
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिबाट प्रा.डा. केशरजंग बरालले १५ चैतमा अचानक राजीनामा दिए । बरालले राजीनामा दिएको १३औं दिनमा बिहीबार प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी ओलीले राजीनामा स्वीकृत गरेका छन् ।
आफ्नै टिमसँग पनि सल्लाह नगरी राजीनामा दिएका थिए, बरालले । गत २०८० फागुन १० मा तत्कालीन प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उनलाई उपकुलपतिमा नियुक्त गरेका थिए ।
१३ महिनामै राजीनामा दिएका बरालसँग अनलाइनखबरकर्मी दिनेश गौतमले गरेको कुराकानीको सम्पादित अंश :
छोटो समयमै राजीनामा दिनुभयो । खास कारण के हो ?
पहिलो, म उपकुलपति भएर आएपछि त्रिविको सभा बस्यो । यो गत साउन १५ गतेको कुरा हो । सरकारलाई दिएको मेरो भिजन र अवधारणा अनुसार कार्ययोजना बनाएर कार्यकारीबाट पास पनि गरेको थियो । योजना परिषद्बाट पनि पास भयो । तर सम्माननीय केपी ओलीले सभामा पेस गर्न दिनु भएन । यहीँबाट म र उहाँबीच विवाद भएको हो । उपकुलपतिको नीति तथा कार्यक्रम सभामा पेस गर्न नदिएपछि के हुन्छ ? बजेट पास हुने मेरो नीति कार्यक्रम पेस नहुने यो नमिल्ने कुरा भयो ।
दोस्रो, मेरिटको आधारमा पदाधिकारी नियुक्ति गर्ने भन्ने थियो । तर डिन नियुक्तिमा धेरै घेराबन्दी भयो । केही मात्र मेरिटको आधारमा भयो । पूरै गर्न सकेनौं । डिन नियुक्तिमा कुलपतिले सभामै यति दिनभित्र डिन नियुक्ति गरेर आउनु भन्नुभयो । पार्टीको महासचिव (शंकर पोखरेल)ले स्ट्याटस नै लेख्नुभयो । यी कुराले प्रधानमन्त्रीसँग विवाद गरेर बस्नु ठिक छैन भन्ने लाग्यो । त्यतिबेलादेखि नै राजीनामा दिने प्रयास गरेको थिएँ । मुख्य कुरा, नीति तथा कार्यक्रम पेस हुन नभएपछि बस्नुको अर्थ छैन भन्ने निष्कर्ष निकालेको हुँ ।
तेस्रो, त्रिविको जग्गामा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने घोषणा प्रधानमन्त्रीले गर्नुभयो । तर विश्वविद्यालयमा विरोध भयो । एनपीएल प्रतियोगिता हुँदा विद्यार्थीको पढाइमा असर पर्यो । प्रिन्सिपल कि विश्वविद्यालय सार्नुपर्यो कि रंगशाला सार्नुपर्यो भनेर आउनुभयो । विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप भयो । प्राज्ञिक क्षेत्रमा मैदान बनाएर कति असर पर्छ ? त्यो एनपीएलमै देख्यौं । भोलिका दिनमा यो मैदान को भीसी हुँदा बनेको भनेर मेरो नाम आउँछ । जिन्दगीभर कालो धब्बा बोक्न चाहिनँ, बरु राजीनामा दिनु नै उपयुक्त हुन्छ भन्ने लाग्यो । म जागिर खान गएको थिइनँ, आफ्नो योजनाअनुसार त्रिविलाई बनाउँछु भनेर गएको हुँ । तर आफ्नो योजना अनुसार काम नहुने भएपछि किन बस्ने ?
चौथो, त्रिविमा वर्षौंदेखि थुप्रेर बसेको आंशिक र करार शिक्षक कार्मचारी छन् । अदालतले एउटा आदेश दिन्छ । अदालतले नगर्न भनेको छ । अंशिक र कारार शिक्षक दबाब दिनुहुन्छ । गर्नै नसक्ने भएपछि मार्गप्रशस्त गर्नु ठिक लाग्यो ।
भनेपछि राजीनामा दिन दबाब आयो ?
होइन, राजीनामा देऊ भनेर त कसैले दबाब दिएको छैन । कसैको थ्रेटमा राजीनामा दिएको पनि होइन ।
तर, तपाईंलाई माथिबाट दबाब आयो भन्ने हल्ला छ नि ?
त्यो असत्य हो । प्रधानमन्त्रीले करार आंशिकलाई यसो गर, उसो गर भन्नुभएको छैन । प्रधानमन्त्रीले नभनेको कुरा बाहिर आएको छ । यो कुरा प्रधानमन्त्रीलाई भन्न पनि सक्छु ।
तपाईंले त प्रधानमन्त्रीलाई नभेटी राजीनामा दिनुभयो । किन ?
उहाँसँग भेटेर भन्न सकिन्थ्यो । मैले कति पटक फोन गरेँ । कति पटक म्यासेज गरेँ । म कहिले आउँ भनेर म्यासेज गरेँ । तर रेस्पोन्स आएन । यस्तो अवस्थामा भेट्ने मौका पाइन्छ भन्ने आशै लागेन ।
प्रधानमन्त्रीलाई नै फोन म्यासेज गर्नुभयो कि सचिवालयमा ?
राजेश (प्रधानमन्त्रीका स्वकीय सचिव)जीलाई गरेको थिएँ । प्रधानमन्त्रीसँग सिधैं सम्पर्क हुँदैन । हामीले सम्पर्क निजी सचिवलाई गर्ने हो । म्यासेज गर्दा भेटेर सल्लाह गर्ने अवसर त पाउनुपर्ने हो नि ।
अनि आफूले नै बनाएको टिम, रेक्टर, रजिस्ट्रारसँग पनि सल्लाह गर्नुभएन नि ?
उहाँहरूको बस्ने इच्छा पो छ कि । मेरो योजना कार्यान्वयन नभएपछि गर्न सकिन्न भनेर राजीनामा दिएँ । त्यसैले उहाँहरूलाई पनि भनिनँ । मैले राजीनामा दिएको कसैलाई थाहा दिएको थिइनँ ।
रेक्टर र रजिस्ट्रार त पोखरा नै पुग्नुभएछ नि राजीनामा फिर्ता गराउन ?
हो, उहाँहरु आउनुभएको थियो । तर मलाई अब फर्किन आवश्यक लागेन ।
राजीनामा स्वीकृत भएको बुझ्न त आउनुहुन्छ होला नि ?
आउँदिन । इमेलबाट पठाउन भनेको छु ।
पत्रमा त स्वास्थ्यको कारण भन्नुभएको छ । स्वास्थ्यमा पनि समस्या हो ?
खासै समस्या त होइन । तर दुई/तीन महिना अगाडि समस्या आएको थियो । त्यतिबेला अस्पताल बस्नुपरेको थियो । समयमा अस्पताल नपुगेको भए नरहने अवस्था थियो । मैले तनाव नलिए पनि तनाव जम्मा भएर आएको समस्या चाहिँ देखिएको थियो । तर अहिले हेल्थ इन्डिकेटरहरू ठिक छ ।
परिवारले पनि राजीनामा गर्न दबाब दिएको भन्ने छ नि ?
परिवारले सुरुमै भीसी नबन्न भनेको हो । पहिला नै भीसी हुँदा परिवारमा के असर पर्छ भनेर भोगेको भएर नबन्नको लागि परिवारबाट सुझाव आएको हो ।
विद्यार्थी संगठन, कर्मचारी र प्राध्यापक संघ-संगठनको घेराबन्दीमा पनि पर्नुभएको हो ?
एउटा कुरा स्पष्ट पार्न चाहन्छु । मलाई विद्यार्थीबाट असहयोग भएको होइन । विद्यार्थीसँग संगठनबाट सहयोग नै भएको हो । मेरो योजना कार्यान्वयनमा विद्यार्थी संगठनले असहयोग गरेको होइन । केही कुरामा ताला लगाउने धर्ना दिने गर्नुभयो । तर मेरो योजना बेठिक भनेर विद्यार्थी संगठनले भनेको छैन । तर शिक्षक कर्मचारीका ट्रेड युनियन भने घेर्न आए । माग पूरा गर भन्थे ।
१३ महिना भीसी हुँदा खास समस्या के देख्नुभयो त ?
त्रिवि अस्तव्यस्त छ । त्रिविलाई बनाउने हो भने सबै पार्टीको सहयोग चाहिन्छ । भीसी, रेक्टर र रजिस्ट्रारले मात्र चाहेर सुधार हुँदैन । जस्तै, स्ववियु चुनाव भनेको छ । तर विद्यार्थीको होइन, पार्टीको हुने रहेछ । विद्यार्थीको चुनाव हुनुपर्ने हो नि । विभिन्न प्रकृतिका विकृति छन् । सुधार गर्न माइक्रो लेभलमा अप्रेसन नै गर्नुपर्छ । अहिले मैले देखेको समस्या माथि जे-जे भनें त्यही नै हो ।
यो अवधिमा त्रिवि सुधारका लागि के प्रयास गर्नुभयो ?
सुधारको प्रयास गरेको छु । परीक्षामा सुधार भएको छ । विद्यार्थीले एक/दुई पेपर लाग्यो भने वर्ष दिन कुर्नुपर्थ्यो । नतिजा आएको १५ दिनमा परीक्षा दिएर पढ्ने वातावरण बनाएका छौं । पदाधिकारी नियुक्तिलाई मेरिटमा गर्ने सिस्टम बसालेका छौं । पूर्ण नभए पनि विरोधका बीच सुधारको काम भएको हो । मुख्य समस्या भनेकै दलीयकरण रहेछ ।
प्रतिक्रिया 4