
३० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिल्लीस्थित राजदूतावासमा पुगेर ‘नेपालमा राजतन्त्रको पक्षमा नरहेको’ भन्ने भनाइको खण्डन गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसअघि गलत सूचनाका आधारमा आफूले उक्त विषय बोल्न पुगेको भन्दै त्यसको खण्डन गरेका हुन् ।
‘अस्ति मैले बोल्दा गलत सूचनाको आधारमा मैले भारतका उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोल्न पुगेछु,’ देउवाले भने, ‘उहाँ दिल्लीको राजदूतावासमा आउनुभएको होइन, दिल्लीको राजदूतले उहाँलाई भेट्न जाँदा भएको कुरा हो ।’
गत २५ चैतमा सभापति देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ दिल्लीस्थित नेपाली दूतावास गएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको बताएका थिए ।
सोही भनाइप्रति सभापति देउवाले मुख्यमन्त्री आदित्यनाथ दुतावास नआउनुभएको र भारतका लागि नेपाली राजदुत शंकरप्रसाद शर्माले मुख्यमन्त्रीलाई भेट्दा सो कुरा बताएको उल्लेख गरे ।
‘हामी नेपालमा राजाको पक्षमा छैनौँ, यो बेकारको हल्ला हो, मेरो फोटो छापे पनि त्यो होइन भन्नुभएको हो । दूतावासमा आउनुभएको होइन । यो पनि म खण्डन गर्न चाहन्छु,’ देउवाले भनेका छन् ।
प्रतिक्रिया 4