
२९ चैत, काठमाडौं । लामो खडेरीपछि परेको एकछिनको वर्षाले नेपालको रणनीतिक सडक पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डमा सडक अवरुद्ध भएको घण्टौं भइसकेको छ ।
आयोजनाका अनुसार २७ चैत राति परेको पानीका कारण दाउन्ने खण्डमा सडक हिलाम्य भएको छ ।
सवारीसाधन चिप्लिने समस्याका कारण यातायात साधन सहजै चल्न सकेका छैनन् । अहिले पनि दाउन्ने क्षेत्रमा दुवैतर्फ सवारीसाधनको लाइन लामो छ ।
आयोजनाले यो सडक हुँदै यात्रा गर्न खोज्नेलाई विकल्प खोज्न भनेको छ । आयोजनाले भनेको छ, ‘यो सडक हुँदै यात्रा गर्न खोज्नु हुने यात्रुजनले आज यो सडकको वैकल्पिक सडक प्रयोग गरिदिनु हुन अनुरोध छ ।’
उता, सडक प्रयोगकर्ताले समेत १२/१३ घण्टादेखि सडक जाममा परेको भन्दै सरकारको आलोचना गरिरहेका छन् । एकछिनको वर्षाले यो हालत बनाएको दाउन्ने सडकले आसन्न वर्षालाई समेत चेतावनी दिएको छ । पानी नपरेसम्म धुलाम्य सडकले यहाँ यातायात असहज बनेको थियो ।
आयोजनाले २७ चैतदेखि नै यो सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोक्न थालेको छ । दाउन्ने खण्डमा आवश्यक सडक मर्मत सम्भार र निर्माण प्रयोजनका लागि सवारी रोक्नुपरेको आयोजनाको तर्क छ ।
यो सडक १ वैशाखदेखि भने १५ दिनसम्म राति ११ देखि भोलिपल्ट बिहान ५ बजेसम्म बन्द गरिँदैछ । सवारीसाधन रोकेर कामलाई तीव्रता दिन लागिएको आयोजनाको तर्क छ ।
प्रतिक्रिया 4