
२९ चैत, काठमाडौं । सरकारलाई ५ वर्षे डिजिटल घुमन्ते भिसा दिन सिफारिस गरिएको छ ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाउँदै डिजिटल घुमन्ते भिसा दिन सुझाव दिएको हो ।
‘मासिक १ हजार ५ सय अमेरिकी डलरभन्दा बढी आम्दानी भएको वा २० हजार अमेरिकी डलरभन्दा बढी बैंक मौज्दातको प्रमाण र नेपालका अस्पतालमा गराएको उपचारको भुक्तानी हुन सक्ने १ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य बीमा गराएको प्रमाणका आधारमा एक पटकमा पाँच वर्ष म्याद भएको बहुप्रवेश डिजिटल घुमन्ते प्रवेशाज्ञा जारी गर्ने व्यवस्था गर्ने । यस्तो प्रवेशाज्ञा–वाहकको पति वा पत्नीलाई पनि प्रवेशाज्ञा प्रदान गर्ने,’ आयोगको प्रतिवेदनमा छ ।
प्रतिवेदन अनुसार डिजिटल घुमन्ते भिसाको म्याद ५ वर्षको भए पनि एक पटकमा अधिकतम एक वर्षको मात्र आवासीय स्वीकृत दिन सुझाव सरकारलाई दिइएको छ ।
परिवर्त्य खाता खोल्न दिने
डिजिटल घुमन्ते प्रवेशाज्ञा वाहकलाई नेपालको वाणिज्य बैंकमा परिवर्त्य मुद्राको खाता खोल्न दिने र त्यस्तो खातामा बचत रहेको रकम ५० हजार डलरभन्दा बढी भएमा बढी भएजतिको रकम जुनसुकै बेला पनि विदेशको बैंकमा ट्रान्सफर गर्न दिने सुझाव दिइएको छ ।
त्यस्तै ५ वर्षको भिसा अवधि सकिएपछि भिसा नवीकरण नगराए बैंकमा मौज्दात रहेको पूरै रकम लैजान दिन पनि आयोगले सुझाव दिएको छ ।
यसैगरी डिजिटल घुमन्तेले नेपालमा बसी काम गरेर आर्जन गरेको वैदेशिक आयमा यदि १ सय ८३ दिन वा त्यसभन्दा बढी नेपालमा निरन्तर बसेको हो भने एकमुष्ट ५ प्रतिशत आयकर लगाउने समेत उल्लेख छ ।
यस्तै डिजिटल घुमन्ते भिसावाहकलाई सवारीसाधन आफ्नै नाममा खरिद गरेर दर्ता गर्न दिने र स्थायी आवास भएको मुलुकले जारी गरेको सवारी चालक प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था गर्न सरकारलाई सुझाव रहेको छ ।
प्रतिक्रिया 4