
३० चैत, काठमाडौं । काठमाडौं शहरलाई दूषित वायुले ढप्प ढाकेको थियो । दुनियाँभरकै ‘प्रदूषित शहर’ भनी सूचांकित हुँदै गर्दा हामी भने शिवपुरी माथिको बाटो उक्लदै थियौँ ।
हुन त हामी धाप ड्यामलाई लक्ष्य बनाएर निस्किएका थियौँ । त्यो कृतिम जलाशय नजिक पुगेर रमाइलो गर्ने मुडमा थियौँ । काठमाडौं आसपासको यस जलाशयमा पछिल्लो समय आगन्तुकको भीड लाग्न थालेको छ । २४ मिटर अग्लो र १७५ मिटर चौडा बाँध उत्तिकै मनमोहक पनि देखिन्छ ।
यस जलाशयले ११ लाख घनमिटर पानी संग्रहित गर्ने क्षमता राख्छ । भूकम्पीय जोखिम थेग्न सक्नेगरी यसलाई नयाँ प्रविधिमा आधारित रहेर निर्माण गरिएको छ । काठमाडौं उपत्यकाको उत्तर-पूर्वी भागमा, गोकर्णेश्वर नगरपालिकामा यो अवस्थित छ ।
क्षितिजसँगै मिलेको जस्तो देखिने यो जलाशय आसपसमा घना जंगल छ । शहरको कोलाहाल र धपेडीबाट उम्किएर नजिकै रहेको यस स्थानमा पुग्दा फरक किसिमको अनन्द महसुस हुन्छ ।
हुन त यो बाँध बागमती नदीको जलप्रवाहलाई सुधार गर्न, सुख्खा मौसममा पानीको बहाव कायम राख्न र जैविक विविधता संरक्षण गर्ने ध्येयले निर्माण गरिएको हो । यद्यपि पछिल्लो समय यहाँ रमिता हेर्नका लागि काठमाडौं आसपासका व्यक्तिहरूको घुँइचो लाग्न थालेको छ ।
काठमाडौंको केन्द्र रत्नपार्कबाट त्यहाँसम्म पुग्न १०–१२ किलोमिटरको दूरी छिचोल्नुपर्छ ।
धाप ड्यामको सुन्दरता आफ्नो ठाउँमा छ । तर, त्यहाँसम्म पुग्नका लागि हामी जुन बाटो पहिल्याउँछौं, त्यसको पनि बेग्लै सुन्दरता छ । गाडीको हर्न, भीडभाड, धुवाँधुलोलाई चटक्कै छाडेर त्यो एकलासे जंगलमा उक्लिएपछि मन पनि हराभरा हुन्छ ।
प्रतिक्रिया 4