीको टोली ६ वैशाख जीतगढीमा पुगेर विजय उत्सवमा सहभागी हुने उनको भनाइ छ । तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच भएको लडाइँमा विजय प्राप्त गरेको दिन (७ वैशाख) लाई विजय उत्सवको रूपमा मनाउँदै आएको उनले बताए । कुल दुई सय सात किलोमिटरको दुरी आठ दिनमा तय गरिने उनले जानकारी दिए ।
ऐतिहासिक कोट, गढी, किल्लाहरूको संरक्षण गर्दै इतिहासको जगेर्ना गर्ने पदयात्राको उदेश्य रहेको बताइएको छ । पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4