+
+
Shares

गगनको दाबी : अध्यादेश कांग्रेसको आइडियामा ल्याइएको हो

नेपाली कांग्रेस क्षेत्र नम्बर २ अन्तर्गत दोस्रो प्रदेश सम्मेलनलाई विहीबार सम्बोधन गर्दै महामन्त्री थापाले अर्थतन्त्र ठूलो दबाबमा रहेको अवस्थामा कानुनी सुधार गर्न अध्यादेश ल्याइएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २८ गते १३:३९

२८ चैत, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही समयअगाडि सरकारले ल्याएको अध्यादेश कांग्रेसकै आइडियामा ल्याएर संयुक्त सरकारमार्फत् कार्यान्वयन गरेको दाबी गरेका छन् ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ अन्तर्गत दोस्रो प्रदेश सम्मेलनलाई विहीबार सम्बोधन गर्दै महामन्त्री थापाले अर्थतन्त्र ठूलो दबाबमा रहेको अवस्थामा कानुनी सुधार गर्न अध्यादेश ल्याइएको बताए ।

‘अर्थतन्त्र ठूलो दबाबमा छ । सरकारले लगानी र व्यवसायको वातावरण बनाउन केही कानुनी सुधार गर्नुपर्नेछ भनेर, यो कांग्रेसकै आइडिया हो,’ उनले भने, ‘हाम्रो आइडियामा हामीले सरकारलाई काम गरायौं । संयुक्त सरकारले काम गर्‍यो र केही कुराको सुधार भएको छ ।’

अध्यादेशमार्फत् कानुनी सुधार गरेर सरकारले महत्वपूर्ण काम गरेको महामन्त्री थापाले जिकिर गरे । ‘संसदबाट केही कानुन पारित भएको बारे बरालिएको बहस भयो अध्यादेश ठिक कि बेठिक भनेर’ उनले भने, ‘आर्थिक क्षेत्र सुधार्न सरकारले केही महत्वपूर्ण काम गरेको छ । यो सुखद छ ।’

सरकारले संकटको महसुस गरेपछि अध्यादेश ल्याएको उनको तर्क छ । ‘सरकारले इमरजेन्सीको महसुस गर्‍यो । अर्थतन्त्रमा ठूलो दबाब छ । बैंकमा पैसा छ । ऋण लिन कोही पनि गइरहेको छैन । राष्ट्रबैंकमा विदेशी मुद्रा भरिभराउ छ सदुपयोग गर्न सकिएको छैन,’ उनले भने, ‘सरकारको ढुकुटीमा भएको पैसा उसले प्रयोग गर्न सकेको छैन । सरकारको ढुकुटीमा आउनुपर्ने जति पैसा उठिरहेको छैन ।’

‘अमेरिकाको निर्णयबाट नेपालले फाइदा लिनसक्छ’

महामन्त्री गगन थापाले कानुनी सुधारपछि सूचना प्रविधिको क्षेत्रमा राम्रो सुरुवात भएको दाबी गरे ।

घरजग्गाको क्षेत्रमा भने सुधारको प्रयास भूमिसम्बन्धी अध्यादेश असफल हुँदा अड्किएको उनले गुनासो गरे । ‘घरजग्गाको क्षेत्रमा पनि हामीले केही सुधारको सुरु गरेका थियौं । अहिले कानुन रोकियो । संसदको नयाँ सत्र सुरु हुनासाथ हामी त्यसमा काम गर्छौं,’ उनले भने ।

अमेरिकाले लागू गरेको भन्सार शुल्क वृद्धि नेपालको लागि अभूतपूर्व अवसर बन्न सक्ने उनको तर्क छ ।

‘अमेरिकाको भन्सार शुल्क वृद्धिले अहिलेको लागि भने नेपालको लागि नयाँ अवसर आउन सक्छ । अस्ति हामीले गरेको कानुनी सुधारले काम गर्छ’ उनले भने, ‘त्यो भनेको नेपालमा व्यापक लगानी आउनुपर्छ, यहाँ व्यवसायको वातावरण राम्रो हुनुपर्छ । नेपालले सामान उत्पादन गरेर बेच्न सक्ने क्षमता विकास गर्नुपर्छ ।’

उनले कांग्रेसका केही मन्त्रीहरूले राम्रो काम गरे पनि प्रचार गर्न नसकिएको बताए । ‘भएको कामलाई भएको भन्नुपर्छ । हामीले आफूले गरेको कामको प्रचार गर्न सकेनौं,’ उनले भने, ‘स्वास्थ्यमन्त्रीले बिमाको क्षेत्रमा काम गरिरहेका छन् । किसानलाई भुक्तानी दिन कृषि मन्त्रीले काम गरिरहेका छन् । अरु मन्त्रीहरूले पनि काम गरिरहेका छन् ।’

आफैंले ल्याएको संविधान र व्यवस्था हुँदा पनि, चुनाव जितेर जताततै कांग्रेसकै सरकार भए पनि सन्तोष महसुस गर्न नसक्ने अवस्थाबाट बाहिर निस्कनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?