
बच्चाहरूले खेलको माध्यमबाट संसार बुझ्छन् । स्विस मनोवैज्ञानिक जीन पियाजे यसै भन्छन् । किनकी, जब बच्चाले खेलौनासँग खेल्छ, उसले आफ्नो संवेदनशीलता र तर्क गर्ने क्षमता विकास गर्छ । त्यसकारण खेल खेल्ने प्रक्रियालाई ‘कग्नेटिभ डेप्लपमेन्ट’ भनिन्छ ।
‘कग्नेटिभ डेभलपमेन्ट’ भनेको सोच्ने, सिक्ने, सम्झने र समस्या समाधान गर्ने क्षमताको विकास हो । उदाहरणका लागि, एउटा बच्चाले ब्लक जोड्दा उसको हात–आँखाको समन्वय र स्थानको सन्तुलन र समाधानबारे बुझाइ बढ्छ ।
बालबालिकाको मनोरञ्जनका लागि खेलौना जति महत्त्वपूर्ण हुन्छन्, उनीहरूको शारीरिक र मानसिक विकासका लागि पनि त्यतिकै उपयोगी हुन्छ ।
खेलौनाले बच्चाको कल्पनाशक्तिलाई पनि बढाउँछ । एउटा साधारण गुडियालाई बच्चाले आफ्नी बहिनी वा साथी बनाउन सक्छ । बच्चाहरू काल्पनिक संसारमा खेलौनालाई कल्पिएर कथा रच्ने गर्छन् ।
यी खेलमा हुने प्रक्रियाले बच्चाको मस्तिष्कमा नयाँ ‘स्नायु कनेक्सन’ बनाउँछ, जसले उसको सामाजिक सम्बन्ध, सिर्जनात्मकता र समस्या समाधान गर्ने क्षमता बढाउँछ ।
मनोवैज्ञानिक लेभ भाइगोत्स्कीले भनेका छन्, ‘खेलले बच्चालाई सामाजिक नियम र सम्बन्ध सिकाउँछ।’
समूहमा खेलिने खेल (जस्तै लुडो) ले बच्चालाई पालो पर्खन, सहकार्य गर्न र हारजित स्वीकार्न सिकाउँछ । यसरी खेलौनाले बच्चाको मनोवैज्ञानिक विकासमा ठूलो भूमिका खेल्छ।
भावनात्मक विकासमा सहयोग
बच्चालाई उमेर बढेसँगै शारीरिक विकास भएर मात्र पुग्दैन । भावनात्मक विकास पनि बच्चाको जीवनको महत्त्वपूर्ण पक्ष हो । खेलौनाले यो प्रक्रियालाई सहज बनाउँछ।
पहिलो, खेलौनाले बच्चालाई आफ्ना भावनाहरू व्यक्त गर्न सिकाउँछ । उदाहरणका लागि, एउटा टेडी बियरलाई अँगालो हाल्दा बच्चाले सान्त्वना र सुरक्षाको अनुभव गर्छ । यो भावनात्मक संलग्नताले बच्चालाई तनाव र डरसँग जुध्न सिकाउँछ ।
दोस्रो, खेलौनाले बच्चालाई आत्मविश्वास बढाउन मद्दत गर्छ । जब बच्चाले एउटा पजल पूरा गर्छ वा खेलौना गाडी बनाउँछ, उसले आफ्नो क्षमतामाथि भरोसा गर्न थाल्छ ।
तेस्रो, खेलौनाले बच्चाको सामाजिक–भावनात्मक बन्धन बलियो बनाउँछ ।साथीहरूसँग खेलौना बाँड्दा वा सँगै खेल्दा बच्चाले मित्रता, सहानुभूति, र सहयोगको भावना सिक्छ । चौथो, खेलौनाले बच्चालाई भावनात्मक नियन्त्रण सिकाउँछ । हार्दा रिसाउने वा जित्दा अहंकार नगर्ने कुरा खेलमार्फत सिकिन्छ ।
नेपालमा परम्परागत खेलौना जस्तै गुच्चाले पनि बच्चाहरूलाई समूहमा खेल्न र भावनात्मक रूपमा सन्तुलित हुन सिकाएको छ । यस्ता गतिविधिले बच्चाको भावनात्मक परिपक्वता बढाउँछ। यद्यपि, यो खेल विस्तारै हराउँदै गइरहेको छ ।
किन बच्चाहरूले खेलौना मन पराउँछन ?
बच्चाहरूले खेलौना किन मन पराउँछन् भन्ने कुरा जैविक, मनोवैज्ञानिक र सामाजिक कारणहरूमा आधारित छ । खेल्नु बच्चाको प्राकृतिक प्रवृत्ति हो । जैविक रूपमा, खेलले मस्तिष्कमा डोपामिन नामक हर्मोन निस्कन्छ, जसले उनीहरूलाई खुसी र सन्तुष्टिको अनुभव दिन्छ।
खेलौनाले बच्चालाई स्वतन्त्रताको अनुभव गराउँछ । दैनिक जीवनमा अभिभावकको नियन्त्रणमा रहने बच्चाले खेलौनासँग खेल्दा आफ्नो संसार आफैँ बनाउन सक्छ ।
खेलौनाले जिज्ञासा मेटाउँछ । एउटा रंगीन बल वा आवाज निकाल्ने खेलौनाले बच्चाको संवेदनालाई उत्तेजित गरी त्यससम्बन्धी अनुसन्धान गर्न प्रेरित गर्छ ।
यसले बच्चालाई सामाजिक सम्बन्धको अभ्यास गर्न मौका दिन्छ । गुडियासँग कुरा गर्नु वा खेलौना गाडी चलाउनुले बच्चालाई वास्तविक जीवनको नक्कल गर्न सिकाउँछ ।
खेलौनाले बच्चाको ऊर्जालाई सही दिशामा लगाउँछ । बच्चाहरू स्वाभाविक रूपमा सक्रिय हुन्छन् र खेलौनाले यो ऊर्जालाई रचनात्मक बनाउँछ ।
खेलौनाले बच्चालाई पहिचान बनाउन सहयोग गर्छ । जस्तो कि, आफूलाई मन पर्ने खेलौना छनोट गर्दा बच्चाले आफ्नो व्यक्तित्व व्यक्त गर्छ । खेलौनाले परम्परा र संस्कृतिलाई पनि झल्काउँछ।
दीर्घकालीन प्रभाव
खेलौनाको प्रभाव बच्चाको बाल्यकालमा मात्र सीमित हुँदैन । यसले उसको दीर्घकालीन व्यक्तित्व र सीपलाई पनि आकार दिन्छ। उदाहरणका लागि, रचनात्मक खेलौनाले बच्चालाई भविष्यमा इन्जिनियर वा कलाकार बन्न प्रेरित गर्न सक्छ ।
सामाजिक खेलहरूले नेतृत्व र टिमवर्कको गुण विकास गर्छ। भावनात्मक रूपमा बलियो बच्चा वयस्क भएपछि जीवनका चुनौतीहरूसँग राम्रोसँग जुध्न सक्छ। त्यसैले, खेलौना केवल वस्तु होइन, यो बच्चाको भविष्यको आधार हो।
बच्चाको खेलौना कसरी छनौट गर्ने ? १० आइडिया
बच्चाको लागि खेलौना छनौट गर्नु भनेको केवल बजारबाट कुनै वस्तु किनेर ल्याउनु मात्र होइन । यो एउटा यस्तो निर्णय हो जसले बच्चाको विकासको आधार तय गर्छ । बच्चाको उमेर, रुचि र स्वभावअनुसार बच्चाका लागि खेनौना छनोट गर्नुपर्छ ।
एक वर्षको बच्चाले गुच्चा, ब्लक जस्ता खेलौना निल्न सक्छ, त्यसैले ठूला र नरम खेलौनाहरू उपयुक्त हुन्छन्। साना बच्चाहरूका लागि ठूला र सुरक्षित खेलौनाहरू उपयुक्त हुन्छन् भने ठूला बच्चाहरूका लागि जटिल र रचनात्मक खेलौनाहरू ठिक हुन्छन् ।
चार–पाँच वर्षका बच्चाहरूका लागि भने पजल वा रचनात्मक खेलौनाहरू ठिक हुन्छन्।
कस्ता खेलौना छनोट गर्ने ?
सुरक्षित
खेलौनामा साना टुक्राहरू, धारिला किनारा भएका वा विषाक्त रङहरू प्रयोग भएका नहोस् भन्ने सुनिश्चित गर्नुपर्छ । प्लास्टिकका खेलौनामा पनि विषाक्त रसायन हुन सक्छ । कुनै भाग धारिला, तिखा हुनसक्छन् । सुरक्षित सामग्रीबाट बनेका खेलौनाहरू छनोट गर्नुपर्छ ।
सिक्न मद्दत गर्ने
बच्चाहरूलाई रचनात्मक बनाउने र सिकाइ प्रक्रियामा मद्दत गर्ने खालका खेलौना छनोट गर्नुपर्छ । खेलौनाले बच्चाको सिकाइलाई प्रोत्साहन गर्नुपर्छ । जस्तै अक्षर, संख्या, रङ वा समस्या समाधान गर्ने क्षमता विकास गर्ने खालका खेलौना उपयुक्त हुन्छ । अक्षर लेखिएको ब्लकले बच्चालाई पढ्न, सिक्न प्रेरित गर्छ ।
रुचिअनुसार
खेलौना किन्दा बच्चाको रुचि विशेष ध्यान दिनुपर्छ । यदि बच्चालाई गाडी मन पर्छ भने, गाडीको खेलौना किन्दा उसको उत्साह बढ्छ। यी सबै कुराले खेलौना छनौटलाई प्रभावकारी बनाउँछ। बच्चाको रुचि नबुझीकन खेलौना किनिदिँदा बच्चा त्यसमा खुसी हुन सक्दैन ।
रचनात्मकता बढाउने
ब्लक, पजल, वा कला सम्बन्धी खेलौनाहरूले बच्चाको कल्पनाशक्ति र रचनात्मकता बढाउँछ ।
सामाजिक सीप सिकाउने
धेरै बच्चाहरूसँग खेल्न मिल्ने क्यारिम बोर्ड, चेस, लुडो जस्ता खेलौना किन दिँदा बच्चाले समूहमा मिलेर खेल्ने र सामाजिक भावना सिक्न सक्छन् ।
शारीरिक व्यायम हुने
बल, साइकल, व्याटमिन्टन जस्ता शारीरिक कसरत हुने खालका खेलौनामा पनि जोड दिनुपर्छ । यसले बच्चाको शारीरिक विकासमा सहयोग गर्छ।शरीरमा रोगप्रतिरोधी क्षमता विकास गर्न र स्वस्थ रहन र खाएका कुरा पच्न पनि मद्दत मिल्छ ।
टिकाउ खालका
खेलौना बलियो र लामो समय टिक्ने खालको हुनुपर्छ, पटक-पटक विग्रिइरहने, समस्या आइरहने खेलौनाले बच्चाहरू झिजो मान्ने गर्छन् । यस्ता खेलौनामा भएको लगानी खेर जाने हुन्छ ।
सँस्कृतिक जोडिएका
परम्परागत रुपमा खेलिने गुच्चा, ढ्याक, चुंगी जस्ता खेलौनाको जोहो गरिदिएर परम्परागत खेललाई नयाँ पुस्तामा परिचित बनाउन पनि सकिन्छ ।
बजेटअनुसार
खेलौँना किन्दा आफ्नो आर्थिक अवस्थालाई पनि ध्यानमा राख्नुपर्छ । बजेट भन्दा महँगा खेलौना किनिदिने बानी गरेमा बच्चाहरूले पछि पनि त्यस्तै किसिमको खेलौना माग गर्न सक्छन् । यसले उनीहरूमा अभिभावकको क्षमता भन्दा बढी अपेक्षा राख्ने बानी बस्नसक्छ ।
प्रतिक्रिया 4