+
वर्षान्त-०८१ :

खेलकुदमा कीर्तिमानी वर्ष

२०८१ चैत  ३१ गते २१:०४ २०८१ चैत ३१ गते २१:०४

यस वर्ष नेपाली खेलकुदमा यी इतिहास रचियो भने अन्य विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिताहरूसमेत भए ।

खेलकुदमा कीर्तिमानी वर्ष

३१ चैत, काठमाडौं । ऐतिहासिक उपलब्धिको वर्ष । नेपाली खेलकुदले इतिहास रचेको वर्ष । विश्वकपको वर्ष । विश्वकपमा नेपालको ऐतिहासिक सफलताको वर्ष ।

पलेशा गोबर्धन, एरिका गुरुङ, महिला र पुरुष खो खो टिमले नेपाललाई ठूलो उपलब्धि दिलाउँदा क्रिकेट टिमले टी२० विश्वकपमा पुनरागमन गर्‍यो, महिला यू१९ टिमले पहिलो पटक यू१९ विश्वकप खेल्यो ।

वर्ष २०८१ नेपालको लागि विश्वकपकै वर्ष रह्यो । त्यसमा पनि खो खो टिमले प्राप्त गरेको सफलता त नेपाली खेलकुदमै इतिहासको रुपमा रहेको छ ।

वर्षको अन्तिममा समेत व्यस्त बनिरहेको नेपाली खेलकुद-२०८१ मा निरन्तर छाइरह्यो । विशेषगरी यो वर्ष नेपाली खेलकुदका लागि विश्वकप र ओलम्पिकको वर्ष रह्यो ।

यस वर्षले बिट मार्नै लाग्दा नेपाली यू१९ क्रिकेट टोलीले अर्को वर्ष जिम्बावेमा हुने यू१९ विश्वकप खेल्ने लक्ष्यसहित आउने आइतबारदेखि घरेलु मैदानमा यू१९ विश्वकप छनोटको यात्रा सुरु गर्दैछ ।

यस्तै सिनियर क्रिकेट टोलीले हङकङमा भइरहेको हङकङ टी२०आई सिरिजमा प्रतिस्पर्धा गरिरहेको छ । यही बेला दशरथ रंगशालमा नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण चलिरहेको छ ।

अन्य घरेलु खेलकुद गतिविधि पनि चलिरहेको छ ।

नेपालको पुरुष र महिला खोखो टिमले यही वर्ष खोखो विश्वकप खेल्दै दुवै टिम उपविजेता बन्न सफल भयो । क्रिकेटमा सिनियर पुरुष टिमले टी२० विश्वकप खेल्यो । महिला यू१९ टिमले पनि यू१९ टी२० विश्वकपमा यसै वर्ष डेब्यु गर्‍यो ।

नेपालको खोखो टोली र क्रिकेट टोलीले यस वर्ष विश्वकप खेले । खोखोमा नेपालको महिला र पुरुष टोलीले ऐतिहासिक सफल हात पारे । पारालिम्पिकका नेपालकी पलेशा गोबर्धनले ऐतिहासिक काँस्य पदक दिलाइन् । यस्तै क्रिकेटमा पुरुषको सिनियर टिम र महिलाको जुनियर टिमले विश्वकप खेले ।

यसबाहेक अन्य खेलमा नेपाली खेलाडीहरूले विश्व च्याम्पियनसिप एसियन च्याम्पियनसम्म विभिन्न प्रतियोगिता खेले । त्यसमा कराँते स्टार एरिका गुरुङले एसियन कराँते च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेर इतिहास रचिन् ।

व्यक्तिगततर्फ नेपालको लागि पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले यसै वर्ष पारालिम्पिकमा ऐतिहासिक काँस्य पदक जितेर नेपाललाई विश्वभर चिनाइन् । कराँतेकी स्टार एरिका गुरुङ लगातार छाइरहिन् । उनले भाग लिएको (वर्ल्ड च्याम्पियनसिप बाहेक) सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितिन् ।

पहिलो पटक एसियन कराँते च्याम्पियनसिपमा उनै एरिकाले नेपालका लागि रजत पदक जितिन् भने के वान युथ लिगमा पनि रजत पदक नै जितिन् । पहिलो पटक वर्ल्ड च्याम्पियनसिप खेलिन् । एरिकाको लागि सफलता वर्ष रहे पनि उनै अझै अन्तर्राष्ट्रिय स्वर्णको खोजीमा छिन् ।

मुयाथाईका गुणराज रुचालले विश्व मुयाथाई च्याम्पियनसिपमा स्वर्ण पदक जिते ।

यसबाहेक भलिबल, फुटबल र अन्य विभिन्न खेलकुदमा नेपाली खेलाडीहरूले सहभागिता जनाए । विभिन्न पदकहरू प्राप्त गरे ।

यस वर्ष नेपाली खेलकुदमा यी इतिहास रचियो भने अन्य विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिताहरूसमेत भए । वर्ष २०८१ मा नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा प्राप्त गरेका मुख्य उपलब्धिहरू यस्ता छन् ।

खोखो विश्वकप दुवै टोली उपविजेता

नेपालको पुरुष र महिला खोखो टिमले यस वर्ष ऐतिहासिक सफलता हासिल गरे । पहिलो पटक आयोजना भएको खोखो विश्वकपमा नेपालको दुवै टोली उपविजेता बन्न सफल भए ।

नयाँदिल्लीस्थित इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा माघमा भएको विश्वकपमा नेपाल दुवैतर्फको फाइनलमा भारतसँगै पराजित भयो ।

हेमराज पनेरुको कप्तानीमा रहेको पुरुष टोली फाइनलमा भारतसँग ५४–३६ स्कोरले पराजित भयो । सरस्वती कठायतको कप्तानीमा रहेको महिला टोली भारतसँगै ७८–४० स्कोरले पराजित भएको थियो ।

पारालिम्पिकमा ऐतिहासिक पदक, ओलम्पिकमा सहभागितामै सीमित

वर्ष २०८१ मा नेपालले पारालिम्पिकमा पहिलो पटक पदक जित्यो । फ्रान्सको पेरिसमा भएको पारालिम्पिक्स २०२४ मा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले ऐतिहासिक पदक जितिन् ।

गत वर्ष चीनमा छनोट चरण पार गरेर पलेशा पारालिम्पिकमा पुगेकी थिइन् । चीनको ताइवानमा भएको पारालिम्पिकको एसियाली छनोटमा स्वर्ण जित्दै पारालिम्पिकमा छनोट भएकी पलेशाले पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि प्रतिस्पर्धामा काँस्य पदक जितिन् ।

फ्रान्सको पेरिसमा भएको ३३औं गृष्मकालीन ओलम्पिकमा भने नेपाली खेलाडीको प्रदर्शन राम्रो हुन सकेन । टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, ब्याडमिन्टनका प्रिन्स दाहाल र पौडीका एलेक्स शाह र डुवाना लामा आ-आफ्नो इभेन्टमा पहिलो चरणबाटै बाहिरिए ।

एलेक्सले आफ्नो इभेन्टमा राष्ट्रिय कीर्तिमानमा सुधार गर्नुबाहेक पेरिसमा नेपाली खेलाडीको प्रदर्शन बिर्सनलायक रह्यो । महिला म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठले ७९औं स्थानमा रहेर दौड पूरा गरिन् ।

क्रिकेटमय वर्ष

वर्ष २०८१ नेपालका लागि क्रिकेटमय रह्यो । राष्ट्रियदेखि अन्तर्राष्ट्रियसम्म क्रिकेटमा सुखद रह्यो ।

नेपालको सिनियर टोलीदेखि उमेर समूहका टोलीहरूले ऐतिहासिक उपलब्धिसहित अन्य प्रतियोगितामा सफल प्रदर्शन गरे ।

नेपालको पुरूष राष्ट्रिय टोलीले १० वर्षपछि टी–२० विश्वकपमा सहभागिता जनायो । जेठमा अमेरिका र वेष्ट इन्डिजमा भएको टी-२० विश्वकपमा समूह चरणबाट अगाडि बढ्न नसके पनि नेपाली क्रिकेट टोलीको प्रदर्शनबारे विश्वव्यापी चर्चा भएको थियो ।

नेपालले समूह चरणमा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका र बंगलादेशसँग प्रतिस्पर्धा गरेको थियो । श्रीलंकासँगको खेल वर्षाले प्रभावित बनाए पनि नेपालले विश्वको उत्कृष्ट टिम दक्षिण अफ्रिकासँग पहिलोपटक खेल्यो ।

उक्त खेलमा नेपाल ऐतिहासिक जित हासिल गर्नबाट १ रनले मात्र चुक्यो । अन्य खेलमा पनि नेपालले सानदार बलिङ प्रदर्शन गर्दै राम्रो चुनौती प्रस्तुत गरेको थियो ।

महिला क्रिकेटतर्फ पनि नेपालका लागि वर्ष २०८१ ऐतिहासिक उपलब्धि प्राप्त गर्ने वर्ष रह्यो । नेपालको यू–१९ महिला क्रिकेट टोलीले विश्वकप एसिया छनोट जित्दै सन् २०२५ मा हुने आईसीसी महिला टी–२० विश्वकपमा स्थान बनाउन सफल भयो ।

खेलाडीहरूले मैदानभित्र सफलता हात पार्दैगर्दा मैदान बाहिर भने राजनीति र विवाद कायमै रह्यो ।

नेपाल यू-१९ महिला टोलीले पहिलो पटक यू-१९ महिला विश्वकप खेल्दै इतिहास रच्यो । नेपालको कुनै पनि महिला टोलीले विश्वकप खेलेको यो पहिलो पटक हो ।

मलेसियामा भएको यू-१९ महिला विश्वकपमा नेपाल समूह चरणमा बंगलादेश, स्कटल्यान्ड र अष्ट्रेलिया तीन टिमसँग पराजित भयो । स्कटल्यान्डसँग जित नजिक पुगेर पनि नेपाल १ विकेटले चुक्यो ।

१३-१६औं स्थानको लागि भएको प्लेअफ खेलमा भने नेपालले मलेसियालाई पराजित गर्‍यो । नेपालकी कप्तान पूजा महतो यू-१९ महिला विश्वकपको टिम अफ दी टुर्नामेन्टमा पर्न सफल भइन् ।

निकै लयमा देखिएको महिला यू–१९ क्रिकेट टोलीले यसै वर्षको अन्त्यमा यू–१९ टी–२० एसिया कप पनि खेलेको थियो, जहाँ पाकिस्तानलाई पराजित गर्दै सुपर फोरमा स्थान बनाएको नेपाली टोली फाइनलमा भने पुग्न सकेन ।

महिला सिनियर टोलीले पनि एसीसी प्रिमियर कप क्रिकेट खेलेको थियो, जहाँ सेमिफाइनलसम्मको यात्रा तय गर्दै तेस्रो भयो र टी–२० एसिया कपका लागि छनोट भयो ।

एसिया कपमा यूएईलाई हराउँदै पहिलो जित हात पारे नेपाल पनि समूह चरणबाट अघि बढ्न भने सकेन ।

नेपाली पुरूष टोलीले पहिलोपटक हङकङ सिक्सेस प्रतियोगितामा सहभागिता जनाएको थियो, जहाँ अस्ट्रेलिया र इंग्ल्यान्डको टिमलाई पराजित गरेको थियो ।

क्वार्टरफाइनलमा श्रीलंकासँग पराजित भएको नेपाल प्लेट सेमिफाइनलमा यूएईसँग पराजित भयो ।

त्यसैगरी, नेपाली पुरूष टोलीले एसीसी प्रिमियर कप खेल्यो । समूह चरणमा राम्रो प्रदर्शन गरे पनि सेमिफाइनलमा भने चिरपरिचित प्रतिद्वन्दी यूएईसँग पराजित हुँदै लगातार दोस्रोपटक एसिया कप खेल्नबाट नेपाल चुक्यो ।

नेपालको सिनियर टोलीले २०८१ सालमा मा वेस्ट इन्डिज ‘ए’ सँग ऐतिहासिक घरेलु टी–२० शृङ्खला पनि खेल्यो । वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल आएको त्यो पहिलोपटक थियो । शृंखलामा नेपाल ३–२ ले पराजित भए पनि उक्त शृङ्खलाले नेपालको टी–२० विश्वकप सहभागिताअघिको तयारीमा ठूलो मद्दत गर्‍यो ।

यस वर्ष नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा कुल दुई एकदिवसीय शृंखलामा ८ खेल खेल्यो । अघिल्लो वर्षदेखि सुरु भएको लिग टुको पहिलो शृंखला नेपालले घरेलु मैदानमै खेल्दा जम्मा १ खेल नै जितेको थियो ।

नर्थ अमेरिकामा भएको दुई लिग टु सिरिजमा नेपालले जम्मा एक खेल मात्र जित्न सक्यो । क्यानडामा भएको ओमान र क्यानडासँगको शृंखलामा कुनै पनि खेल जित्न सकेन भने त्यसलगत्तै अमेरिकामा भएको स्कटल्यान्ड र अमेरिकासँगको शृंखलामा नेपालले एक खेल मात्र जित्न सक्यो ।

८ टोली सहभागी लिग टुमा नेपाल १२ खेलबाट ६ अंकसहित सातौं स्थानमा छ । नेपालभन्दा पछि यूएई मात्र छ ।

लिग टुका शृंखलाहरूमा नेपालले टी–२० आई पनि खेलेको थियो । अमेरिकामा भएको टी–२० शृंखलामा नेपालले क्लिन स्वीप नै गर्‍यो । क्यानडामा भएको टी-२० सिरिजमा भने नेपालको नतिजा मिश्रित रह्यो ।

क्यानले पहिलो पटक ८ टोली समावेश गरेर नेपाल प्रिमियर लिग (एनपीएल) को आयोजना गर्‍यो । शिखर धवनदेखि मार्टिन गप्टिल जस्ता विश्वका स्टार खेलाडीहरू आएर खेलेको एनपीएल जनपुर बोल्ट्सले जित्यो । निकै तामाझामका साथ आयोजना भएको एनपीएलले विश्वभर चर्चा पाए पनि यसको आयोजनाका विषयमा धेरै विवाद पनि बाहिर आए । दर्शकको व्यवस्थापनदेखि विभिन्न पक्षमा आयोजकको आलोचना भयो ।

भलिबलमा सफल वर्ष

वर्ष २०८१ नेपाली भलिबलका लागि ऐतिहासिक बन्यो । अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका पाँचवटै प्रतियोगितामा नेपाली टिमले पदक जित्न सफल भयो । त्यसमा पनि यस वर्ष नेपालले काभाको दुई अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्‍यो ।

महिला भलिबल टोलीले करिब चार दशक लामो अन्तर्राष्ट्रिय इतिहासमा यसै वर्ष पहिलो पटक भारतलाई हरायो ।

नेपालले यस वर्ष काभाको चार नयाँ प्रतियोगितामा खेल्यो । जसमा नेपाली टिम च्याम्पियन बन्नेदेखि कम्तीमा शीर्ष तीनमा पर्न सफल भयो ।

यस वर्ष नेपालले सुरुमा काभा वुमन्स नेसन्स लिग आयोजना गरेको थियो । जसमा भारतलाई लिग चरणमा पराजित गर्दै सनसनी मच्चायो । तर फाइनलमा त्यही भारतसँग प्रतिस्पर्धात्मक खेलमा ३-२ को सेटमा पराजित हुँदा घरेलु कोर्टमा उपाधि जित्ने सपना भने अधुरै रह्यो ।

यसैगरी, पहिलोपटक आयोजना भएको काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेको नेपाल पुलिस क्लबले अपराजित रहँदै उपाधि जित्यो ।

यसैगरी, घरेलु कोर्टमा भएको पुरुषतर्फको काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लब उपविजेता बन्यो । नेपालबाट हेल्प नेपाल र गण्डकी प्रदेश दुई टिमले सहभागिता जनाए पनि गण्डकी सेमिफाइनल पुग्न सकेन ।

हेल्प नेपालले फाइनलअघिसम्म सानदार प्रदर्शन गरे पनि फाइनलमा भारतीय क्लब क्यालिकट हिरोजसँग पराजित हुँदै घरेलु कोर्टमै उपाधि उचाल्ने मौका गुमाएको थियो ।

यस्तै, काभाले यसै वर्ष महिला र पुरुषको यू–२० च्याम्पियनसिप आयोजना गरेको थियो । जसमा नेपाल पनि सहभागी भयो । श्रीलंकामा भएको काभा मेन्स यू–२० भलिबल च्याम्पियनसिपमा नेपालले ऐतिहासिक रजत पदक जित्यो । यसैगरी माल्दिभ्समा भएको काभा वुमन्स यू–२० भलिबल च्याम्पियनसिपमा नेपाल तेस्रो हुँदै काँस्य पदक जितेको थियो ।

घरेलु भलिबलमा पहिलो पटक फ्रेन्चाइज लिगमो सुरुवात यसै वर्ष भयो । इन्फिनिटी ड्रिम्सको आयोजनामा भएको एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णाली यशभिसले जित्यो ।

फुटबलमा महिला टिमकै चर्चा, साफमा फेरि उपविजेता

२०८१ सालमा पनि फुटबलका लागि पुरानै कथा दोहोरिए । महिला फुटबलले लगातार चर्चा बनाइरहँदा नेपाले यस वर्ष पनि उपाधि जित्न भने सकेन ।

साफ महिला च्याम्पियनसिपमा नेपाल फेरि उपविजेतामै सीमित भयो । दशरथ रंगशालमा भएको साफ वुमन्सको फाइनलमा नेपाल बंगलादेशसँगै पराजित भयो ।

घरेलु मैदानमा भएको साफ वुमन्सको फाइनलमा पनि नेपाल बंगलादेशसँग नै पराजित हुँदा पहिलोपटक साफ महिला च्याम्पियन बन्ने चाहना अधुरै रह्यो । दशरथ रंगशालमा भएको फाइनलमा नेपाल बंगालदेशसँग २–१ ले पराजित भयो ।

तनावग्रस्त सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा हराएर फाइनल पुगेको नेपाल बंगलादेशसँग फेरि फाइनलमा पराजित भयो । घरेलु मैदानमा पछिल्ला तीन साफ महिला च्याम्पियनसिपमा फाइनल पुगे पनि नेपालले उपविजेतामा ह्याट्रिक गर्‍यो ।

यस्तै एन्फाले पहिलो पटक म्यानमार, लेबनान र कीर्गिस्तान तीन देश बोलाएर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा पनि नेपाली महिला टोली उपविजेता नै बन्यो ।

फाइनलमा नेपाल म्यानमारसँग नै पराजित भयो । समूह चरणमा म्यानमारसँग बराबरी खेले पनि नेपालले फाइनलमा भने ठूलो चुनौती दिन सकेन ।

नेपाल महिला फुटबलर भने अन्तर्राष्ट्रियस्तरमै छाए । महिलातर्फ नेपालको लिग च्याम्पियन हैसियतले एपीएफले पहिलोपटक एएफसी वुमन्स च्याम्पियन्स लिगको छनोट चरण खेल्यो ।

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणमा नेपाल जितविहीन बन्यो । छनोटअन्तर्गत नेपालले २०८१ मा अन्तिम दुई खेल खेलेको थियो ।

साउदी अरेबियामा भएको यूएईविरुद्धको खेल ४–० ले पराजित भएको नेपालले साउदीमै भएको यमनविरुद्धको अन्तिम खेल २–२ को बराबरीमा टुंग्याएको थियो । छनोटमा नेपालले गोल गरेको त्यही अन्तिम खेल थियो । जसमा कप्तान किरणकुमार लिम्बुले एक सयौँ क्याप पूरा गरेका थिए ।

यस्तै, नेपालको पुरुष राष्ट्रिय टिमले नोभेम्बरमा ताजकिस्तानमा दुई मैत्रीपूर्ण खेल खेल्दा मिश्रित नतिजा बन्यो । पहिलो खेलमा घरेलु टोली ताजकिस्तानसँग ४–० ले पराजित भएको नेपालले त्यसपछि अफगानिस्तानलाई २–० ले पराजित गरेको थियो । अन्तर्राष्ट्रिय फुटबलमा सात खेलपछि नेपालको त्यो पहिलो जित थियो ।

यही वर्ष नेपाली फुटबलमा नयाँ प्रशिक्षक बनेर आए अष्ट्रेलियन म्याट रोस । उनकै प्रशिक्षणमा नेपालले चैतमा दुई खेल खेलिसक्यो । सिंगापुर विरुद्ध मैत्रीपूर्ण खेलमा १-० को ऐतिहासिक जित निकालेको नेपाल एसियन कप छनोटको पहिलो खेलमा मलेसियासँग २-० ले पराजित भयो । उमेर समूहमा नेपालको फुटबल फेरि कमजोर देखियो । घरेलु मैदानमै भएको साफ यू–२० पुरुष फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भयो ।

महिला र पुरुष दुवैको उमेर समूहमा साफ र एसियालीस्तरमा नेपालको प्रदर्शन कमजोर देखियो । कुनै बेला बलियो रहेको नेपालको उमेर समूहको फुटबल अहिले कमजोर देखिन थालेको छ । ग्रासरुट फुटबल नै कमजोर हुँदा अन्तर्राष्ट्रियस्तरमा पनि उमेर समूहमा नेपाल चुक्दै आएको छ ।

यस्तै, एसियाली क्लबस्तरमा पनि नेपाली क्लबको प्रदर्शन कमजोर रह्यो । नेपालको लिग च्याम्पियन चर्च ब्वाएइज एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमै भुटानको पारो एफसीसँग दशरथ रंगशालमा २–१ ले पराजित हुँदा अघि बढ्न सकेन ।

नेपाल महिला फुटबलर भने अन्तर्राष्ट्रियस्तरमा यस वर्ष छाए । महिलातर्फ नेपालको लिग च्याम्पियन हैसियतले एपीएफले पहिलोपटक एएफसी वुमन्स च्याम्पियन्स लिगको छनोट चरण खेल्यो । तर समूह चरणमा जितविहीन बनेपछि एपीएफ मुख्य समूहमा प्रवेश गर्न सकेन ।

नेपाली महिला फुटबलर साबित्रा भण्डारी, एन्जिला तुम्बापो सुब्बा र रेखा पौडेल भने विदेशी लिगमा खेलिरहेका छन् । साबित्रा लगातार दोस्रो सिजन फ्रेन्च शीर्ष लिग खेलिरहेकी छिन् भने एन्जिलाले युरोमा खेल्ने दोस्रो नेपाली खेलाडी बनिन् । उनले ग्रिक क्लब निस एट्रोमिटोउको पोस्ट सम्हाल्दै आएकी छन् । रेखा युएईको अबुधाबी काउन्टी क्लबबाट खेलिरहेकी छन् ।

बास्केटबल

कुनै समयमा बास्केटबल नेपालमा चर्चित खेलको रूपमा थियो । पछिल्लो समयमा बास्केटबलको अवस्था त्यति राम्रो छैन । तर पनि वर्ष २०८१ मा नेपाली टोली केही अन्तर्राष्ट्रिय बास्केटबल प्रतियोगितामा सहभागी रह्यो । जहाँ नतिजा मिश्रित रह्यो ।

यस वर्ष नेपालले खेलेको सबैभन्दा ठूलो बास्केटबल प्रतियोगिता साबा वुमन्स च्याम्पियनसिप हो । तर तीन टिम मात्र सहभागी यस प्रतियोगितामा नेपालले एक खेल पनि जित्न सकेन ।

यसैगरी, यही वर्ष नेपाली महिला बास्केटबल टिमले सिक्किममा भएको स्टेट लेभल बास्केटबल प्रतियोगिताको खुला महिलातर्फ उपाधि जित्यो । अनुशा मल्लको कप्तानीमा रहेको नेपाली महिला टोली गान्तोकस्थित पाल्जोर स्टेडियम कम्प्लेक्सको इन्डोर बास्केटबल कोर्टमा भएको फाइनलमा सिलोङ लाबोटलाई ५९–२७ ले पराजित गर्दै च्याम्पियन बनेको हो । नेपाली टोली नयाँ युवा खेलाडीहरू समावेश भएकोले उनीहरूको लागि अन्तर्राष्ट्रियस्तरमा पहिलो प्रतियोगिता थियो ।

पुरुष राष्ट्रिय टिममले भने यस वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेन । तर पुरुषको थ्री एक्स थ्री टिमले पनि अन्तर्राष्ट्रियस्तरको एक प्रतियोगितामा उपाधि जित्यो ।

नेपाली राष्ट्रिय थ्री एक्स थ्री पुरुष बास्केटबल टोलीले वर्षको सुरुवातमा वैशाखमा चीनको युनानमा भएको युनान प्रोभिन्स बोर्डर ह्याप्पी भिलेज स्पोर्ट्स कार्निभल थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा स्वर्ण पदक जितेको थियो । नेपालले गत वर्षको विजेता युनानको प्रोभिन्स टिमलाई प्रतिस्पर्धात्मक फाइनलमा २०–१९ हराउँदै उपाधि जितेको हो ।

कराँतेमा छाएकी एरिका

व्यक्तिगत विधामा वर्ष २०८१ मा कुनै खेलाडी अन्तर्राष्ट्रिय स्तरमा निरन्तर छाइन् भने उनी कराँते स्टार एरिका गुरुङ नै हुन् ।

सिनियर स्तरमा कराँतेको एसियन च्याम्पियनसिपदेखि वर्ल्ड च्याम्पियनसम्म खेलेकी उनले यसै वर्ष एसियन च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितिन् । एसियन कराँते च्याम्पियनसिपको महिला ६८ केजीमाथि तौल समूहमा पहिलो पटक फाइनल पुगेकी एरिका फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० ले पराजित भएकी थिइन् ।

एरिका १९औं एसियाडको स्वर्ण विजेतालाई समेत हराएर फाइनल पुगेकी थिइन् । तर एक दिनपछि फाइनल खेल्दा उनी पराजित भइन् ।

एरिकाले जितेको रजत कुनै पनि नेपाली खेलाडीले एसियास्तरमा सिनियर कराँतेमा जितेको पहिलो पदक हो । यसअघि नेपालकी एस्तर राईले सन् २०१८ मा जापानमा भएको एसियाली कराँते च्याम्पियनसिपमा यू–२१ उमेर समूहमा काँस्य पदक जितेकी थिइन् ।

यस्तै एरिका फागुमा यूएईमा भएको के वान युथ लिग कराँते प्रतियोगितामा पनि रजत पदक जितिन् । दुबईमा एरिकाले ६८ केजी माथिको तौल समूहमा उपविजेता हुँदै रजत जितेकी हुन् ।

यसैगरी दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा उनले स्वर्ण जितिन् । पहिलोपटक वर्ल्ड च्याम्पियनसिपमा सहभागी भएकी उनी पदकसम्म भने पुग्न सकिनन् ।

सन् २०२३ मा चीनमा भएको १९औं एसियाडमा ऐतिहासिक रजत जितेपछि एरिका नेपाली कराँतेमा नयाँ स्टार बनेर उदाएकी हुन् ।

कबड्डी

यस वर्ष नेपालको कबड्डी टिमले पनि अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गर्‍यो । धनश्याम मगरको कप्तानीमा रहेको नेपालको पुरुष टिम बंगलादेशमा जेठमा भएको बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा उपविजेता बनेको थियो ।

ढाकास्थित शहीद सुह्रवार्दी इन्डोर स्टेडियममा भएको फाइनलमा नेपाल घरेलु टोली बंगलादेशसँग ४५–३१ ले पराजित भएको थियो । १२ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ को उपविजेता तथा बंगलादेश समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेका थिए ।

नेपालले सेमिफाइनलमा समूह ‘बी’ को विजेता केन्यालाई हराएर फाइनल पुगेको थियो । बंगलादेशले भने सेमिफाइनलमा थाइल्यान्डलाई पराजित गरेको थियो । यस प्रतियोगितामा नेपालका कप्तान धनश्याम उत्कृष्ट खेलाडी घोषित भए ।

यस्तै धनश्यामले भारतमा भएको प्रो कबड्डीको उपाधि पनि जिते ।

यसैगरी यसै वर्ष माघमा कबड्डीको फ्रेन्चाइज लिगसमेत आयोजना भयो । जहाँ धनश्यामको कप्तानीमा रहेको काठमाडौं माभरिक्सलाई हराउँदै जनकपुर नाइट्स च्याम्पियन बन्यो ।

गल्फ

गल्फमा वर्ष २०८१ नेपालका लागि उपलब्धिमुलक रह्यो । नेपाली एमेच्योर गल्फर सद्भाव आचार्यले ऐतिहासिक सफलता हात पारे ।

नेपालका नम्बर वान एमेच्योर गल्फर सद्भाव आचार्यले फाल्डो सिरिजमा ऐतिहासिक उपलब्धि हासिल गरेका हुन् ।

मंसिरमा यूएईको अबुधाबीमा भएको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनलको यू–२१ तर्फ उपाधि जिते । यो प्रतियोगिता जित्ने उनी पहिलो नेपाली खेलाडी पनि बने ।

समग्रमा भने उनी उपविजेता बने ।

अल आइन इक्वेस्टेरियन सुटिङ एन्ड गल्फ कोर्समा सद्भावले ५ अन्डर २०५ को स्कोर गर्दै च्याम्पियन बनेका थिए । उनले डेनमार्कका भिक्टोर कोफोर्ड उसलेनलाई २ स्ट्रोकले पछाडि पारेका थिए ।

यू–१६ ब्वाइजमा नेपालबाट जयवीर आचार्य ११औं र यू–१६ गर्ल्समा आइस्टिना टन्डन नवौं स्थानमा रहे । प्रतियोगितामा युरोपसहित मिडल इस्ट र एसियाबाट ७० जुनियर गल्फरको सहभागिता थियो ।

यसैगरी माघमा बंगलादेशमा भएको ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा पनि सद्भावले ऐतिहासिक उपाधि जिते । सद्भावले बंगलादेशका शफिकुल इस्लम र मोहम्मद शाहबुद्दिनलाई ५ स्ट्रोकले हराउँदै पाधि जितेका थिए । व्यक्तिगततर्फ सदभाव यो उपाधि जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

यसैगरी सद्भावले राहुल विश्वकर्मासँग मिलेर टिम विधातर्फ पनि उपाधि जितेका थिए ।

शारीरिक सुगठन

शारीरिक सुगठन अर्थात् बडिबिल्डिङ खेलाडीले पनि वर्ष २०२४ मा अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरे ।

माल्दिभ्समा कात्तिक पहिलो साता भएको १५औँ वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालले चार रजत पदक जितेको थियो ।

नेपालबाट रुजेश शाहीले पुरुष ६० केजी, प्रज्ज्वलमान शाक्यले पुरुष मास्टर्स ४० वर्षमाथि, रजनी श्रेष्ठले महिला ५५ केजीमाथि र सनम मुलगुठीले महिला वान पिस स्विमसुटमा रजत जितेका थिए ।

यसबाहेक पनि सन् २०२४ मा नेपाली खेलकुदले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको थियो । जसमा टेबलटेनिस, मुवाँथाइ, सेपाकताक्रो, बक्सिङ, तेक्वान्दो, उसु, फेन्सिङ, हक्की, ह्यान्डबल, मोटर स्पोर्टर्स, किक बक्सिङ, जुडो, पेन्ठाथलन लगायत प्रतियोगितामा नेपालले पदकसमेत जितेको थियो ।

मैदान बाहिर विवाद

नेपाली खेलाडीहरूले मैदानभित्र सफलता र ऐतिहासिक उपलब्धि हात पार्दैगर्दा मैदान बाहिर भने राजनीति र विवाद कायमै रह्यो ।

यही वर्ष मंसिरमा तय गरिएको १०औं राष्ट्रिय खेलकुद तोकिएको समयमा हुन सकेन ।

खेलकुदका सर्वोच्च निकायबीच कुरा नमिल्दा दशौँ राष्ट्रिय खेलकुद अन्योल बनिरहेको छ । त्यसको प्रत्यक्ष मारमा खेलाडी र प्रशिक्षकहरू परेका छन् ।

खेलकुदमा राजनीति र विवाद अनि एकअर्कालाई आरोप-प्रत्यारोप लगाउने काम यस वर्ष पनि कायम रह्यो ।

नेपाल ओलम्पिक कमिटीको विवाद यस वर्ष अर्को हट टपिकको रूपमा रह्यो । ओलम्पिक कमिटीको सदस्यता पाउन पाँच संघले दायर गरेको मुद्दा र ओलम्पिक कमिटीको विवादित निर्वाचनले खेलकुद क्षेत्र गर्माएको थियो ।

खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले मिलेर काम गर्नुपर्ने भए पनि तीन निकाय तीनतिर देखिए ।

जीवनराम श्रेष्ठले विधान संशोधन गराएर जसरी भर्चुअल निर्वाचन गर्दै आफू तेस्रो पटक ‌ओलम्पिक कमिटीको नेतृत्वमा पुगे, यसको धेरैतिर आलोचना भयो ।

त्यसलाई खेलकुद मन्त्रालय र राखेपले मान्यता दिएनन् । अदालतमा दायर मुद्दाको अझै छिनोफानो भएको छैन ।

यस्तै, अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक विवादले गर्दा फुटबलको मेरुदण्डको रूपमा रहेको शहीद स्मारक लिग ए डिभिजन यस वर्ष पनि आयोजना हुन सकेन । लिगको साइकल राम्रोसँग नचल्दा प्रतिभावना फुटबलरहरूले आफ्नो प्रतिभा देखाउन पाएनन् भने खेलाडी विदेशिने क्रम पनि जारी छ ।

खेलकुद वर्षान्त-०८१
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय