
बालबालिकाको शिक्षा प्रायः पाठ्यपुस्तकमा आधारित हुन्छ । पढ्ने भनेको स्कुलको पाठ्यपुस्तकमा जे छ, त्यो मात्रै हो भन्ने धारणा बालबालिका धेरै बालबालिका देखिन्छ । स्कुलका पाठ्यपुस्तक राम्रोसँग पढ्ने र परीक्षामा धेरै नम्बर ल्याएपछि पुग्छ भन्ने सोचाइ कतिपय अभिभावकमा हुन्छ । तर, पाठ्यपुस्तकले मात्र बालबालिकाको समग्र विकासको आवश्यकता पूरा गर्न सक्दैन ।
स्कूलमा पाठ्यक्रमअनुसार तयार पारिएका किताबहरूले उनीहरूलाई आधारभूत ज्ञान, गणित, विज्ञान र भाषा सिकाउँछन् । ज्ञानको दायर बढाउनका लागि बालबालिकालाई अन्य पुस्तक पढाउनु आवश्यक हुन्छ, जुन उनीहरूका लागि बोझिलो, पट्यारलाग्दो भन्दा पनि रुचिकर र मनोरञ्जन दिने खालको होस् ।
अरू पुस्तकहरू जस्तै- कथा, कविता, उपन्यास, चित्रकला, सामान्य ज्ञानका पुस्तक बालबालिकाका लागि जरुरी हुन्छ। यस्ता पुस्तकले उनीहरूको कल्पनाशक्ति, भावनात्मक बुद्धि, रचनात्मकता र सामाजिक चेतना बढाउँछन्।
बालबालिकाले पाठ्यपुस्तकबाहेक अरू किताब किन पढ्नुपर्छ, त्यसले के फाइदा गर्छ त ?
पाठ्यपुस्तकहरू प्राय: परीक्षा र औपचारिक शिक्षामा केन्द्रित हुन्छन् । तिनले तथ्य, सूत्र र नियम सिकाउँछन्, तर बालबालिकाको व्यक्तिगत र भावनात्मक विकासमा सीमित योगदान गर्छन्। पाठ्यपुस्तकबाहेकका किताबहरूले यी कमजोरीलाई पूरा गर्छन् ।
किन पाठ्यपुस्तकबाहेकका पुस्तक पढ्ने ?
१. ज्ञानको दायरा बढ्छ
पाठ्यपुस्तकहरूले सीमित विषय मात्र समेट्छन् । तर कथा, विज्ञान कथा, वा इतिहासका किताबले बालबालिकालाई संसारको विविधता, संस्कृति, र नयाँ विचारसँग परिचित गराउँछन् ।
३. रुचिको विकास हुन्छ
पाठ्यपुस्तक अनिवार्य हुन्छ, जसले कहिलेकाहीँ पढाइप्रति अरुचि पैदा गर्छ । तर स्वेच्छाले छानिएका किताबहरूले पढ्ने बानी र रुचि जगाउँछ ।
३. जीवनकलाको विकास हुन्छ
जीवनी वा प्रेरणादायी किताबले बालबालिकालाई धैर्य, संघर्ष र सफलताको पाठ सिकाउँछ, जुन पाठ्यपुस्तकमा सीमित हुन्छ ।
४. भाषिक दक्षता वृद्धि हुन्छ
विभिन्न शैलीका किताब पढ्दा शब्दभण्डार र लेखन कौशल बढ्छ, जुन पाठ्यपुस्तकको औपचारिक भाषाले मात्र पूरा गर्न सक्दैन विभिन्न शैलीका किताबले शब्दभण्डार, वाक्य संरचना निर्माण तथा लेखनशैलीको विकास हुन्छ । नेपालमा नेपाली, अंग्रेजी, वा स्थानीय भाषाका किताबले बालबालिकालाई बहुभाषिक बनाउन सहयोग गर्छ ।
५. कल्पनाशक्ति र रचनात्मकताको विकास
कथा किताबहरूले बालबालिकालाई काल्पनिक संसारमा लैजान्छ। यस्ता किताबले उनीहरूलाई नयाँ कुरा सोच्न र समस्याको रचनात्मक समाधान खोज्न प्रेरित गर्छ । स्विस मनोवैज्ञानिक जिन पियाजेले भनेका छन्, ‘बालबालिकाको बौद्धिक विकास खेल र कल्पनाबाट हुन्छ’ किताबले यो अवसर दिन्छ। पुस्तकहरू पढेर आफैँ कथा, कविताहरू लेख्ने कलाको पनि सिकिरहेका हुन्छन् ।
६. भावनात्मक विकास
कथाका पात्रहरूको भावना र संघर्ष पढ्दा बालबालिकाले सहानुभूति र भावनात्मक समझ विकास गर्छन् । कथा पढ्ने बालकालिकामा अरूको भावना बुझ्ने र व्यक्त गर्न सक्ने क्षमता ३० प्रतिशत वृद्धि भएको देखाएको थियो ।
७. आत्मविश्वास र स्वतन्त्र सोच्ने शक्ति बढ्छ
किताब पढ्दा बालबालिकाले आफ्नै विचार बनाउन सिक्छन् । आफूले पढेका पुस्तकमा भएका पात्र, तिनले गरेका संघर्ष, तिनको भनाइ जस्ता कुराले बालबालिकामा आत्मविश्वास बढ्ने हुन्छ ।आफैँ निर्णय गर्ने क्षमतामा पनि वृद्धि हुन्छ । स्वतन्त्र रुपमा पुस्तक पढ्ने बानीले बालबालिकाको आत्मविश्वास र निर्णय क्षमता वृद्धि भएको विभिन्न समयमा भएका अध्ययनहरूले पनि देखाएका छन् ।
८. नैतिकताको विकास
लोककथा, मिथक, र प्रेरणादायी किताबले बालबालिकालाई सही-गलत छुट्याउन सिकाउँछ । जस्तो ‘बुद्धका कथा जस्ता किताबले करुणा र इमानदारीको पाठ सिकाउँछ ।
यो पाठ्यपुस्तकको औपचारिक शिक्षाभन्दा अन्य पुस्तकका ज्ञान गहिरो र व्यावहारिक हुन्छ ।
९. तनाव व्यवस्थापन र मनोरञ्जन
स्कूलको पढाइ, पाठ्यपुस्तक र गृहकार्यले गर्दा बालबालिकालाई तनाव भइरहेको हुनसक्छ। कथा वा हास्य किताबले तनाव कम गर्छ । बालबालिकालाई मनोरञ्जन पनि प्रदान गर्छ, जुन पाठ्यपुस्तकबाट मिल्दैन । यस्तोमा उनीहरूको मानसिक स्वास्थ्यलाई पनि राम्रो बनाइरहेको हुन्छ ।
१०. डिजिटल स्क्रिनको समय कम गर्न सकिन्छ
अहिले प्राय बालबालिकालाई सानै उमेरदेखि मोबाइल, ट्याब, ल्यापटप आदिमा भिडियो हेर्ने, गेम खेल्ने त बानी बसेको हुन्छ । यदि उनीहरूले रुचिका पुस्तक पढ्न पाएको खण्डमा डिजिटल स्क्रिनमा समय बिताउन कम गर्नेछन् र सिर्जनात्मक कार्यमा ध्यान जान्छ ।
प्रतिक्रिया 4