३० चैत, काठमाडौं । साविक विजेता ललितपुर सिटी एफसी बुटवल लुम्बिनीलाई २–० ले हराउँदै ललितपुर सिटी एफसी नपाल सुपर लिग (एनएसएल) २०२५ को प्लेअफमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा ललितपुरका लागि कप्तान अनन्त तामाङ र सन्तोष खत्रीले एक–एक गोल गरे ।
अनन्तले खेलको २३औं मिनेटमा गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए । उनले मणि लामाको कर्नरमा हेड मार्फत गोल गरेका थिए ।
खेल सकिने दुई मिनेट अघि सन्तोष खत्रीले उत्कृष्ट गोल गर्दै ललितपुरको अग्रता दोब्बर पारे । इमोह इजेकेलले दायाँ भागबाट दिएको पासललाई कन्ट्रो गर्दै सन्तोषले पेनाल्टी बक्स बाहिरबाट गोल गरे ।
बुटवलमाथि जितपछि साविक विजेता ललितपुर ५ खेलबाट ११ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ र शीर्ष चारमा स्थान पक्का गर्ने पहिलो टिम बनेको छ भने चचौथो हारपछि बुटवल लुम्बिनी प्लेअफ होडबाट औपचारिक रुपमै बाहिरिने पहिलो टिम बनेको छ ।
ललितपुरले ५ खेलमा ३ जित र २ बराबरीबाट ११ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ ।
ललितपुरलाई अब बुटवलसँगै काठमाडौं रेजर्स र पोखरा थण्डर्सले भेट्ने छैन । त्यसैले एक खेल अगावै प्लेअफ समिरकण पक्का बनेको हो ।
यस्तै ललितपुरले शीर्ष दुईमा रहने सम्भावना समेत बलियो बनाएको छ । ललितपुरले अब अन्तिम लिग खेल झापा एफसीसँग खेल्नेछ ।
उता बुटवल लुम्बिनीका लागि भने यो सिजन बिर्सनलायक रह्यो । ५ खेलसम्म जितविहिन बनेको बुटवलको यो चौथो हार हो । एक बराबरीबाट जम्मा १ अंक जोडेको बुटवल अंकतालिकामा पनि पूछारमै छ ।
अन्तिम खेलमा कुनै आश्चर्य नभए बुटवलले अन्तिम स्थानमै लिग सकाउनेछ । बुटवलले अन्तिम खेलमा पोखरा थण्डर्ससँग खेल्नेछ । पोखराको पनि त्यो अन्तिम खेल हुनेछ ।
प्रतिक्रिया 4